दोहोर्याएर 'गान्धी' हरें। भर्खर सकियो। ३ घण्टा ११ मिनेटको फिल्म हो गान्धी। पहिलो पटक सायद २ वर्ष अघि हेरेको हुँदो हुँ मैले यो फिल्म। 'पहिलो पटकभन्दा दोस्रो पटक अझ राम्रोसँग कुराहरु बुझिन्छ', भन्ने कुरा मलाई पनि लागु हुन्छ। गान्धीलाई बुझ्ने यो पटकको प्रयास पहिलाको तुलनामा सफल रह्यो।
तर आज म, 'गान्धी' फिल्मको वा यसका पात्रको वा निर्देशकको क्षमताको समिक्षा गर्न बसेको छैन। यस फिल्मलाई 'ओस्कार' प्राप्त भएको सत्यबाट नै फिल्मको उत्कृष्टतामा थप केहि बोलिरहनु आवश्यक छ जस्तो लाग्दैन।
तर, आश्चर्य लाग्छ त्यो गान्धीका प्रति जो साँच्चै यस धरतीमा कुनै दिन मजस्तै बाँचेका थिए भनेर सोच्दा। 'सत्य र अहिंसा' को बाटो, २० औं शताब्दीमा, हिड्न कति गाह्रो भयो होला भन्ने अनुमान, सन् २०११ मा बाँचिरहेको मैले, सजिलै लाउन सक्छु। आफूलाई फाइदा हुन्छ, सजिलो हुन्छ भने रतिभर नसोचि झूठ र हिंसाको साहारा लिन पछिनपर्ने मानिसको प्रवृत्तिका बिचमा 'सत्य र अहिंसा'को सिद्धान्त लिएर बाँच्न कति गाह्रो हुन्छ होला? तर गान्धीको जीवनीबाट के थाहा पाउन सकिन्छ भने- राम्रो काम गर्न थाल्ने वित्तिकै संसारभरिका असल शक्तिहरुले सघाउँन थाल्दछन् र मानिस असम्भव प्राय देखिने काम पनि फत्ते गर्नसक्छ।
गान्धीको शक्तिको श्रोत उनको सार्वजनीक जीवन थियो। सार्वजनीक यस अर्थमा कि उनले केहि कुरा लुकाउँदैन थिए। आफूले बाले अनुसार गर्थे र गरे अनुसार बोल्थे। लोभ र घृणा नगर्नु नै शक्तिको मूल श्रोत हुन् र गान्धीमा यस्तो शक्तिको प्राचुर्यता थियो। स्वाभिमान र आत्मसन्तुष्टिभन्दा ठूलो शक्ति सायद केहि छैन होला र गान्धीले आफ्नो शक्ति आफ्नै स्वाभिमानबाट प्राप्त गर्थे।
विश्वेश्वरप्रसाद कोइराला पढिरहेको छु। उनको जेल-जर्नल, राजा, राष्ट्रियता र प्रजातन्त्र पढेर सिद्धाएपछि अहिले 'फेरी सुन्दरीजल' पढिरहेको छु। विश्वेश्वरलाई पढिरहँदा उनी पनि गान्धीसँग मिल्दोजुल्दो विचारधाराका मानिस हुन् भन्ने जस्तो लाग्यो मलाई। गाऊँका बारेमा, गाऊँको आत्मनिर्भरताका बारेमा, जीवनका बारेमा पनि गान्धी र विश्वेश्वरका बिचार नजिक छन्। म यी दुवैबाट प्रभावित छु।
मेरो आफ्नै कुरा अब। जीवनमा कुन बाटो हिड्ने? भनेर अलमलमा परेको मेरो अहिलेको अवस्थामा, म भाग्यमानी ठान्छु आफूँलाई कि म गान्धी र कोइरालाजस्ता ब्यक्तिहरुको बिचारसँग नजीक हुन पाएको छु। म अहिले आफूले अब रोज्नै आँटेको बाटोमा जस्तोसुकै परिस्थिति वा नतिजा आएपनि डट्ने मानसिक तयारी गरिरहेको छु।
कहिलेकाँहि डर लाग्छ। मैले रोज्न आँटेको बाटो सजिलो छैन। बाटो लामो पनि छ। अनि हिड्न सबैभन्दा गाह्रो बाटो पनि यहि हो। धैर्य र संयमको कठिन परिक्षा हुन्छ यो बाटोमा। गान्धी र कोइरालाले जस्तै सत्य, अहिंसा र मानवसेवाका लागि आफ्नो ब्यक्तिगत फाइदा-बेफाइदा नहेरी मृत्यु रोज्न सक्नु चानचुने कुरा होइन।
गान्धी, गान्धी हुनुमा ब्रिटिसको शलिनताले पनि काम गरेको छ। तर अब समय फेरिएको छ। मानिसहरु अझ निर्मम भएका छन्। नेपाल मै पनि गान्धी जत्तिकै ल्याकतका विशेश्वर जेलमै मर्न बाध्य तुल्याइए। झन, माओवादी 'जनयुद्ध'का बेला गान्धीले नेपालमा शान्तिका लागि काम गर्छु भनेका भए सायद उनलाई 'दोस्रो' पाइला पनि चाल्न दिइँदैन थियो होला। मानिसको ज्यान १ मिनेट मै सिध्याइन्छ अहिले यहाँ।
बाटो गाह्रो छ। तर विनाश तर्फ अग्रसर यो संसारलाई एउटा हैन कैंयन सपुतहरुको साहदतले रोकि सत्यको बाटोमा डोहोर्याउनुको के बिकल्प छ र?
गान्धी जिन्दाबाद। कोइराला जिन्दाबाद।
(आज मिति २०६८-०२-१८ गतेको करिब १ साता अघि लेखिएको)
No comments:
Post a Comment