म हुर्कँदै गर्दा,
भोगीहरुले भने-
कसैले नछोएको
कहिले नचिथोरिएको
मन
सबैभन्दा उत्तम हुन्छ
होला त नि!
संसार खोज्दै गर्दा,
कहिलेकाहिँ खोजे पनि
भोगीले नक्सा कोरेजस्तै
सग्ला मनहरु
सडकै पिच्छे,
गल्ली पिच्छे,
घर पिच्छे,
मनहरु भेटिए
सग्ला मनहरु
काँचा मनहरु
अमिला!
यसबिच,
समयले मेरो मन,
चिथोर्यो
पिल्स्यायो
घाउबाट पिप बग्यो,
निरन्तर
अहिले मन हलुका भएको छ।
पिपमा
घमण्ड बगेछ,
इर्ष्या बगेछ,
लोभ बगेछ,
निराशाहरु बगेछन्
बल्ल,
अहिले बुझें मैले
चोखो हैन
घाउ भएको
असल मन पो
खोज्नुपर्ने रैछ।
२०६७-०२-३०
(अमोल आचार्य)