Labels
Monday, May 15, 2017
गीतसँग हुर्कँदा
Sunday, June 16, 2013
सामान्यजनको आँखाबाट नेपाली राजनीतिको व्याख्या
Sunday, November 25, 2012
छाप्रोमा स्टुडियोजको फिल्म छाप्रोमा
![]() |
| क्षीतिज |
![]() |
| शैल |
![]() |
| राजन |
| म जान्न। फोटो: राजन कठेत |
| नागरजुना। फोटो: अनिल प्र. उदय |
| शुक्रकिट। फोटो: राजन कठेत |
अर्को सबल पक्ष चलचित्रको अभिनय हो। धेरै जसो कलाकारहरु मूलधारे चलचित्रभन्दा बाहिरका भए पनि आफ्नो भूमिकामा राम्ररी अटाएका छन्। कास्टिङ्गको काम राम्रोसँग गरिएको छ। सानो बजेटको चलचित्रमा सधैजस्तो भेट्टीइने ध्वनीको समस्या ‘छाप्रो’मा छैन। चलचित्रको छायाँकन पनि आँखालाई सहजलाग्ने गरि गरिएको छ।
Wednesday, April 11, 2012
मेरो प्रिय साथी
हुनतः “बोल्नेले गर्दैन र गर्नेले बोल्दैन” भनिन्छ तर पनि आज आफ्नो प्रिय साथीलाई सम्झेर केहि ‘बोल्न’ मनलागेकाले यो टिपोट बनाउँदैछु। यो टिपोट लेखेर म ‘बोल्नेमात्र’को कित्तामा पर्छु जस्तो त लाग्दैन तर पनि ‘बोल्ने’हरुले केहि नगरेको छरपष्ट ऊदाहरण देख्दा, मलाई पनि डर भने लागेको छः कतै धेरै बोलेर म पनि ‘केहि नगर्ने’हरुकै बाटोमा पो लाग्छु कि? बोल्नु र नबोल्नुको दोधारका बिच, “कहिलेकाहिँ नबोली पनि हुँदैन” जस्तो लागेकाले, बोल्नुपर्छ भन्ने निर्क्योलमा पुगेको छु। नबोलीकन कसरी म मरो प्रिय साथीलाई, उसले मेरो जीवन ल्याएका अनगिन्ती सुखीका क्षणका लागि अहोभाव प्रकट गरुँ? नबोलीकन कसरी म मेरो प्रिय साथीलाई, उसले मेरो जीवनमा ल्याएर भरिदिएका राम्रा बानीहरुका लागि उसलाई धन्यवाद दिऊँ। नबोलीकन कसरी म मेरो प्रिय साथीलाई, उसले भोग्दै गरेको जीवनको सबैभन्दा ठूलो दुःखमा “म पनि तेरो साथमा छु” भनेर उसलाई ढाडसमात्र भए पनि दिऊँ। होला, असल मित्रतामा ‘धन्यवाद’ भनिरहनुको अर्थ छैन तर यो संसार जहाँ मानिसको ओठमा ‘धन्यवाद’, ‘सरी’जस्ता शब्दहरु ‘प्रोग्राम’ गरेर राखिएका छन् र फोकटमा प्रयोग गरिन्छन्, त्यहाँ यस्ता असल शब्दहरुको अस्तित्तवको लागि भए पनि मैले बोल्नु छ।
Thursday, March 1, 2012
शिवपुरी आश्रम
आज कलेज जानु परेन। आज जानुपर्ने चाहिँ, हिमालय होटलमा, मार्टिन चौतारीले आयोजना गरेको ‘ह्युमन सेक्युरिटी’ विषयक सेमिनारमा भाग लिन हो। अझ, देवेन्द्र दाईलाई भेटीभेटीकन सहभागी हुन पाउने व्यवस्था मिलाएको थिएँ। तर, आज, जाने दिनचाहिँ कहिँ निस्कन मनलागेन। खै, किन हो, मलाई ललितपुरतिर जानै मनलागेन; सायद दुईवटा गाडी फेर्नुपर्ने भएकाले म हच्किँए होला।
‘कहिँ नजाने भएपछि, पढेर बसौँ न त’ भन्ने विचार आयो। ‘के पढ्ने?’ भनेर यसो सोचेको त केहि पनि पढ्न मनलागेको होइन। अनि फेरी समातें, माई एक्सपेरीमेन्ट विथ त्रुथ । एकपटक हैन, कयौँ पटक मैले गान्धीको साहरा लिएर समयलाई कटाएको छु अनि अलिकति उर्जा पनि बटुलेको छु। दुःखपरेको बेला कितापको शरणमा पर्ने ममात्र एक्लो प्राणी हैन, मलाई थाहा छ ! गान्धीको जन्म र पढाईको बारेमा पढिसकेपछि, ‘अरु भोली’ भन्यो मनले। खुट्टा चिसो भएकाले सिरक ओढें, अनि सोच्न थालें – केचाहिँ गर्ने होला? मेरो मनलाई केहि गर्नै मन छैन। अनि एकपल टोलाएर पनि बसें। भुत, वर्तमान, भविष्य सबै कालमा एक फेरा मार्यो मनले। ‘अर्को पनि चक्कर लाउँछु’ भनेर रहर गर्दै थियो; शिवपुरी बाबाको याद आयो। ‘यसै कारण शिवपुरी बाबाको याद आयो,’ भनेर कारणचाहिँ तोक्न सक्दिन तर आजभन्दा पहिला पनि मलाई, उहाँको समाधीमा जान मनलागेको भने हो - जे.जी. बेनेट र ठाकुरलाल मानन्धरले, बाबासँग, बिभिन्न समयमा गरेको सत्सङ्गमा आधारीत भएर लेखेको पुस्तक ‘अनन्तको यात्रा’ पढेपछि मलाई बाबाप्रति उत्सुकता जागेकै हो। बाबाप्रतिको मेरो उत्सुकता, शिवपुरी डाँडाको बुढानिलकण्ठपट्टि रहेको विपश्यना ध्यान शिविरमा पहिलोपटक बस्नजाँदा खेर नै हो। यो २०६३ फाल्गुन महिनातिरको कुरा हो। पछि, नुवाकोटको चिसापानी घुमेर सिधै सुन्दरीजल ननिक्ली, ८ घण्टाको बाटो हिँडेर बागद्वार हुँदै बुढानिलकण्ठ निक्लँदा पनि बाबाको बारेमा मलाई जिज्ञासा आएको हो। सायद मलाई कुनै साथीले सुनाएको थियो होला, शिवपुरी बाबाका बारेमा।
जे होस, बाबाको याद आयो। अनि सोचेँ, ‘आज घर बसेर पनि केहि गर्ने होइन; ल बोरु नुहाईधुवाईं गरेर लाग्नु पर्यो, बाबाको शरणमा, केहि भई पो हाल्छ कि !’ करीब १ बजेतिर निस्किएँ घरबाट। जानुपर्ने एकतिर लागेछु पशुपतितिर ! मृगस्थली पुगेर, त्यहाँ कुरा गरेर बसिरहेका महिलाहरु सोधें, ‘आमा ध्रुवस्थली कहाँ पर्छ?’ उहाँहरुलाई केहि थाहा रहेनछ, ध्रुवस्थलीका बारेमा। शिवपुरी बाबाका बारेमा पनि थाहा थिएन होला। आमाहरुबाट पार नलाग्ला जस्तो भएपछि त्यहिँ बस्ने सन्तहरुलाई सोधें। वहाँहरुले बाटो बताइदिनु भयो। अनि मानिसहरुलाई सोध्दै-सोध्दै; ‘बाटो बिराएँकि’को डर लिदैँ पुगें म – शिवपुरी आश्रम जहाँ शिवपुरी बाबाको समाधी पनि छ। शिवपुरी बाबाको आश्रम पुग्न, गोकर्ण गल्फ कोर्सलाई छुँदै भित्रपट्टी लाग्ने बाटोबाट अघि बढेपछि ‘शिवपुरी बाबा आश्रम’ लेखेको होर्डिङबोर्ड आउँछ, त्यहाँबाट भित्र छिरेपछि ३ सय ५० मिटरमाथि बाबाको आश्रम छ।
म आश्रम पुग्दा, त्यहाँ केहि मान्छेहरु खाजा खान लागिरहेको देखें। म सरासर बाबाको समाधितिर लागें। मनमा ‘कसैले केहि भन्लाकि’को भावना त छ तर पनि मलाई संकोच लागेन। खुरुखुरु समाधि हेरें अनि त्यसपछि बाबाको आश्रम पनि एकफन्का मारें। सबै किताबमा देखाइएको फोटा जस्तै ! त्यसपछि, त्यहाँ बसिरहेका मान्छेहरुलाई ‘समाधिभित्र पस्न पाइँन्छ?’ भनेर सोधें। सकारात्मक उत्तर आएपछि समाधि कोठाभित्र छिरियो। भित्र छिरेर बाबाको फोटाहरु अवलोकन गर्न थालें। मलाई विशेष चाख बाबाको आँखामा थियो। योगीहरुको आँखा अदभूत, एकोहोरो, भेदन गर्ने खालको हुन्छ भन्ने पढेको र सुनेको थिएँ, त्यहि भएर। तर, बाबाको आँखा धेरैजसो तस्बीरमा राम्रोसँग देखिएको थिएन, आँखाहरु भित्र गढेकाले होला। फोटो हेर्दैजाँदा, बाबा बस्ने झुला र त्यसमाथि राखिएको खराउमा मेरो नजर गयो। खै कहाँ हो तर मैले पढेकै कुरा के हो भने – उहिलेका योगीहरुले काठको खराऊ लाउनुमा पनि स्वास्थको कारण थियो रे। मलाई आफूले लगाएको जुत्ताको सम्झना भयो अनि सोचें – कि म पनि खराऊ लाएर हिँडौ हँ ?
समाधि कोठामा बसेर ध्यान गर्ने जाँगर आए पनि बाहिर आर्मीहरुले मर्मतको काम गरिरहेकाले ध्यान गरिन तर पनि १० मिनेट जति बसेर बाहिर निस्किएँ। बाहिर, दुईजना दाईहरुसँग भेट भयो। अलिपछि डा. वाइ.बी. श्रेष्ठसँग पनि देखादेख भयो। डा. श्रेष्ठले मलाई शिवपुरी बाबासम्बन्धी अरु पनि पुस्तक पढ्न र पढेका कुरा साथीहरुसँग ‘डिस्कस’ गरेर बुझ्न सल्लाहा दिनुभयो। ‘एक्लै पढेको कुरा, पढिन्छ अनि केहि समयपछि हराउँछ तर पढेर डिस्कस गरेको कुरा लामो समयसम्म रहिरहन्छ’ भनेर डा’साबले भन्दा मलाई बल्ल डिस्कस गेरेर पढ्नुपर्ने रहेछ है भन्ने बिचार मनमा आएको छ।
त्यसपछि, झलकसँग बसेर कुरा गर्न थालें। झलकको बारेमा मलाई उनको नाम बाहेक धेरै केहि थाहा छैन। तर, कुराकानीका दौरान के भने थाहा पाएँ भने – कि त ऊ साधनामा पाकेको मान्छे हो कि त गफमा । एकिनै गरेर यसैमा पाकेको हो भनेर भन्न त अझै एकदुईपटक भेट हुनुपर्छ, झलकसँग। तर मलाई लाग्छ, त्यो केटो कि त वरकै हो कि त परकै। बिच्चको पक्कै हैन। गफाडी र कर्मवानमा एउटै समानत हुन्छ – दुवै मायावीजस्ता लाग्छन् सुरुमा तर समयले गफाडीलाई नङ्ग्याई हाल्छ। अँ, आज, नागरीकमा 'काठमान्डु कथा' लेख्न मनोज दाहाल र कृष्णप्रसाद भट्टराईलाई आजीवन सेवा गर्ने, अमिता कपालीलाई पनि देखेको थिएँ, आश्रममा। मनोजको उमेर पाक्दै रहेछ, कपाल फुल्दै थिए उनका। धन्न, कपाल फुल्छ मात्र, फल्दैन ! कपाल फल्ने भए के फल्थ्यो होला है कपालमा?
मनोज दाहालप्रति मलाई आदर भाव आउँछ। उनको काठमान्डु कथा म नबिराई पढ्छु। जीवनलाई सकारात्मक आँखाले हेर्नुपर्छ र आफूले सकेको गर्न कहिल्यै छोड्नु हुँदैन – उनको ‘कथा’हरुको मूल शिक्षा यस्तै हुन्छन्। विषेशतः कपुरसँगको उनको भेटघाटका कथाहरु साह्रै चाखलाग्दा हुन्छन्। मैले सबैभन्दा पहिलो पटक काठमान्डु कथा पढ्दा, शीर्षक – ‘ह्याप्पी न्हु इयर’ थियो जस्तो लाग्छ। त्योभन्दा पनि पहिला, नेपथ्यले काठमाडौंमा कार्यक्रम गर्दा त्यो कार्यक्रमको सेरोफेरोमा रहेर मनोज दाहालले नै लेखेका थिए क्यार ! साह्रै राम्रो लेखेका थिए। कति वर्ष अघिको कुरा हो, मलाई ठ्याक्कै थाहा त छैन तर २ वर्षभन्दा धेरै समय बितिसकेको छ, त्यस पश्चात।
मूल कुरा के भने – मैले मनोज दाहाललाई देखें। झलकसँग मेरो कुराकानी चलिरहेको छ। ऊ मलाई नयाँनयाँ कुरा भन्दै छ, सिकाउँदै छ। म उसका करासुनेर पुलकित हुँदैछु। तर पनि, साँझ पर्न थालिसकेको र वातावरण चिसिन थालेकाले मैले आफ्नो झोला टक्टक्याउन थालें। तिलगङ्गा आँखा अस्पताल अगाडी हामी ३ जना नै छुट्टियौं। ‘फेरी भेटौंला’ सहितको नमस्कार आदानप्रदान भयो; तर मोबाइल नम्बर साटासाटको काम भएन। कहाँकहाँ मलाई विश्वास छ, म झलकलाई फेरी भेट्छु भन्ने। भेटै नभए पनि, सम्झनामा उ रहनेछ।
आजसम्मको कुरा गर्ने हो भने, अबदेखि, हप्ताको १ पटक मात्र भएपनि शिवपुरीबाबाको आश्रम जाने बिचार गरेको छु। के गर्न ? मलाई थाहा छैन। सायद जीवनका कुरा सुन्न र सकें भने बुझ्न पनि। केहि गर्न सकिने भने पनि आश्रममा चुप्प लागेर बस्नु नै बाहिर बसेर बेकारमा फत्फताउनुभन्दा जाति हो भनेर मैले बुझेको छु।
मितिः २०६८-११-१७ (बुधबार)
स्थानः पेप्सीकोला (०६:०२ बेलुकी)
Friday, February 24, 2012
एब्स्ट्रयाक्ट चिन्तन
अरुको लागि राम्रो लेख्छु, सबैले मनपराउने गरि लेख्छु, सबैको मन छुने गरि लेख्छु, सबैको वहावाही पाउने गरि लेख्छु भन्दा-भन्दै आफ्नै लागि लेख्न छुटाएछु। राम्रो मात्र लेख्छु भन्ने धुनमा लेख्नै छाडेछु। राम्रो काम मात्र गर्छु भन्ने धुनमा काम गर्नै छाडिएछ। "राम्रो, सफा, आरामदायी, उज्जयालो कोठामा पढेको राम्रो हो" भन्ने धुनमा पढ्नै बन्द होलाजस्तो भइसकेको छ। 'राम्रो'को पर्खाइमा निष्कृय भएको अवस्था हो, अहिलेको।
हराएको छु म कतै, अहिले। बिराएको छु बाटो, मैले। त्यो पनि जानाजान। कुन बाटो राम्रो हो, कुन बाटोले कता लैजान्छ, कुन बाटोले कतै पुर्याउँदैन भन्ने कुरा सैद्धान्तिक रुपमै भए पनि राम्रो थाहा छ मलाई। तर पनि यो संसार यस्तो मायावी छ कि, बाहिर निक्लनै दिँदैन। यसो भनौं, बाहिर निक्लनै सकिँदैन। अझ, बाहिर निक्लनै मनै लाग्दैन, भन्दा सत्यको झन नजिक होला जस्तो लाग्यो। शङ्कराचार्यले 'ब्रम्ह सत्य, जगत मिथ्या' त्यसै भनेका हैनन् । तर पनि यत्रो जगतलाई 'मिथ्या' भन्न सक्ने मानसिक र शारीरिक अवस्था छैन मेरो। मानिसहरु बिचमा हुने यति धेरै सम्बन्धलाई कसरी मिथ्या मान्नु मैले? सायद जगतलाई मोक्षको सापेक्ष्यता मिथ्या भनिएको होला।
संसार यति धेरै परिवर्तनशिल छ कि मानिसको 'सबै कुरा आफ्नो काबुमा राख्ने' चाहन कहिले पुरा हुन सक्दैन; जो दु:खको प्रमूख र सायद एक मात्र कारण होला। यो संसार परिर्वतनशील छ, केहि कुरा पनि आफ्नु काबुमा राख्न खोज्नु बेकार हो। मानिस दु:ख वा सुख उभित्रै हुन्छ, मनिस अरुको कारणले हैन आफ्नै कारणले दु:खी हुन्छ भन्ने कुरा जति सक्दो चाँडो मान्नु ठिक हो, जस्तो लाग्छ मलाई। मेरो दुख्खको कारण के हो त उसो भए? मलाई लाग्छ, सबै कुरा आफूँ अनुसार परिवर्तन हुनुपर्छ भन्ने मेरो सोचाइ, सुखलाई बाहिर खोज्ने मेरो प्रवृत्ति र फलको आशाले मात्र काम गराउने मेरो मानसिक अवस्था मेरो दु:खको प्रमुख कारण हुन्। सायद मेरो मात्र हैन, संसारका सबै जीवको दु:खको प्रमूख कारण पनि यिनै हुन्।
सैद्धान्तिक ज्ञानले मात्र नहुने रै'छ। भोगाइ साह्रै महत्त्वपूर्ण हो जस्तो छ। भोगाइमा पनि आफूँलाई मन नपर्ने भोगाई सबैभन्दा उपयोगी हो, यसले हामीलाई हरेक पल मानसिक रुपमा बलियो बनाइरहेको हुन्छ। दुख्ख पाउनु साह्रै महत्त्वपूर्ण रै'छ। बाटो बिराउनु पनि महत्त्वपूर्ण हो जस्तो लाग्छ अहिले मलाई- तर बाटो बिराउनुको पनि हद त हुन्छ नै। दुख्खले मानिसलाई निखार्दो रहेछ। दुख्खले नै मानिसलाई अरु मानिसका प्रति पनि संवेदनशिल बनाउँदो रै'छ। विशेश्वरप्रसाद कोइरालाले आफ्नो किताब 'जेल जर्नल' मा कतै लेखेका छन्, "आफूले जेलमा दु:ख पाएकाले नै होला, सायद, मलाई जेलमा काम गर्ने अरु सामान्य कामदारको पीडाले छुन सकेको। दु:ख यस्तो हुन्छ भन्ने थाहा पाएरै होला मलाई अरुले पनि आफूले जस्तै दु:ख नपाओस भन्ने लाग्छ। सायद चरम सुख्खको अवस्थामा पनि मानिसलाई यस्तै हुन्छ"। "केमोथरापी त शत्रुले पनि गर्नु नपरोस" भन्ने, क्यान्सरले थलिएका, विशेश्वरप्रसादको भनाइले पनि मानिसका लागि दु:खानुभूति कति महत्त्वपूर्ण छ भन्ने कुराको पुष्टी गर्छ। माहाकवि लक्ष्मीप्रसाद देवकोटाको उद्वगार, "हे ईश्वर, दुखीको घरमा मात्र तेरो बास हुने भए कृपया मलाई पनि सँधै दुखी बनाइराख" पनि यो संदर्भमा महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई। जग्दीश घिमरेले अन्तरमनको यात्रामा लेखेझैं, लक्ष्मीप्रसादले राम्रोसँग बुझेका थिए, 'चोट नपाइ मानिस मानिस हुँदैन, लेखक त झन हुँदैहुदैन'।
यहाँनेर अलिकति लोभको कुरा पनि थपिहालौं जस्तो लागेको छ। आफ्नै देशको उदाहरण शायद सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेपालमा अहिले संविधानसभाले संविधान बनाउन नसकेको अवस्था छ। प्रमूख तीन दल, काङ्ग्रेस, माओवादी र एमाले, को सहमतिको सरकार बाहेक केहिले पनि निकाश दिनसक्ने अवस्था छैन। सायद यहि कुरालाई मनन् गरी माओवादीका वा नेपालकै भने पनि हुन्छ, बाबुराम भट्टराईले केहि दिन अघिमात्र 'आफूले सहमतिको सरकारको मात्र नेतृत्त्व गर्ने' उद्घोश गरेका थिए। तर सायद ५ दिन पनि नबित्दै उनले 'आफूनै बहुमतिय सरकारको पनि नेतृत्त्वकर्ता हुने' बताए। लोभले केसम्म गर्नसक्छ भन्ने उदाहरण हो यो। यस्तो लोभको सिकार नेपाली राजनीतिमा बद्रीप्रसाद मण्डल, तुलसी गरी, विश्वबन्धु थापा, गरिजाप्रासाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल सबै भएका छन्।
जीवन कसरि जिउने हो?, भन्ने प्रश्नको उत्तरले जीवनलाई सरल बनाउन सहयोग गर्छ। जसलाई मानसिक सुखको चाहना छ, उ लामो तर सुख प्राप्त गर्नसकिने बाटोमा संयमका साथ अगाडि आउन जरुरी छ। जसलाई आरामदायी जीवनको भोग गर्नु छ उसले जता गएपनि सफलता नै पाउँछ, मनको शान्तिबाहेक।
कुन बाटो हिड्ने हो?, त्यो बाटोहिड्नेको मर्जी हो।
२०६८-०४-३२ (बुधवार)
(०७:४९, बिहान, लोकनथली)
अमोल
Wednesday, November 23, 2011
फेडेरर, टेनिस र म
सर्वीयाका डोकोभिचले रोजर फेडेररलाई अस्ट्रेलियन ओपन सेमिफाइनलमा तीन सेटमै हराउने वित्तिकै लेख्न बसेको छु। म जातले फेडेररको फ्यान हुँ- २००३ देखि हो फेडेररले ग्रयाण्डस्ल्याम जित्न थालेको। पहिलो ग्रयाण्डस्ल्याममा उनले त्यतिखेरका सर्वाकालिन महान खेलाडी पिट साम्प्रासलाई विमवल्डनमा हराएका थिए। मैले फेडेररलाई हेर्न थालेको २००५ सुरुवातदेखि हो।
त्यतिखेर फेडेरर आफ्नो खेलको उच्चतम विन्दुमा थिए। विश्वभरमा उनलाई लङ्ग टेनिसमा टक्कर दिनसक्ने कोहि थिएन त्यतिखेर। फेडेररको दिन-दुईगुना-रात-चौगुना बढिरहेका फ्यानहरुमा म, कुमार शर्माका कारणले मिसिएको हुँ। उनलाई यहिँनेर धन्यावाद एउटा ठूलो पोको भिराउन चाहान्छु। फेडेररको फ्यान हुँनुमा टेनिस खेलको नियम बुझ्ने उत्कट अभिलाषा पनि एक थियो- त्यतिखेर टेनिसमा अमेरिकी दिदी-बहिनि सेरेना र भेनस विलियम्सको धेरै चर्चा हुन्थ्यो। नेपाल टेलिभिजनको समाचारले पनि टेनिसबारे समाचार दिन्थ्यो- यसले उसलाई यति सेटले जित्यो….यसले खै-कतिकतिले उसलाई हरायो। यस्तै फलाक्थ्यो नेपाल टेलिभिजन!
काठमाडौं आएपछि कुमारसँग एउटै होष्टलमा बस्ने मौका मिल्यो र मिल्यो टेनिसको नियम जान्ने अवसर। मैले माथि भनिसकें त्यो फेडेररको शासनकाल थियो। फेडेररकै एउटा खेल हेर्ने क्रममा मैले टेनिसका नियमहरु सिकें। मेरो सम्झनामा अझै छ त्यो दिन। खेलको नियम जानिसकेपछि मलाई धेरै खुसी अनुभव भएको थियो। कुनै कुराको रहस्य थाहापाउनु कति धेरै आन्नददायक हुन्छ है?
२००५ पछि म निरन्तर फेडेररसँगै रहें। उसको जितमा रमाउनु, उसको हारमा दु:खी हुनु मेरो पनि स्वभाव बन्यो। २००८ फेडेररले आफ्नो जीवनको पहिलो फ्रेन्च ओपन जित्दा र २००९ मा १५औं ग्रयान्डस्ल्याम जितेर पिट साम्प्रासको विश्व रेकर्ड उछिन्दा म पनि रमाउनेहरु मध्य एक थिएँ।
तर अब फेडेररको शासनकालको अवधि सकिएजस्तो छ। उनी २९ वर्षका भइसकेछन्। २३ वर्षे डोकोभिचले आज उनलाई हराउँदा उनी थाकेका जस्ता देखिन्थे। उनमा पहिलेको जस्तो 'एस' हान्नसक्ने क्षमता पनि रहेन अब। आफ्नो खेल जीवनको ओह्रालो बाटोमा उनी छन् भन्ने कुरा उनलाई हेरिरहेका जो-कोहिले पनि थाहा पाउनसक्छ।
केहि पनि स्थाइ छैन भन्ने कुराको प्रमाण पनि त हुन् फेडेरर। सबै कुराको उपयुक्त समय आउँछ र समयको आवश्यकता र महत्त्वलाई बुझेर नै जीवन बाँच्नुपर्छ भन्ने उदाहरण पनि हुन् उनी। टेनिसले देखेको सर्वकालीन महान खेलाडी हुनु चानचुने कुरा थिएन। तर फेडेररले आफ्नो सपना बाँचेका छन्। उनलाई बधाइ दिन चाहान्छु म।
फेडेररप्रति म आकर्षित हुनुमा उनकि त्यतिखेरकी गर्लफ्रेन्ड पनि हुन्। उनीहरुको जोडी केटा-केटी देखिकै हो भन्ने कुराले मलाई उनीहरुका प्रति सम्मान जाग्थ्यो। जोडिहरु जति समय लागेर बन्छन् त्योभन्दा कम समयमा टुटेको देखेको, धेरै अर्थमा भोगेको पनि, मैले उनीजस्ता समर्पित प्रेमिहरुलाई सम्मान गर्नु स्वभाविक पनि त हो। दुईबर्ष जति अघि उनीहरुको विवहा भयो र अहिले उनीहरुको जुम्ल्याहा छोरीहरु छन्। खेल जीवनमा ओह्रालो लागे पनि फेडेरर पारिवारीक जीवनमा उकालो लाग्दै छन्। सफलता उनको जीवनका कुनै न कुनै माध्यमबाट रहिरहोस। उनलाई मेरो शुभकामना।
२०११.०१.२७ (पेप्सीकोला)
खिचडी
दिमागमा खिचडी पाकिरहेको छ। खिचडीमा दाल र चामल बाहेक अरु के-के हाल्छन् मलाई राम्रोसँग थाहा पनि छैन। मैले खिचडीमा दाल र चामल बाहेक अरु केही हालेर खाएको याद पनि छैन। सायद त्यही भएर होला खिचडी मलाई मन पनि पर्दैन।
आजको दिन मैले इन्डिपेन्डेण्ट प्रोजेक्टको लागि छुट्याएको हुँ। म बेलुका-बेलुका विषयगत अध्ययन गरेर थाकेपछि वीपी कोइरालाको आत्मवृतान्त पनि पढिरहेको छु। आज अमिर खान प्रोडक्सनले बनाएको फिल्म धोबीघाट पनि हेरें। आज खिचडी पहिला-पहिला भन्दा पनि चर्कोगरि नमिठो हुँदैछ। मलाई दिक्क कत्ति लागेको मलाई नै थाहा छैन। आजको दिनको बाँकि कुराहुरु पछि गरौंला तर धोबीघाटका बारेमा चाहिँ अहिले नै केहि लेखिहाल्छु। आखिर, धेरै दिनपछि आज यहि फिल्मले त हो नि मलाई लेख्नको लागि प्ररणा दिन सकेको।
मनपर्यो मलाई यो फिल्म। किन? थाहा छैन। प्रेम भएजस्तै लागि रहेको छ। कोहि मनपर्यो तर किन भन्दा थाहा छैन। कस्तो रमाइलो।
डाहालाग्छ मलाई अमिर खानले बनाएको र खेलेको फिल्महरु हेर्दा। एउटा मान्छेले कति सफलता प्राप्त गर्न सक्छ भन्ने प्रश्नको उत्तर थाहा पाउन अब अमिर खान रहुन्जेल कुर्नुपर्ने भइसक्यो! अमिर खानले जे बनाएपनि चल्छ। अक्षयकुमारको 'चाँदनी चौक टु चाइना' किन त्यस्तो बनाएको होला? के अमिर खानले 'चाँदनी चौक टु चाइना' खेलेको भए चल्थ्यो होला? कि अमिर खानले त्यस्तो फिल्म नै खेल्दैन? मलाई केहि थाहा छैन।
'मेला' हेर्दा होला मैले अमिर खानलाई अभिनयको माध्यमबाट चिनेको। पहिला पनि अमिर खानको बारेमा थाहा थियो तर 'मेला'भन्दा अघिको अमिर खानको फिल्म आफूले हेरेको मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन।
मेलाजस्तो पूर्ण व्यवसाहिक फिल्म खेल्ने अमिर खान मङ्गल पाण्डे, रङ्ग दे बसन्ती, लगान, तारे जमीन पर, थ्री ईडियट्स हुँदै आज धोबीघाटसम्म आइपुग्दा कस्तो भइसके। मलाई कसैलाई यत्तिकै तपाईं भन्न मनलाग्दैन तर आज किन हो 'भइसके'को ठाउँमा 'भइसक्नुभयो' लेख्न मन लागिरेहको छ।
यहाँ आएर सोच्छु के अमिर खानले पनि अहिलेका ठिटाहरुले जस्तो सुरुदेखि नै "म नियममा बस्दिन, मलाई केहि खास गर्नु छ, नियम तोड्नका लागि बनाइन्छन्" भनेर आफ्नो बहुलठ्ठी देखाएको भए? कँहा हुन्थ्यो होला अमिर खान नामको यो प्रतिभा? खै थाहा छैन मलाई।
फिल्मको दुनियाँमा सफल नभएपनि अमिर खान जस्तो मेहेनति मान्छे अरु क्षेत्रमा भएपनि सफल नै हुन्थ्यो होला तर मेरो के हाल हुन्थ्यो नि? म त अमिर खानलाई पर्खिँदा-पर्खिँदा बेहाल भइसकेको हुँन्थें होला। हाहा। गेजस्तो लाग्यो कि क्या हो? जे होस अमिर खानले आफ्नो जिन्दगी सफल बनाए। म खुसी छु। किन खुसी त्यो पनि मलाई थाहा छैन। अब के? केहि थाहा नपाइकन खुसी हुन पाईंदैन र? के तिमी एउटा सानो कुकुरको बच्चा आफ्नो पुच्छर टोक्न घुमेकोघुमै गर्दा हाँसेको/हाँसेकी छैनौं र? तर के तिमिलाई थाहा थियो त्यो किन घुमिरहेको छ?
अब थोरै फिल्मको बारेमा नै कुरा गर्छु। त्यो अमेरिकने केटी (नाम पनि थाहा छैन) को बारेमा मलाई त्यति धेरै केहि भन्नु छैन। मैले मेरो आफ्नै जीवनमा त्यस्ता धेरै केटीको बारेमा केहि भन्न नसकेको आवस्था छ। अमिर खानले राम्रो भुमिका निभाएका छन्, पेन्टरको। मलाई विशेष प्रभाव पारेको भने त्यो चिठ्ठीवालि/भीडियोवालि केटीले र मुन्नाले हो। मुन्नाले सबैभन्दा धेरै प्रभाव पारेको छ, मलाई। त्यो चिठ्ठीवालि केटीको बारेमा पनि मलाई केहि भन्नु छैन। तर मुन्ना तँचाहि होस्- माने मैले तँलाई।
फिल्म चारैतिर कुदिरहेको छ। अमिर खानतिर कुदिरहेको छ। त्यो अमेरिकनेतिर कुदिरहेको छ। त्यो चिठ्ठीवालीतिर कुदिरहेको छ। तर मचाहिँ मुन्नातिर कुदिरहेको छु। किन को किन मलाई आफू त्यो मुन्ना हुँ जस्तो लागिरेको छ। सायद मैले त्यहि भएर मुन्नालाई विषेश मनपराएको हुँला। तर त्यो मुन्नाचाहिँ मै हुँ। केहि लुकाउने, केहि भन्न नसक्ने, के गर्न पनि नसक्ने तर पनि अन्त्यमा अरुण (अमिर खान) को ठेगाना त्यस अमेरिकनेलाई दिन्छु र छाति फुलाएर, सडकमा खुसी हुँदै ठाडो शिर पारेर हिँडिरेहेको छु। तर मलाई त्यो मर्ने मोटे मुन्नाको दाइ हो भन्ने त्यो मोटे नमरुन्जेल थाहा भएन। ए! अनि त्यो मुन्नाको भाइ पनि छ भन्ने पनि थाहा थिएन। हल प्रिन्ट हेरेकोले होला।हाहा।
तर त्यो अमेरिकनेको के हुन्छ हँ? के त्यो अरुणको फ्ल्याट जान्छे होली? मलाई त त्यो केटीले मुन्नालाई मन पराउँछे जस्तो पनि लागेको थियो- मुन्नाले त्यसलाई अरुणको ठेगाना दिँदा त्यसको अनुहार हेर्दा त। तर त्यसले मुन्नालाई अगाडिको भेटमा हामी साथी हौं पनि भनेकी थी। खै! चक्कर के हो? फेरी झुक्किएँ म। त्यो केटीले साच्चै मुन्नालाई मन पराएकी हो भन्ने यो मुन्नाले भन्दा त्यो केटीले भन्नु पर्ने हैन र? मलाई त त्यस्तै लाग्छ।
जे होस राम्रो फिल्म हेर्न पाइयो। इन्डिपेन्डण्ट प्रोजेक्ट जिन्दावाद! जिन्दावाद! अब इन्डिपेन्डेण्ट प्रोजेक्ट अमर रहोस भनौं भने मेरो परीक्षाको नतिजा नै नआउने डर छ नत्र भने त्यो पनि भनिदिन्थें। अब साथी हो, 'यम्ला पग्ला दिवानाको पालो' हो॥ धन्यवाद।
२०११-०१-२४, सोमबार (काठमाडौं विश्वविद्यालय पुरुष छात्रवास)
Friday, November 18, 2011
आचार्य- सबै बाटो बन्द भएपछि जीवनको बाटो सुरु हुन्छ
प्रशान्त रसाइलीले, साच्चै, चलचित्र हैन जीवन नै बनाएका रै'छन, भक्तराज आचार्यको। प्रशान्तभन्दा पनि बढी यो चलचित्र बन्नुमा यसका निर्मातालाई बढी जस दिनुपर्छ होला सायद। पैसा उठ्ने-नउठ्ने केहि निश्चित नभएको विषयबस्तुमा २ करोड लगानी गर्नु वास्तवमै त्याग र भक्तिबाट मात्र सम्भव हुन्छ। निर्मातालाई मुरी-मुरी धन्यवाद।
'आचार्य' सम्मको मेरो यात्रा भने भक्तराज आचार्यको ब्यक्तित्त्वले सम्भव भएको हो। अर्को एउटा सानो कारण राम्रो नेपाली फिल्मलाई सम्मान र प्रोत्साहन गर्नु पनि हो। प्रोत्साहनको यो यात्रा म हाई-वे, मसान, गुडवाइ काठमाडौंसम्म पनि तन्क्याउन चाहान्छु। र, राम्रो फिल्म बन्छ भने यात्रालाई अबिराल नै बनाउन पनि सकिन्छ। नेपाली चलचित्रले दर्शकको मन जीत्न र दर्शकलाई फिल्म हलसम्म ल्याउन आफूलाई राम्रो बनाउन जरुरी छ। यत्ति।
'आचार्य' हेर्दैगर्दा नै मेरो मनमा संवेदनाका अनेकन ज्वारभाटाहरु आए। भक्तराजको जीवनी हेरेपछि मलाई लाग्यो जीवन आशा र निराशाका विच मच्चिने लिङ्गे पिङ्ग हो। जबसम्म पिङ्गमा छौं तब आशा र निराशा आइरहन्छन्-गइरहन्छन्। अनि सायद जीवन भाग्य पनि हो; लेखेको कुरा जसरी पनि पुरा हुन्छ। अनि नलेखेको कुरा? नलेखेको कुरा केहि गरी पनि पाइँदैन। मैले यहाँ भाग्यवादी कुरा गरेजस्तो भयो होला तर किनकिन म जतिजति जीवन भोग्दै छु त्यतित्यति मलाई जीवन भाग्य हो जस्तो लाग्दो छ। हो, यो सहि हो, राम्रो भाग्यलाई असल कर्मले पुरा गर्दछ तर नराम्रो भाग्य चाहिएको छ भने कर्मै नगरे पनि हुन्छ।
"आफ्नो सपना पुरा गर्न" गाडी चढेर काठमाडौं जाँदा भक्तराजलाई आफ्नी दिदीले घरबाट निकालिदिएकि हुन्छिन्। अन्त कतै जाने बाटो नभएपछि भक्तराज दोस्रोपटक काठमाडौं जान्छन् र अन्तत: सफलता प्राप्त हुन्छ उनलाई। यस्तो देख्दा मलाई लाग्यो जीवनलाई कहिलेकाहिँ विकल्प बिहिन हुनु पनि वर्दान साबित हुनसक्छ। संसारभरि छरिने सबै बाटाहरु बन्दभएपछि मात्र एउटा यस्तो बाटो मान्छेको अगाडि खुल्छ जुन बाटो उसको सपनाको आफ्नो बाटो हो। त्यसैले पाइलट बाबाले भनेका होलान- संसारभरि छारिने सबैबाटो बन्द गरेपछि मात्र तिमीले आफूँतिर छिर्ने महाराजमार्ग फेला पार्छौ जुन बाटोमा गरिने अबिरल यात्राले तिमिलाई परमसत्यको साक्षातकार गराउँछ।
क्यान्सर लागेर जीब्रोको सल्यक्रियापछि गीत गाउन नपाउँदा भक्तराजले आत्महत्या प्रयास गरेका रहेछन्। मानिसलाई वाहवाहिको बानी लागेपछि कतिसम्म भोगी बनाउँदो रहेछ भन्ने कुराको पुष्टी भक्तराजको आत्महत्या प्रयासले गर्दछ। तर सायद हुनुको मज्ज र नहुनुको पीडा दुवै भोगेका भक्तराजले जीवनलाई साह्रै नजिकबाट बुझेका हुनुपर्छ भन्ने मलाई लाग्दछ।
अन्त्यमा जीवनबाट निराश भएका जो-कोहिले पनि आफ्नो मनमा आशाको सञ्चार गराउनु छ भने भक्तराजले गरेको संघर्षको कथा 'आचार्य' हेरे हुन्छ। विषेश गरेर नेपाली सङ्गीतलाई कर्मक्षेत्र बनाउने गायक-गायिकाहरुलाई यो चलचित्र निरन्तर बलिरहने उर्जाको दियो हो।
२०६८-०६-११ (पेप्सीकोला)


