अन्तत: विश्वकप क्रिकेटको ६ हप्ता लामो १०औं संस्करण सकिएको छ। शनिबार मुम्बईको वाङ्खडे स्टेडियमा भएको फाइनल खेलमा श्रीलंकालाई हराउँदै भारतले दोस्रोपटक विश्वकपको उपाधिमाथि कब्जा जमायो। १९८३ मा पहिलो पटक उपाधि जितेको भारतले २८ वर्षपछि फेरि 'विश्वविजेता'को उपमा पाएको हो। भारतलाई शुभकामन।
क्वाटरफाइनलपछिका खेलहरुको विश्लेषण र प्रतिद्वन्धिहरु हेर्ने हो भने श्रीलंकाभन्दा भारत नै बलियो र आत्मविश्वासी टोली थियो, भन्न सकिन्छ। फाइनल खेलको एकदिनलाई मात्र हेर्ने हो भनेपनि खेलको सबै पक्ष (ब्याटिङ्ग, बलिङ्ग र क्षेत्ररक्षण) मा भारतले श्रीलंकालाई पछी पारेकै हो। तरपनि यहि टोली नै बलियो हो भन्नेमा आ-आफ्नो तर्कहरु हुनसक्छन्। यस लेखमा कुन टोली बलियो वा कम्जोर हो भन्ने विश्लेषण छैन। यहाँ मैले, नेपाली दर्शकका आँखाबाट फाइनल खेल हेर्दाको अनुभवलाई आफूले बुझे अनुसार वर्णन गर्ने प्रयास गरेको छु।
फाइनल म्याचको आधा अंश अर्थात श्रीलंकाको ब्याटिङ्ग भृकुटीमण्डपको एउटा खाजा पसलमा हेर्नुपर्यो। बालबच्चा देखि युवा, जवान, अधवैंशे र वृद्ध उमेर समूहका, दुवै देश (भारत र श्रीलंका)लाई समर्थन र विमर्थन गर्नेहरुका विभिन्न खाले अड्कलबाजी र हल्लाका विचमा खेल हेर्नु रमाइलो नै भयो। नेपाल कहिल्यै कुनै खेलको विश्वकप फाइनलमा नपुगेको वा भनौं अझ केहि वर्षसम्म नपुग्ने छाँटकाँट हुँदा नेपालमा खेल हेर्नुको एउटा फाइदा के हुन्छ भने- यहाँ खेल हेर्दा दुवै टोलीका नेपाली समर्थकहरु एकैठाउँमा बसेर एक-अर्कालाई छेडछाड गर्दै खेल हेरिरहेका हुन्छन्। त्यसैले खेलको मानसिक दबाब दर्शकलाई पनि पर्नजान्छ र खेल अझ रोमाञ्चक भान हुन्छ। हिजो खेल भारत वा श्रीलंकामै हेर्नुभन्दा नेपालजस्तो 'न्युट्रल भेन्यु' बाट हेर्नु नै रामाइलो होजस्तो लाग्छ।
नयाँ र पुराना दुबै किसिमका दर्शकहरुले खेलको मज्जा लिएको देख्दा लाग्यो क्रिकेट खेल नेपालमा लोकप्रिय भइरहेको छ। पछिल्लो समयमा नेपाली टोलीले पनि क्रिकेटमा पाएको सफलताहरु यसका कारण होलान्। अर्को- नेपाली, भारतीय र विदेशी मिडियाको नेपाली दर्शकमाथि बढ्दै गएको प्रभाव वा भनौं विश्वकप सफल पार्न आयोजकहरुले गरेको मिडिया प्रयोगका सफलताका रुपमा पनि लिन सकिन्छ यसलाई।
सबैभन्दा अच्चम लाग्दो कुरा- नेपालमा भारत विरोधी 'सेन्टिमेन्ट' अलि ज्यादै भए पनि भारतीय टोली समर्थक नेपाली दर्शकको उल्लेख्य उपस्थिति देखें मैले भृकुटीमण्डपमा। भारतीय समर्थक बाहेक पनि सचिनले सतक हानोस तर भारतले खेल हारोस भन्नेको संख्या अत्याधिक देखिन्थ्यो। स्पष्ट के थियो भने भारतलाई समर्थन गर्दै होस या विरोध गर्दै सबै भारतलाई नै हेरिरहेका थिए। कोहि भारतको हारको लागि खेल हेरिरहेका थिए त कोहि भारतको जितको लागि।
नेपालमा भारतको राजनैतिक हस्तक्षेपको नकारात्मक प्रभाव र त्योभन्दा पनि वर्तमानमा भारतीय नागरिकले नेपाली व्यापार-व्यवसायमा गरेको उल्लेखनीय प्रगतिले नेपाली मनमा अलिबढी नै चिन्ता थपिनु पनि भारतीय क्रिकेट विरोधको प्रमुख कारण होला। यसबाहेक भारतीय मिडियाले गर्ने भड्किलो कभरेज, विज्ञापनमा भारतीय खेलाडीहरुको अत्याधिक उपस्थीति पनि भारतीय क्रिकेट विरोधी मानसिकताको कारणहरु हुन्। अझ, मैले खेल हेरेको ठाउँमा स्टार स्पोर्टसबाट खेल हेरिएकाले त्यहाँ कमेन्ट्री गर्ने भारतीय भाषाका कमेन्टेटरको भारत पक्षीय कमेन्ट्रीबाट पनि धेरै चिढिएको पाइयो।
तर दुर्भाग्य के भने, विश्वकप भारत आइपुग्दा पनि नेपाल र नेपालीमा भने त्यसबाट प्रेरणा प्राप्त भएको देखिएन। श्रीलंकाले १९९६ मा विश्वकप जितेपछि श्रीलंका 'दिन दुईगुना रात चौगुना' क्रिकेटको विश्वशक्तिका रुपमा उदायो। तर नेपाली भने भारतसम्म आएको विश्वकप क्रिकेट नेपालमा पनि आए कस्तो हुँदो हो भनेर कल्पनामा भए पनि रमाउनुभन्दा भारतको इर्ष्यामात्र गरेको देखियो। २००७, २०११ र अहिले आएर २०१५ मा विश्वकप खेल्ने छौं भनेर संविधानसभाको झैं समयसिमा बढाउ बाहेक हामीले के गर्न नसक्ने भयौं।
एउटा आशाका रुपमा नेपाली युवाहरुभन्दा भृकुटीमण्डपमा उपस्थीत साना बच्चाहरुको क्रिकेट प्रतिको ज्ञान, उत्साहा र रुचीलाई लिन सकिन्छ। तर अन्य दर्शकहरु भने एउटा टोलीको विरोध वा समर्थन मै खेलबाट लिन सकिने रमाइलो पनि नलिइ बसेको पनि देखियो।
No comments:
Post a Comment