Sunday, September 30, 2012

पुस्तक समिक्षाः सञ्चार मीमांसा

पुस्तक :  सञ्चार मीमांसा
लेखक :  निर्मलमणि अधिकारी
प्रकाशक :  मिडिया एजुकेटर्स् एसोसिएसन अफ् नेपाल
पृष्ठः ३३, मूल्यः रु ३० (नेपालमा)।,  रु २० (भारतमा), प्रकाशन मितिः २०६८

संस्कृत एवं यसबाट निःसृत भाषाहरूमा 'मीमांसा' शब्दलाई मुख्यतया दुई अर्थमा प्रयोग गरिन्छ। पहिलो बृहद् अर्थमा यसले नेपाली शब्दकोशमा उल्लेख गरिएझैँ नै अनुमान र तर्क-वितर्कबाट कुनै विषयको तथ्य पत्ता लगाउने काम; विवेचना (भट्टराई, पं. हषनाथ, २०६३, पृ.७४४)बुझाउँछ। दोस्रो विशेष अर्थमा 'मीमांसा' ले वैदिक षड्दर्शनमध्येको एक दर्शनलाई जनाउँछ। निर्मलमणि अधिकारीकृत सञ्चार मीमांसा मा तीमध्ये अघिल्लो अर्थात् बृहद् अर्थमा 'मीमांसा'को प्रयोग गरिएको छ र वैदिक-हिन्दु दृष्टिकोणबाट  सञ्चारसम्बन्धी चिन्तन एवं सैद्धान्तिकरण यसको अन्तर्वस्तु रहेको छ। सञ्चार सिद्धान्त एवं ढाँचाबारे आफ्नो चिन्तनलाई अधिकारीले काव्य (पद्य) स्वरूपमा प्रस्तुत गरेका छन्। 

सञ्चारलाई मानव समाज र सभ्यताको आधार मानिएकाले सञ्चारबारेको चिन्तन र सैद्धान्तिकरण विभिन्न स्वरुपमा प्राचीन कालदेखि नै हुँदै आए पनि आधुनिक युगमा ज्ञानको विधाका रूपमा सञ्चारको औपचारिक अध्ययन ईशवीय बीसौँ शताब्दीमा संयुक्त राज्य अमेरिकामा सुरु भयो। आमसञ्चारमाध्यमको उद्भव एवं विकास पनि पश्चिमा मुलुकहरूमा नै भएको हो। अमेरिकी सन्दर्भमा सामान्यतः सञ्चार र विशेषत : आमसञ्चारसम्बन्धी सिद्धान्तहरूले एरिस्टोटलका वाक्कलात्मक सिद्धान्तलाई नै अगाडि बढाए। जब सञ्चारको अध्ययन अमेरिका बाहिर (विशेष गरेर एसिया र अफ्रिका महादेश) पनि गर्न थालियो तब ती देशमा पनि अमेरिकाकै जस्तो पाठ्यक्रम बनाउने प्रवृत्तिले नै प्रश्रय पायो। सञ्चारको व्याख्या, सञ्चारको सिद्धान्त र सञ्चारको ढाचामा सबैमा 'अमेरिकी अन्धानुकरण' देखियो। तर सञ्चार संस्कृतिसापेक्ष हुन्छ भन्ने मान्यताको पनि सन् १९६० को दशकबाटै उत्थान हुन थालेको थियो। फलस्वरूप सन् १९८० को दशकसम्म आईपुग्दा सञ्चारको अन्तरसांस्कृतिक एवं बहुसांस्कृतिक अध्ययनले पनि यस विधाको मूलधारमा मान्यता पायो। पछिल्लो समयमा एसियालीलगायतका गैरपश्चिमा सन्दर्भमा सञ्चार चिन्तन एवं सैद्धान्तिकरणको गति बढ्दो छ। एसियालीभित्र पनि चिनिया, जापानी, भारतीय आदि भनी संस्कृतिविशेषमा केन्द्रित भई अनुसन्धान अगाडि बढेको पाइन्छ। नेपालका सन्दर्भमा सन् २००३ मा सञ्चारको साधारणीकरण ढाँचा प्रतिपादन गरी सञ्चारको मौलिक संस्कृतिसापेक्ष अध्ययनको  प्रारम्भ गरेका निर्मलमणि अधिकारीले साधारणीकरण ढाँचासम्बन्धी अनुसन्धानलाई निरन्तरता दिँदै त्यसयताका वर्षहरूमा भएका सैद्धान्तिक विकासलाईसमेतसञ्चार मीमांसामा तयार पारेका छन्। 

साधारणीकरण सिद्धन्तले विशेष व्यक्तिको अनुभूति सर्वजनको अनुभूति कसरी बन्न जान्छ भन्ने प्रश्नको व्याख्या गर्छ । सन्देशको आदान-प्रदानमा संलग्न प्रेषक र प्रापकबीच तेरो मेरो भन्ने भावना हटी भावात्मक साझेदारी वा एकत्व हुने प्रक्रिया नै साधारणीकरण हो।  

सञ्चार मीमांसा मा पाँच अधिकरणहरू रहेका छन्। प्रथम अधिकरण मंगलाचरणसहित सुरु हुन्छ र तत्पश्चात् यसमा मानवमात्र नभएर हरेक जीवले सुख, शान्ति र आनन्द खोजेको र त्यसका लागि शास्त्र, शस्त्र, हिंसा, अहिंसा, ज्ञान आदि जस्ता विभिन्न मार्ग रोजेको बताएको छ। प्रथम अधिकरणमा अधिकारीको जोड सञ्चारलाई लौकिक र अलौकिक  सबै प्रकारका समस्याहरूको समाधानार्थ पेश गर्नु रहेको बुझिन्छ। उनका अनुसार संवाद सफल बनाइ दुई मानव/समाज लाई कसरी एक बनाउने भन्ने ज्ञान सञ्चार विधामा छ। 

द्वितीय अधिकरणमा कुनै पनि विधामा सिद्धान्तको आवश्यकता हुने भन्दै सञ्चार सिद्धान्त र ढाँचाको आवश्यकता र महत्वमाथि प्रकाश पार्न खोजिएको छ। यसमा उनले सञ्चार सिद्धान्त र ढाँचाको विषयवस्तु एवं प्रयोजनबारे उल्लेख गर्दै विभिन्न मतानुसार सञ्चारसिद्धान्त पनि फरक पर्ने हुँदा देश, काल र संस्कृतिका आधारमा हाल सञ्चार सिद्धान्त र ढाँचा बनिरहेको प्रष्ट्याएका छन्। भारतवर्षीय सञ्चार बुझ्नलाई सञ्चारबारेका मौलिक ज्ञान नहेरी नहुने र सञ्चार विधालाई समृद्ध बनाउन पनि वैदिक-हिन्दु-ज्ञानको दर्शन-सागर अनुसारका सञ्चार सिद्धान्त आवश्यक रहेको तर्क उनले अगाडि सारेका छन्। कम्युनिकेसन् नाममा सञ्चारको अध्ययन औपचारिक रूपमा पश्चिमा देशमा सरु भएको र उक्त विधाको एसिया र अफ्रिका महादेशमा पनि अध्ययन थालिँदा पश्चिमकै पाठ्यक्रमलाई अन्धानुकरण भएको उल्लेख गर्दै अधिकारीले नेपालमा पनि आधुनिक बन्ने लहडमा मौलिकतालाई बेवास्ता गरिएको गुनासो गरेका छन्। 

तृतीय अधिकरणमा अधिकारीले साधारणीकरण सिद्धान्त र साधारणीकरण ढाँचाबीचको फरक प्रष्ट्याएका छन्। साधारणीकरण सिद्धान्त काव्यको सम्प्रेषणका सन्दर्भमा प्रतिपादित भएको र भरतमुनिकृत नाट्यशास्त्रका रस-सूत्रको व्याख्याका क्रममा काव्यशास्त्राचार्य भट्टनायकले साधारणीकरण उल्लेख गरेको बताइएको छ। त्यसमा भर्तृहरिकृत वाक्यपदीयबाटसमेत ज्ञान लिई साधारणीकरण ढाँचा निर्माण गरिएको उल्लेखित छ। जे.एस. यादव र आई.पी. तिवारीलाई हिन्दू काव्य-शास्त्रमा सम्मानित साधारणीकरण सिद्धान्तलाई सञ्चार विधामा ल्याएको जस पनि दिइएको छ। तृतीय अधिकरणमै अधिकारीले साधारणीकरण ढाँचाको तत्वहरू भनेर सहृदय, भाव, अभिव्यञ्जना, सन्देश, सारणी, रसास्वादन, दोष, सन्दर्भ र प्रतिक्रियालाई उल्लेख गरेका छन्।  

चतुर्थ अधिकरणमा 'सहृदयता' नै साधारणीकरण सिद्धान्त र ढाँचाको सारतत्व वा केन्द्रीय अवधारणा भएको बताइएको छ। सहृदयताको कारण नै हिन्दू समाजमा भएको भेद-विभेदबीच पनि सञ्चार सम्भव हुने अधिकारीको तर्क रहेको छ । पश्चिमा  र साधारणीकरण ढाँचाका भिन्नता बताउँदै पश्चिमा ढाँचामा प्रेषक प्रधान भएको तर साधारणीकरण ढाँचामा भने प्रेषक र प्रापक सहृदय हुने बताइएको छ। सिद्धान्ततः सहृदय भन्नाले भावानात्मक अन्तर नभएका प्रेषक र प्रापक हुन् तर सञ्चारको सवालमा भने एकअर्कालाई सुन्न तयार र आफूलाई प्रेषक वा प्रापक भनेर छुट्याउनसक्ने जो-काही पनि सहृदय हन्। सञ्चार दिक् र कालमा गरिने र दिक् र काल वैदिक विवेचनामा चक्रीय मानिने हुँदा साधारणीकरण ढाँचा चक्रीय भएको पनि यसै अधिकरणमा प्रष्ट पारिएको छ। साथसाथै साधारणीकरण ढाँचा वैदिक हिन्दूमतबाट आएकाले पनि आधिभौतिकका साथै आधिदैविक र आध्यात्मिक सञ्चारलाई पनि समेट्ने बताउँदै सञ्चारबाट नै सबै पुरुषार्थ चतुष्टय (अर्थ, काम, धर्म र मोक्ष) प्राप्त गर्न सकिने विश्लेषण पनि गरिएको छ । 

पञ्चम अधिकरणमा वैश्विक समुदायमा हिंसा र घृणा व्याप्त रहेको अहिलेको बेलामा सञ्चारबाट सहृदयता प्राप्त गरी द्वन्द्वको निराकरण गर्न सकिने बताइएको छ। अर्कोतर्फ सञ्चारबाट मोक्ष पनि प्राप्त गर्न सकिने भएको र मोक्ष प्राप्त हुने पथलाई योग भनिने हुँदा भक्तियोग, ज्ञानयोग र कर्मयोगमा अब सञ्चारयोग पनि थपिएको अधिकारीले उल्लेख गरेका छन्। साथसाथै हिन्दूधर्मानुसार मोक्ष प्राप्ति गराउने ज्ञानलाई विद्या र अरु सबैलाई अविद्या मानिने हुँदा सञ्चार पनि अब विद्या भएको पुष्टि हुने पनि बताइएको छ। अन्त्यमा, “सबैको सुख आनन्द शान्ति समान मनाउनआफूले साधारणीकरण ढाँचामार्फत सहृदयता-दर्शन अघि सारेको भन्दै अधिकारीले सञ्चार मीमांसा काव्यको बिट मारेका छन्।
मूलपाठमा समेटिएका पाँच अधिकरणका साथै यस पुस्तकमा लेखकको प्राक्कथन र तीनवटा परिशिष्ट पनि समावेश गरिएका छन्। नेपाली भाषामा लेखिएको पहिलो परिशिष्टले साधारणीकरण ढाँचाका लागि पृष्ठभूमि तयार पार्छ भने अङ्ग्रेजी भाषी दोस्रो परिशिष्टले साधारणीकरण ढाँचाका सम्बन्धमा अहिलेसम्म भएका सैद्धान्तिक कामलाई एकमुष्ठमा चर्चा गर्छ। अन्तिम परिशिष्टमा साधारणीकरण ढाँचाबारेका केही छानिएका सन्दर्भसामग्रीको विवरण राखिएको छ। यी परिशिष्टहरु राख्ने काम जिज्ञासु पाठक र शोधकर्ताका लागि भएको बुझन्छ तर परिशिष्टमा भएका कामहरु नयाँ भने होइनन्। 

पृष्ठका आधारमा संचार मीमांसा पुस्तक निकै सानो छ। सञ्चार सिद्धान्त एवं ढाँचाजस्तो गहन विषयवस्तुलाई अत्यन्त संक्षेपमा प्रस्तुत गर्न सक्नु कवि एवं सिद्धान्तकारका रूपमा अधिकारीको सफलता हो। यसले, शोधलेख वा अनुसन्धानमुलक पत्रहरू पढ्ने बानी वा जाँगर नभएका नेपाली भाषाका पाठकहरूलाई सहज रूपमा सरल ढङ्गले सञ्चार के हो?, सञ्चारको प्रमुख उद्देश्य के हुनुपर्दछ?, सञ्चार कतिखेर सफल हुन्छ?, सञ्चार सिद्धान्त भनेको के हो र किन आवश्यक छ?, संस्कृति अनुसार सञ्चार कसरी फरक पर्दछ? आदि जस्ता सवालबारे जानकारी गराउन सक्छ। 

पश्चिमा चिन्तकहरूले प्रायः गद्यलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएको पाइन्छ भने भारतवर्षमा वेद, उपनिषद्, गीताजस्ता ग्रन्थहरू पद्यमै लेखिएका छन्। हिन्दू, बौद्ध, जैन आदि परम्परामा दर्शन, सिद्धान्त, नीतिलाई पद्यमार्फत् नै प्रायः लेखिएको पाइन्छ। काव्यशास्त्र, सौन्दर्यशास्त्र आदिका सिद्धान्तकाररूरुले पनि सोही परम्परालाई पछ्याएका छन्। तर सञ्चार सिद्धान्तका हकमा भने आजसम्म कुनै पनि कृति पद्यमा लेखिएको जानकारी छैन। यस पृष्ठभूमिलाई पनि ख्याल राख्दा सञ्चार सिद्धान्तलाई पद्यात्मक तरिकाले प्रस्तुत गरेर अधिकारीले सञ्चार विधामा नवीनता थपेकै हो। तर, पढ्न र बुझ्न सरल होस भनेर वेद, उपनिषद, गीताजस्ता पुस्तकहरू पनि गद्यमा व्याख्या भइरहेको अहिलेको समयमा संचार सिद्धान्त एवं ढाँचाजस्तो गहन विषयलाई पद्यमा लेख्नुको तात्पर्य, पुस्तकमा, खुलाइएको छैन। 

संञ्चार मीमांसाको प्रकाशन नेपाली भाषामै साधारणीकरण ढाँचासम्बन्धी थप अध्ययन गर्न चाहनेलाई होभनेर लेखकले किटेपनि यो पुस्तक पद्य कविता पढ्ने र बुझ्ने रुचि भएका सञ्चार/सञ्चारसिद्धान्त पाठकहरूका लागि मात्र सीमित हुनेछ। साथै, अधिकारीका अन्य पुस्तकहरूमा जस्तै सञ्चार मीमांसामा पनि अरू सञ्चारविद् वा प्राध्यापकहरूले साधारणीकरण ढाँचा वा सिद्धान्तमा गरेको टिप्पणी परिशिष्टमै भएपनि समावेश गरिएको भए राम्रो हुन्थ्यो। 
संचार ढाँचा बनाउनु एउटा कुरा हो तर त्यो प्रख्यात हुनु वा प्रख्यात बनाइनु अर्को कुरा भएकाले संचार ढाँचाको रूपमा साधारणीकरण ढाँचालाई कन्सेप्ट र कन्सट्रक्टभन्दा माथि उठाएर आम-मानिसको दैनिकीमा पनि जाँचिनु आवश्यक छ। नत्र भने नवीन नै भए पनि अरू विभिन्न ढाँचाहरू जस्तै साधारणीकरण ढाँचा पनि कोरा सिद्धान्त मै सिमित हुनसक्छ। यद्यपि हिन्दू संस्कृति सापेक्ष मौलिक ढाँचाको पृष्ठभूमि, आवश्यकता, तत्वहरू र प्रयोगका बारेमा लेखिएको पुस्तक सञ्चार मीमांसा एउटा प्रयोग भने अवश्यै हो। 

सन्दर्भसामग्री
भट्टराई, पं. हषनाथ। २०६३। राष्ट्रिय नेपाली शब्दकोष। काठमाडौं :  एडुकेशन पब्लिशिंग हाउस

अमोल आचार्य
विद्यार्थी, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय




No comments: