सबै कुराको अन्त्य हुन्छ। राम्रोको पनि नराम्रोको पनि। कस्तै महान ब्यक्ति वा वस्तु अन्त्यमा धुलिएर जानैपर्छ। बाँकि रहन्छ त सुखद सम्झना मात्र।
क्रिकेटमा अष्ट्रेलियाको पनि यहि नियती भएको छ, अहिले। सञ्चालनमा रहेको विश्वकपमा, पहिला, समूह चरणको प्रतिस्पर्धामा पाकिस्तानले उसको विश्वकपमा ३४ खेलको अपराजीत यात्रालाई रोक्यो। पाकिस्तानसँगको हार लगत्तै अष्ट्रेलियालाई भारतले क्वाटर फाइनलमा पराजीत गर्यो र उसलाई प्रथमपटक सन् १९९६ को विश्वकपपछि यस प्रतिस्पर्धाबाट बाहिर निक्लन बाध्य तुल्यायो।
यसरी कुनैबेला पुरै विश्व एकातिर लागेर पनि हराउन नसकिएको अष्ट्रेलियन टिम अहिले धरासायी भएको छ। विशेष गरेर शेन वार्न, म्याथ्यु हेडन, एडम गिलक्रिष्ट, ग्लेन मेग्राथ जस्ता प्रभावशाली र अनुभवी खेलाडीहरुको जमातलाई एकैपटक गुमाउनु अष्ट्रेलियाका लागि प्रतिउत्पादक भएको देखिन्छ। अष्ट्रेलियाली टिमको असफलताको अर्को कारण कप्तान रिक्की पोन्टिङ्ग पनि हुन्। पोन्टिङ्गले भारतसँग खेलमा जडेको शतक बाहेक प्ररणादायी भूमिका खेल्न नसक्नु पनि अष्ट्रलिया हार्नुको कारण हुनसक्छ। कुनैबेला ब्रायन लारा, सचिन तेन्दुलकरको हाराहारी मै देखिएका पोन्टिङ्ग विगत डेढवर्ष यता राम्रो लयमा नदेखिएको साँचो हो। पछिल्लो समय, विशेषगरी, तेन्दुलकरको रेकर्ड पछ्याउने प्रयासमा देखिएका पोन्टिङ्ग सायद त्यहि प्रयासको बोझको शिकार भए।
तर, जे होस, पोन्टिङ्ग बितेको दशको सर्वश्रेष्ठ खेलाडी हुन् र खेलकै महानतम मध्ये एक। सन् १९९९ बाट विश्वक्रिकेटमा आधिपत्य जमाएको अष्ट्रेलियन टिमका एकमात्र प्रतिनिधिका रुपमा पोन्टिङ्गलाई सन् २०११ को विश्वकपले सबैभन्दा कठिन परीक्षा लियो। र, सम्भवत: विश्वकपको आफ्नो अन्तिम खेलमा शतक लगाउनु र भारतको जीतमा अन्तिमसम्म सबैभन्दा ठूलो बाधाका रुपमा रहनु 'महान' हुनुकै लक्षण हो।
विश्वकपबाट १२ वर्षपछि बाहिरिँदा अष्ट्रेलियालाई पक्का पनि गाह्रो भएको होला। सन् १९९९ को विश्वकपमा पाकिस्तानी टिमसँगै १० रनले पराजीत भएपछि अष्ट्रेलियाले गएको दशकै विश्वक्रिकेटमा आफ्नो एकछत्र राज जमाए कै हो। यो पनि सत्य हो कि अष्ट्रेलियाला तीन पटक लगातार गरि कुल ४ पटक विश्वकप जित्ने टिम हो। सन् १९९९ मा अष्ट्रेलियालाले विश्वकप जीतेपछि फुटबलमा विश्वकपको उपाधि फ्रान्सबाट ब्राजिल, ब्राजिलबाट इटाली र अहिले स्पेनको हातमा छ। त्यसैले, कुनै पनि खेलमा विश्वकप एकपटक पनि जित्नु चानचुने कुरा होइन। तीनतीन पटक जित्नु त झन महान नै भयो। यसबीच क्रिकेटको दुनियाँमा अष्ट्रेलियाले प्राप्त नगरेको सफलता र हातपार्न नसकेको उपलब्धि केहि पनि रहेन।
तर, सबै महान कुराको अन्त्य भएझैं अष्ट्रेलियाली टिमको पनि भएको छ। पोन्टिङ्गको पनि भयो। सायद सांसारीकताको सुन्दर पक्ष नै यो परिवर्तनशील हुनु हो। त्यही भएर त मान्छे कस्तै दु:खमा पनि भोलि प्रति आशावादी भएर बाच्न सक्छ। यतिबेला अष्ट्रेलियाली टिमको पनि भोलिका प्रति आशावादी रहँदै, कठिन मेहनतका साथ, लडेर उठ्नु परेको अवस्था छ। आशा गरौं सुन्दर क्रिकेट खेल्ने अष्ट्रेलिया फेरी एकपटक उदाउने छ र दर्शकहरुलाई रोमाञ्चित तुल्याउने छ।
No comments:
Post a Comment