Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

Wednesday, December 30, 2009

अनिदो रात

एक कोठे घर छ। दुईवटा खाट राखिएका छन् भित्ताका दुईपट्टी। एउटा खाटमा आमा सुत्छिन्। अर्को खाटमा छोरो सुत्थ्यो तर अब बुहारीपनि अटाउनु पर्ने भएको छ। बिरामी आमाले आफ्नो एकमात्र छोरोको बिहे गरिदिएकी छन् आज। छोराको बिहे गर्ने बुहरीलाई आफू नमर्दै भित्र्याउने रहर कुन आमाको हुँदैन ? आमा छोरा दुवैको रहर पुरा भएको स्थिति छ। घाँटी अनुसारको हाड निलेर बिवहाको सम्पूर्ण काम पुरा गरिएको छ। दिनभर पर-पाहुनाको घुइँचो थियो बधाइ दिनेहरुको ताँती। तर साँझ परेपछि सबै -आफ्ना घर लागे। घरमा तीन जना छन्। आमा, छोरा बुहारी।

बेलुकीको खाना खाएपछि बुढी आमा सुत्ने तरखर गर्छिन। छोरा-बुहारी आमाको खाटमा बस्छन्। टाउको पट्टी छोरा बस्छ, गोडा पट्टी बुहारी। बुहारीले सासुको गोडामा तेल लगाउने काम सकेपछि सासु-बुहारीका बीच केही क्षण भलाकुसारी चल्छ। बिरामी सासुले आफ्नो कम्जोर बिग्रदै गरेको स्वास्थ्यका बारेमा जानकारी गराएपछि एक कोठे घरको भएपनि, भएका जति सबै चाबीहरु बुहारीको हातमा राखिदिन्छिन। सासुको आफूप्रतिको बिश्वासले बुहारीको मनमा सासुप्रतिको स्नेह अझ बढ्छ।

सासु-बुहारीको भलाकुसारीका बेला बाहिर निस्केको आजको बेहुलो, ती बुढी आमाको छोरा घर फर्कन्छ। सबैजना सुत्ने तरखर गर्छन। छोराले खोकिरहेकी आफ्नी आमालाई ओड्ने ओढाइदिन्छ आफ्नो खाटमा आएर बस्छ।

पहिले पटक बुढा-बुढीसँगै हुन्छन्। दुवैले एक-अर्काको आँखामा हेरेर एक-अर्कालाई सोध्छन्- ‘आज हाम्रो सुहाग रात हैन ?’ कोठाको बत्ति निभ्छ। छेउकै खाटमा सुतेकी विरामी आमाको खोकि चलिरहेको छ।

सुहाग रात छिप्पिदै जाँदा बुढा-बुढी नजिकिदै जान्छन्। आमाको खोकि पनि केही साम्य जस्तो भएको छ। निष्पट्ट अँध्यारोमा पनि बुढा-बुढीको आँखा जुधिरहेको छ। दुवैले एक-अर्काको आँखामा देखिएको सुहागरातकोभोकदेख्छन्, बुझ्छन् तर मेटाउन सक्दैनन्।
एउटै कोठामा सुतिरहेकी आमाको उपस्थितिले छोराको सुहाग रात जागराममा परिणत हुन्छ। बुहारीले विहानै उठेर घरको सरसफाई गरुन्जेल आमा-छोरा सुति रहन्छन्। आमाले हिजो रातिबाट नै नखोकेकाले छोराले आमाको खोकि निको भयो होला भन्ठान्छ। तर जब बुहारीले चिया बनाएर सासुलाई उठाउन खोज्छिन्, विषको एउटा सानो बोतल आमाको हातबाट खस्छ। आमाले आत्महत्या गरिछन्।