'मसान' अहिले चलचित्रको रुपमा चर्चामा छ। 'मसान'लाई चलचित्र, नीर शाहले बनाएका हुन्। आजै पनि नागरिक दैनिकमा 'मसान'को समाचार छापिएको छ। समाचारमा हाल कुमारी, गुण, गंगा र सिभिल मलमा मात्र यो चलचित्र प्रदर्शन भइरहेको कुरा बताइएको छ।
यो त भयो चलचित्र 'मसान'का बरेमा मलाई थाहा भएको जनाकारी। तर, आजको यो आलेख मैले चलचित्रका बारेमा सुनाउनकालागि तयार पारिरहेको छैन। सुनाउन-त-सुनाउने नै हो तर 'मसान' पुस्तकका बारेमाचाहिँ। अलिकति नीर शाहलाई अघि बढाएर आफ्ना कुराको फेरो खोल्नेछु।
नीर शाहले बनाएको तीनवटा चलचित्रका बारेमा मात्र थाहा छ मलाई। एउटा 'बासुदेव', अर्को 'बसन्ती' र त्यसपछिको त 'मसाल' नै भैहाल्यो। मलाई लाग्दछ नीर शाहले अरु १-२ वटा चलचित्र पनि बनाएका छन्। तर हाल मलाई तिनको नाम सम्झना छैन। 'मुकुण्डो' कि के हो खै? नीर शाहले बनाएका हुन् जस्तो लाग्छ तर यकिन भएर भन्न सक्दिन। (कसैलाई थाहा छ?)
नीर शाहले बनाएका चलचित्रहरु राम्रा वा उच्चकोटीका हुन्छन् भन्ने सुनेको छु। 'सुनेको छु' यसकारण कि मैले उनले बनाएको 'बासुदेव' बाहेक अरु चलचित्र हेरेको पनि छैन। बसन्ती, खै के कारणले हेरिन। पछि किताब पढेपछि चाहिँ हेर्न मनलागेको छ- अवसर पाएको छैन। 'बासुदेव' हेरेको छु तर अलि आलोकाँचो हुँदै हरेको। राम्रो हेक्का छैन विषयवस्तुको। अब भने सुरुमा पुस्तक (कट्टेल सरको चोटपटक, लेखक: ध्रुवचन्द्र गौतम) नै पढेर फेरी हेर्नु छ 'बासुदेव'।
सरसर्ती हेर्दा नीर शाहले पुस्तकमा मात्र चलचित्र बनाउँछन् जस्तो लाग्छ। भर्खर प्रकाशित एउटा अन्तरर्वातामा उनले भनेका पनि छन्, "पुस्तकमा चलचित्र बनाउँदा कथा तयारै हुने भएकाले पटकथामा धेरै काम गर्न समय मिल्छ।" पटकथामा समय दिन नसकेर 'झुर' चलचित्र बनाउने निर्माता र निर्देशकले यो कुरा सुनेको भए राम्रो। यहाँनेर म एउटा अनुरोध पनि झुण्ड्याइ हालौं- नेपाली समाजमा वा नेपाली साहित्यैमा पनि चलचित्र बनाउन सकिने विषयवस्तु धेरै होलान, कृपया खोजी गर्नुहोस् न ! उदाहरणका लागि नेपाली साहित्यबाट 'कर्नाली ब्लुज' उपन्यासमा एउटा उच्चस्तरको चलचित्र बनाउन सकिन्छ जस्तो मलाई लाग्छ। त्यसैगरी चलचित्र 'आचार्य'को पदचाप पछ्याउने हो भने नेपालमा कत्ति यस्ता व्यक्तित्त्व छन जसका जीवन कहानीलाई चलचित्र बनाउन सकिन्छ। मेरो आफ्नो विचारमा तत्कालीन राजा महेन्द्र र वीपी कोइरालाका सम्बन्धमा बनाइने चलचित्र पनि उत्कृष्ट हुनसक्छ। यस्तो हुनसक्यो भने ईतिहासमा ओझेल पर्दै गएका तर पनि महत्त्वपूर्ण विषयवस्तुको उठान हुने थियो अनि सायद राम्रो काम गर्न सकेको खण्डमा नेपाली चलचित्र उद्योगले पनि दर्शक पाउने थिए।
अब 'मसान'को कुरा। 'मसान' भन्ने नेपाली पुस्तकमा नीर शाहले चलचित्र निर्माण गर्दैछन् भन्ने हल्ला केहि अघिदेखिकै हो। अलिपछि मात्र मलाई 'मसान' पुस्तक गोपालप्रसाद रिमालले लेखेका हुन् भन्ने थाहा भयो। 'आमा' कि 'आमाको पुकार' भन्ने एउटा कविता पढेजस्तो लाग्छ उनको। उनको नाम याद भएको चाहिँ उनी १९९० सालको एस.एल.सी मा बोर्डफस्ट भएकाले हो; साल मलाई यकिन छैन तर उनी नेपालबाट एस.एल.सी लिइँदाका प्रथम बोर्डफस्ट हुन्।
गएको शनिवार 'मसान' पढ्नुपर्यो भनेर किन्न निस्किएँ। 'मसान' किन्न म भौतारिएको यो दृश्य रत्नपार्कको हो। साथमा रमेश छ। एउटा पुस्तक पसलमा सोधें- मसान छ। हँ?, भन्छ पुस्तक पसले। अर्कोमा पनि त्यस्तै। 'के हो तिमीहरु पत्रिका पढ्दैनौ? यत्रो पुस्तक पसल खोलेर बसेको मान्छेलाई मसान पुस्तकका बारेमा पनि थाहा छैन। मैले पुस्तक पसक खोलेको भए हर-एक पुस्तक पढेको हुने थिएँ। अनि समय अनुसार पाठकको रुची र आवश्यकतालाई पनि ध्यान दिने थिएँ' भन्न मनलागेको थियो तर भनिन्। अनि अर्को पसलमा छिरें। 'मसान उपन्यास छ', भनेर सोधेको 'छैन' भन्छ। अनि त रिस उठीहाल्यो। मनमनै सोचें- 'यो रत्नेको पारकमा मेरो पैसा खर्च हुनु लेखेको रैनछ। हिड छोरो, साझा पुस्तक भण्डार।'
साझा पुस्तक भण्डार। यहाँ आएपछि मलाई 'पढ्नुचाहिँ पर्छ है!' जस्तो भावना आउँछ। एकएटक हैन, हरेक पटक यस्तै हुन्छ। कहिलेकाहिँ, 'साझाको सबै पुस्तकहरु एकप्रति किनेर पढिकन छाड्ने छु' को भावना पनि आउँछ। तर खै, किन हो? टिक्तैन।
मसान किनें। पहेंलो रछ गाता। भित्र हेरेको 'मसान-सामाजिक नाटक' पो लेखेको छ। मलाई बल्ल थाहा भयो 'मसान' त नाटक पो रछ। अनि मनमनै नीर शाहलाई धन्यवाद दिएँ मसान बनाएकोमा। उनले 'मसान'लाई चलचित्र नबनाएको भए यो पुस्तक मेरो हातमा पर्थ्यो-पर्दैनथ्यो? त्यसपछि मलाई नेपाली पत्रकारहरुले कति हलुका ढङ्गबाट समाचार लेख्दा रहेछन् भन्ने हेक्का भयो। 'मसान'का बारेमा लेखिएको, कुनै पनि, मैले पढेको समाचारमा मसान नाटक हो भनेर लेखिएको थिएन। पुस्तक हेरेको पनि त हुनुपर्यो नि!
अब पुस्तक भित्रै छिरौं। मसान एउटा सामाजिक नाटको हो। साह्रै कम पात्रहरु भएका- जम्मा सात जना। पुरै पुस्कत ७० पृष्ठको छ। यसमा मूख्य भागका अलावा परिचय, दुई कुरा, उपसंहार पनि पर्दछन्। नाटकको मूख्य भाग जम्मा ६३ पृष्ठको छ। 'अग्नीको कथा' नाटक पढेर नाटकै पढ्ने हिम्मत गुमाएको ममा अहिले फेरी 'नाटक पढ्दा ज्यानैचाहिँ जाँदैन है' भन्ने भाव पालाएको छ। मान्छेहरु सामान्य विषयवस्तुलाई गाह्रो बनाएर किन लेख्छन् खै?
नीर शाह र गोपालप्रसाद रिमाललाई फेरी पनि धन्यवाद। 'मसान'को सबैभन्दा तगडा पक्ष यसको भाषा हो। बोलिचालिको भाषा प्रयोगले नाटकमा अलङ्लार थपेको छ। एकपटक सुरु भएपछि 'सिध्याएर मात्र उठौं'को भावना आउँछ। अनि 'अब के होला?' भन्दा-भन्दै 'उपसंहार' पृष्ठ आइपुग्छ।
एक आदर्शवादी पुरुष श्रीमान भएकी सामान्य महिलाको कथा हो 'मसान'। कथाको अन्तिमसम्म नआइपुग्दा श्रीमान आदर्शवादी हो जस्तो लाग्छ तर अन्त्यमा भने महिलाको सरलताले सबै आकाश ढाक्छ। महिलाको लागि आमा बन्नु धेरै महत्त्वपूर्ण घटना थियो वा धेरै अर्थमा अहिले पनि हो भन्ने कुरा नाटककारले व्याख्या गरेका छन्; युवतिले आफैंमाथि सौता हाल्नु, पछि घर छोडेर हिड्नु र भोटुको मृत्यु हुनुले त्यस्तै देखाउँछ। तर पनि नाटक पढिसकेपछि पठकले, को ठिक वा को गलत?, भन्ने प्रश्नमा लामो वादविवाद गर्नसक्ने ठाउँ छ, 'मसान'मा। कुनै पनि साहित्यिक रचनामा हुनै पर्ने अनिश्चिता भरपुर मात्रामा राखेर पाठकलाई पनि सोच्ने ठाउँ दिने उदेश्य गोपालप्रसाद रिमालको रहेको देखिन्छ।
मैले एउटा कथा बनाउन नसक्ने विषयलाई रिमालले ६३ पृष्ठको नाटक बनाए। त्यसैले पाइलाले सगरमाथाको उचाइ ननापी; पाठक र दर्शकहरुलाई पुरै कथा पनि नबताई म यहाँनेर नै बिट मार्न चहान्छु।
मैले लेखेको माथिको विवरण 'मसान'को पुस्तक समीक्षा नभएपनि 'मसान' पुस्तककै कारण यो विवरण सम्भव भएकाले यसलाई मैले पुस्तक समीक्षा 'लेबल' भित्रै राखेको छु। अरु कुरा अर्कोपल्ट।
No comments:
Post a Comment