Sunday, June 16, 2013

सामान्यजनको आँखाबाट नेपाली राजनीतिको व्याख्या


संविधानसभाको निर्वाचनलाई प्रमुख माग बनाएर माओवादीले १० वर्षे जनयुद्ध गरे। मर्न र मार्न तत्पर देखिने माओवादी देख्दा, भरखर किशोरावस्थामा प्रवेश गरिरहेको मलाई, लाग्थ्यो यि पक्कै पनि कुनै ठूलो उदेश्य लिएर हिँडेका छन्। हुनतः मलाई माओवादीहरुले के खोजेको हो थाहा थिएन तर पनि उनीहरुको क्रियाकलाप सुन्दा, हेर्दा अनि देख्दा लाग्थ्यो नेपालमा केहि नयाँ कुरा हुँदैछ।

समय बित्दै गयो। पहिलो वार्ता, दोस्रो वार्ता, १२ बुँदे समझ्दारी, दोस्रो जनआन्दोलन, अन्तरिम संसद हुँदै माओवादी मुलधारको राजनीतिमा आए। नेपाल पिछडिनुको प्रमूख कारण राजसंस्था भएको निर्क्योल निकाल्दै नेपालबाट राजसंस्थालाई फालियो। संविधानसभाको निर्वाचन समपन्न गरियो। संविधानसभा त संसारका सबै समस्याहरुको हल हो, संविधानसभाले खोलाबाट आफैँ विजुली निकाल्न सक्छ भन्ने जसरी ‘नयाँ नेपाल’को नाराहरु नेता-जनता सबैको ओठमा झुण्डियो। मलाई केहि हुन्छ कि जस्तो लागेकै हो। एउटा सामन्य नागरिको रुपमा मेरो लोभ नेपालमै बसेर गरि-खान-पाइन्छ कि भन्ने नै हो।

तर समयले देखायो, सत्ताको लोभ कति डरलाग्दो हुँदो रहेछ भनेर। सत्ता बाहिर हुँदा दिल्लीबाट नै ‘नेपालमा नयाँ चुनाव आवश्यक छ’ भनेर घोषणा गर्ने विजयकुमार गच्छेदार अहिले सरकारमा चलाइरहेका छन्। एमाले अझै पनि ढुलेमुले प्रवृत्ति मै रमाएको छ। काङग्रेसलाई नयाँ केहि गर्नु परेको छैन, उ बीपी र जीपी कोइरालाकै नाम भजाएर लोकतन्त्रको मसिहा बन्दैमा ठिक्क छ। माओवादीमा अझै युद्धको धङधङी बाँकि नै छ। युद्धबाट केहि चमत्कार भैपो हाल्छ कि भन्ने आश उनीहरुमा मरेको छैन। सधै बन्दुकको नालबाट काम निकाल्न खप्पीस उनीहरुलाई वार्ता, समझ्दारी कितापी कुरा हुन् अनि जबरजस्ती गर्नु र गराउनु ‘वस्तुस्थितिवादी’ हुनु हो जस्तो लाग्दो हो। त्रिचन्द्रमा बिएस्सी गर्दागर्दै साइन्स छाड्दा मलाई पनि ‘जे भए पनि क्यालकुलसचाहिँ म छाड्दिन है’ भन्ने भावना थियो, केहि समयसम्म त्यो रह्यो पनि तर पछि आफूले रोजेको मानविकि विषयले दिमागमा घन हान्न थालेपछि मैले सबै छाडेँ। मलाई थाहा छ, सपनाहरुलाई छोड्दा मलाई धेरै गाह्रो भएको थियो तर पछि थाहा पाएँ लोभको भाकारी कति भारी भएको रहेछ भन्ने।

अहिले माओवादीलाई हतियारबाट केहि गर्न सकिने रहेनछ भन्ने पाठ विशेषगरेर भारत र नेपाली सेनाले सिकाएको अवस्था हो। अरु नाम मात्रका गुरु हुन्। संविधान बनाउन १ हप्ता पनि बाँकि नभएको अहिले परिस्थितिमा त्यहि पनि माओवादी एक अन्तिम पटक देशमा बितण्डा मच्चाउने प्रायस गर्दै छ। राजनीतिको निरश कथाले जनताहरु निराश भएका छन्। जातीय सद्भाव बिथोलिएको अवस्था छ।

नेताहरु सुरुङ्ग भित्र पसेर एकाएक सहमति गरेर आउँछन्। हेर्दा यस्तो लाग्छ कि केहि जादु भएको छ। तर यहाँ बिचार गर्नु पर्ने एउटा पक्ष के हो भने – जादू स्थायी हुँदैन है। विहानसम्म चारतिर चार मुख भएका नेताहरु बेलुकि कसरी घिच्रो पनि जोडिएको अवस्थामा बाहिर निस्कनछन्? यो जादू भन्दा पनि टुनामुना हो। केहि खतरनाख भइरहेको छ। यो त पक्का हो। के भइरहेको छ, त्यो त मलाई के थाहा?

संविधान सभा विघटन हुन भन्दा केहि दिन अगाडी

पेप्सीकोला, काठमाडौं।

No comments: