Thursday, March 1, 2012

शिवपुरी आश्रम

आज कलेज जानु परेन। आज जानुपर्ने चाहिँ, हिमालय होटलमा, मार्टिन चौतारीले आयोजना गरेको ‘ह्युमन सेक्युरिटी’ विषयक सेमिनारमा भाग लिन हो। अझ, देवेन्द्र दाईलाई भेटीभेटीकन सहभागी हुन पाउने व्यवस्था मिलाएको थिएँ। तर, आज, जाने दिनचाहिँ कहिँ निस्कन मनलागेन। खै, किन हो, मलाई ललितपुरतिर जानै मनलागेन; सायद दुईवटा गाडी फेर्नुपर्ने भएकाले म हच्किँए होला।

‘कहिँ नजाने भएपछि, पढेर बसौँ न त’ भन्ने विचार आयो। ‘के पढ्ने?’ भनेर यसो सोचेको त केहि पनि पढ्न मनलागेको होइन। अनि फेरी समातें, माई एक्सपेरीमेन्ट विथ त्रुथ । एकपटक हैन, कयौँ पटक मैले गान्धीको साहरा लिएर समयलाई कटाएको छु अनि अलिकति उर्जा पनि बटुलेको छु। दुःखपरेको बेला कितापको शरणमा पर्ने ममात्र एक्लो प्राणी हैन, मलाई थाहा छ ! गान्धीको जन्म र पढाईको बारेमा पढिसकेपछि, ‘अरु भोली’ भन्यो मनले। खुट्टा चिसो भएकाले सिरक ओढें, अनि सोच्न थालें – केचाहिँ गर्ने होला? मेरो मनलाई केहि गर्नै मन छैन। अनि एकपल टोलाएर पनि बसें। भुत, वर्तमान, भविष्य सबै कालमा एक फेरा मार्‍यो मनले। ‘अर्को पनि चक्कर लाउँछु’ भनेर रहर गर्दै थियो; शिवपुरी बाबाको याद आयो। ‘यसै कारण शिवपुरी बाबाको याद आयो,’ भनेर कारणचाहिँ तोक्न सक्दिन तर आजभन्दा पहिला पनि मलाई, उहाँको समाधीमा जान मनलागेको भने हो - जे.जी. बेनेट र ठाकुरलाल मानन्धरले, बाबासँग, बिभिन्न समयमा गरेको सत्सङ्गमा आधारीत भएर लेखेको पुस्तक ‘अनन्तको यात्रा’ पढेपछि मलाई बाबाप्रति उत्सुकता जागेकै हो। बाबाप्रतिको मेरो उत्सुकता, शिवपुरी डाँडाको बुढानिलकण्ठपट्टि रहेको विपश्यना ध्यान शिविरमा पहिलोपटक बस्नजाँदा खेर नै हो। यो २०६३ फाल्गुन महिनातिरको कुरा हो। पछि, नुवाकोटको चिसापानी घुमेर सिधै सुन्दरीजल ननिक्ली, ८ घण्टाको बाटो हिँडेर बागद्वार हुँदै बुढानिलकण्ठ निक्लँदा पनि बाबाको बारेमा मलाई जिज्ञासा आएको हो। सायद मलाई कुनै साथीले सुनाएको थियो होला, शिवपुरी बाबाका बारेमा।

जे होस, बाबाको याद आयो। अनि सोचेँ, ‘आज घर बसेर पनि केहि गर्ने होइन; ल बोरु नुहाईधुवाईं गरेर लाग्नु पर्‍यो, बाबाको शरणमा, केहि भई पो हाल्छ कि !’ करीब १ बजेतिर निस्किएँ घरबाट। जानुपर्ने एकतिर लागेछु पशुपतितिर ! मृगस्थली पुगेर, त्यहाँ कुरा गरेर बसिरहेका महिलाहरु सोधें, ‘आमा ध्रुवस्थली कहाँ पर्छ?’ उहाँहरुलाई केहि थाहा रहेनछ, ध्रुवस्थलीका बारेमा। शिवपुरी बाबाका बारेमा पनि थाहा थिएन होला। आमाहरुबाट पार नलाग्ला जस्तो भएपछि त्यहिँ बस्ने सन्तहरुलाई सोधें। वहाँहरुले बाटो बताइदिनु भयो। अनि मानिसहरुलाई सोध्दै-सोध्दै; ‘बाटो बिराएँकि’को डर लिदैँ पुगें म – शिवपुरी आश्रम जहाँ शिवपुरी बाबाको समाधी पनि छ। शिवपुरी बाबाको आश्रम पुग्न, गोकर्ण गल्फ कोर्सलाई छुँदै भित्रपट्टी लाग्ने बाटोबाट अघि बढेपछि ‘शिवपुरी बाबा आश्रम’ लेखेको होर्डिङबोर्ड आउँछ, त्यहाँबाट भित्र छिरेपछि ३ सय ५० मिटरमाथि बाबाको आश्रम छ।

म आश्रम पुग्दा, त्यहाँ केहि मान्छेहरु खाजा खान लागिरहेको देखें। म सरासर बाबाको समाधितिर लागें। मनमा ‘कसैले केहि भन्लाकि’को भावना त छ तर पनि मलाई संकोच लागेन। खुरुखुरु समाधि हेरें अनि त्यसपछि बाबाको आश्रम पनि एकफन्का मारें। सबै किताबमा देखाइएको फोटा जस्तै ! त्यसपछि, त्यहाँ बसिरहेका मान्छेहरुलाई ‘समाधिभित्र पस्न पाइँन्छ?’ भनेर सोधें। सकारात्मक उत्तर आएपछि समाधि कोठाभित्र छिरियो। भित्र छिरेर बाबाको फोटाहरु अवलोकन गर्न थालें। मलाई विशेष चाख बाबाको आँखामा थियो। योगीहरुको आँखा अदभूत, एकोहोरो, भेदन गर्ने खालको हुन्छ भन्ने पढेको र सुनेको थिएँ, त्यहि भएर। तर, बाबाको आँखा धेरैजसो तस्बीरमा राम्रोसँग देखिएको थिएन, आँखाहरु भित्र गढेकाले होला। फोटो हेर्दैजाँदा, बाबा बस्ने झुला र त्यसमाथि राखिएको खराउमा मेरो नजर गयो। खै कहाँ हो तर मैले पढेकै कुरा के हो भने – उहिलेका योगीहरुले काठको खराऊ लाउनुमा पनि स्वास्थको कारण थियो रे। मलाई आफूले लगाएको जुत्ताको सम्झना भयो अनि सोचें – कि म पनि खराऊ लाएर हिँडौ हँ ?

समाधि कोठामा बसेर ध्यान गर्ने जाँगर आए पनि बाहिर आर्मीहरुले मर्मतको काम गरिरहेकाले ध्यान गरिन तर पनि १० मिनेट जति बसेर बाहिर निस्किएँ। बाहिर, दुईजना दाईहरुसँग भेट भयो। अलिपछि डा. वाइ.बी. श्रेष्ठसँग पनि देखादेख भयो। डा. श्रेष्ठले मलाई शिवपुरी बाबासम्बन्धी अरु पनि पुस्तक पढ्न र पढेका कुरा साथीहरुसँग ‘डिस्कस’ गरेर बुझ्न सल्लाहा दिनुभयो। ‘एक्लै पढेको कुरा, पढिन्छ अनि केहि समयपछि हराउँछ तर पढेर डिस्कस गरेको कुरा लामो समयसम्म रहिरहन्छ’ भनेर डा’साबले भन्दा मलाई बल्ल डिस्कस गेरेर पढ्नुपर्ने रहेछ है भन्ने बिचार मनमा आएको छ।

त्यसपछि, झलकसँग बसेर कुरा गर्न थालें। झलकको बारेमा मलाई उनको नाम बाहेक धेरै केहि थाहा छैन। तर, कुराकानीका दौरान के भने थाहा पाएँ भने – कि त ऊ साधनामा पाकेको मान्छे हो कि त गफमा । एकिनै गरेर यसैमा पाकेको हो भनेर भन्न त अझै एकदुईपटक भेट हुनुपर्छ, झलकसँग। तर मलाई लाग्छ, त्यो केटो कि त वरकै हो कि त परकै। बिच्चको पक्कै हैन। गफाडी र कर्मवानमा एउटै समानत हुन्छ – दुवै मायावीजस्ता लाग्छन् सुरुमा तर समयले गफाडीलाई नङ्ग्याई हाल्छ। अँ, आज, नागरीकमा 'काठमान्डु कथा' लेख्न मनोज दाहाल र कृष्णप्रसाद भट्टराईलाई आजीवन सेवा गर्ने, अमिता कपालीलाई पनि देखेको थिएँ, आश्रममा। मनोजको उमेर पाक्दै रहेछ, कपाल फुल्दै थिए उनका। धन्न, कपाल फुल्छ मात्र, फल्दैन ! कपाल फल्ने भए के फल्थ्यो होला है कपालमा?

मनोज दाहालप्रति मलाई आदर भाव आउँछ। उनको काठमान्डु कथा म नबिराई पढ्छु। जीवनलाई सकारात्मक आँखाले हेर्नुपर्छ र आफूले सकेको गर्न कहिल्यै छोड्नु हुँदैन – उनको ‘कथा’हरुको मूल शिक्षा यस्तै हुन्छन्। विषेशतः कपुरसँगको उनको भेटघाटका कथाहरु साह्रै चाखलाग्दा हुन्छन्। मैले सबैभन्दा पहिलो पटक काठमान्डु कथा पढ्दा, शीर्षक – ‘ह्याप्पी न्हु इयर’ थियो जस्तो लाग्छ। त्योभन्दा पनि पहिला, नेपथ्यले काठमाडौंमा कार्यक्रम गर्दा त्यो कार्यक्रमको सेरोफेरोमा रहेर मनोज दाहालले नै लेखेका थिए क्यार ! साह्रै राम्रो लेखेका थिए। कति वर्ष अघिको कुरा हो, मलाई ठ्याक्कै थाहा त छैन तर २ वर्षभन्दा धेरै समय बितिसकेको छ, त्यस पश्चात।

मूल कुरा के भने – मैले मनोज दाहाललाई देखें। झलकसँग मेरो कुराकानी चलिरहेको छ। ऊ मलाई नयाँनयाँ कुरा भन्दै छ, सिकाउँदै छ। म उसका करासुनेर पुलकित हुँदैछु। तर पनि, साँझ पर्न थालिसकेको र वातावरण चिसिन थालेकाले मैले आफ्नो झोला टक्टक्याउन थालें। तिलगङ्गा आँखा अस्पताल अगाडी हामी ३ जना नै छुट्टियौं। ‘फेरी भेटौंला’ सहितको नमस्कार आदानप्रदान भयो; तर मोबाइल नम्बर साटासाटको काम भएन। कहाँकहाँ मलाई विश्वास छ, म झलकलाई फेरी भेट्छु भन्ने। भेटै नभए पनि, सम्झनामा उ रहनेछ।

आजसम्मको कुरा गर्ने हो भने, अबदेखि, हप्ताको १ पटक मात्र भएपनि शिवपुरीबाबाको आश्रम जाने बिचार गरेको छु। के गर्न ? मलाई थाहा छैन। सायद जीवनका कुरा सुन्न र सकें भने बुझ्न पनि। केहि गर्न सकिने भने पनि आश्रममा चुप्प लागेर बस्नु नै बाहिर बसेर बेकारमा फत्फताउनुभन्दा जाति हो भनेर मैले बुझेको छु।

मितिः २०६८-११-१७ (बुधबार)

स्थानः पेप्सीकोला (०६:०२ बेलुकी)

No comments: