Monday, May 1, 2017

काठमाडौं विश्वविद्यालयमा चार वर्ष - समयलाई फर्केर हेर्दा

"हामी काहाँ वातावरण छ, चाहिने मेहनत गरेर राम्रो बन्ने-नबन्ने तिमीमा निर्भर गर्छ"। काठमाडौं विश्वविद्यालयमा भाषा तथा आमसञ्चारका विभागीय प्रमुख जङ्गव बहादुर चौहानले ब्याचलर इन मिडिया स्टडिजमा प्रवेश परिक्षा उत्तीर्ण गरेपछि लिइने अन्तर्रवार्ताका क्रममा भनेको कुरा दिमागमा ताजै छ। तर त्यसपछि भित्तामा तीनवटा नयाँ पात्रो परिवर्तन भइसकेछन्; चार वर्ष बितेछ। अहिले म थेसिसको काम सकेर आठौं सेमेष्टरको परिक्षाफल पर्खिरहेको छु।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको 'केन्द्रीय हातामा' मैले जीवनका चार महत्त्वपूर्ण वर्षहरु 'भोग' गरेँ। केन्द्रीय हाता - यसकारण कि मेरो बसोवास विश्वविद्यालयको पुरुष छात्रावासमै भयो। अनि भोग - यसकारण कि विश्वविद्यालयमा बसुन्जेल मेले पढ्ने मात्र हैन धुलिखेलको हावा-पानि, समाज अनि त्यहाँको साँझ-बिहानसँग परिचय साटेँ। मलाई धुलिखेल प्यारो छ, काठमाडौं विश्वविद्यलाय प्यारो छ र म भन्नसक्छु मैले यस विश्वविद्यालयमा विताएका चार वर्ष मेरो जीवनका स्वर्णिम पलहरु हुन्।
काठमाडौं विश्वविद्यालयमा बिताएको चार वर्षलाई चार घण्टामा सम्झिने प्रयत्न गर्दैछु म यहाँ। चार वर्ष अघि हिड्न थालेको बाटोको पुछारमा आइपुगेर आफू हिँडेको बाटो सिँहावलोकन गर्दा र प्राप्त उपलब्धिलाई एक शब्दमा सिमित गरेर भन्नुपर्दा आत्मविश्वास शब्द मेरो दिमागमा आउँछ। हुनत चार वर्षको अवधिमा धेरै कुरा सुनियो, देखियो, पढियो अनि जानियो पनि तर यी सबै कुराको योगफल गर्दा मलाई लाग्छ चार वर्षअघिको म र चार वर्षपछिको ममा आत्मविश्वासमा ठूलो अन्तर आएको छ। चार वर्षअघिको संसार र अहिलेको संसारमा कुनै ठूलो बदलाव आएको छैन; संसारमा समस्यहरु बढेकै छन् तर अहिले ममा, आइपरेका समस्याहरु लाई सामना गर्नसक्छु, भन्ने आत्मविश्वास प्रबल भएको छ। शिक्षाले मानिसलाई धेरै विषयको जानकारी देला, मानिसलाई समाज सुहाउँदो बन्न सहयोग गर्ला तर शिक्षाको सबैभन्दा ठूलो देन आत्मविश्वासमा आउने वेनतबृद्धि नै हो। किताप पढेर मैले सिकेको कुरा मात्रै लेख्नु पर्‍यो भने १०-१२ पानामै मेरो कलम रोकिन्छ होला तर यो अवधिमा जुन आत्मविश्वास म मा आएको छ त्यसले मलाई जीवनपर्यन्त सहयोग गर्नेछ।
सन् २००७ मा जुलाई महिनाको अन्तिम साता तिर होला, पहिलो पटक काठमाडौं विश्वविद्यालय प्रङ्गणमा टेक्दा मेरो मनले, "आहा! कस्तो सुन्दर वातावरण। यस्तो ठाउँमा बसेर पढ्न पाए मन कहिले थाक्दैन होला" भन्ने सोचेको थियो। चारैतिर पाहाडले घेरीएको, हरियो रङ्गको प्रभुत्त्व जताततै देखिने मनमोहक धुलिखेललाई भूईँ छोएर बगेजस्तो देखिने कुइरो र बादलले झनै मनमोहक बानाए त्यो क्षण साँच्चै आकर्षक थियो। पछिका वर्षहरुमा, आफू पुरानो विद्यार्थी भइसकेपछि, भर्नाका लागि आउने नयाँ विद्यार्थीहरु विश्वविद्यालय र वरपरको मनमोहक वातावरण देखेर लठ्ठीएको देख्दा हामी साथीहरु, "हाम्रो विश्वविद्यालयले साइत हेरेरै भर्नाको लागि समय तोकेको छ यार। यी विद्यार्थीहरु पनि हामीजस्तै वातावरण हेरेरै फस्ने भए; पछि सरहरुले पेलाउन थालेपछि अहिले देखिएको हरियो पनि एकनासे लाग्नेछ यिनीहरुलाई" भनेर ठट्टा गर्थ्यौं। तर, धुलिखेल बस्दै जाँदा थाहा पाएँ - पढाइका लागि वातावरणभन्दा पनि मानसिकता महत्त्वपूर्ण रै'छ - परिक्षा चलिरहेको समयमा जब दिमागमा पढाइ चाप हुन्थ्यो, विश्वविद्यालय प्राङ्गणबाट देखिने मनमोहक हिमश्रृंखला पनि उति चित्ताकर्षक नलाग्ने रहेछ।
काठमाडौंको धूवाँ, धूलो र कोलाहालबाट २८ किलोमिटर पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाका तीन नगरपालिका- बनेपा, धुलिखेल र पनौतीको करिब-करिब बिचमा पर्छ काठमाडौं विश्वविद्यालय। तापक्रमका हिसाबमा काठमाडौंभन्दा चिसो र वातावरणका दृष्टिमा काठमाडौंभन्दा सफा-सुग्घर छ विश्वविद्यालय सेरोफेरो। भौतिक पूर्वाधारमा सुविधा सम्पन्न काठमाडौं विश्वविद्यालय भित्र काठमाडौं उपत्यकाभित्रका स्कुल/कलेजहरुमा पाइने सबै प्रकारका सेवा-सुविधाहरु उपलब्ध छन्। पहिलो पटक विश्वविद्यालयको पुस्तकालय छिर्दा "चार वर्षमा यो पुस्तकालयका सबै पुस्तकहरु पढेर सिध्याउने छु" भन्ने किसिमको जोस आएको थियो। साच्चै नै व्यवस्थित छ पुस्तकालय काठमाडौं विश्वविद्यालयको, मैले देखेको अन्य पुस्तकालयको तुलनामा। यसप्रकार अध्ययनका दृष्टिमा उपयुक्त वातावरण प्रदान गर्दछ काठमाडौं विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई।
तर अभिभावकको दैनिक हेरचाहभन्दा पर हुँदा यहाँका अधिकांश विद्यार्थीहरु धूवाँ तान्ने लतमा पनि परेका छन्। धूवाँ तान्ने सम्बन्धमा, म दश जोड दुई पढ्दाका हाम्रो कलेज कोअर्डिनेटर विक्रम सुवेदीले मलाई, "बाबु त चुरोट खाँदैनस् भने खा तर पढ्नचाहिँ पढ है" भनेको कुरा जहिले पनि यादमा आइरहन्छ। खै, के सहि हो के गलत?
विश्वविद्यालयमा मलाई मनपरेको अर्को राम्रो पक्ष भनेको ड्रेस नहुनै हो। तुलानत्मक रुपमा लपरवाहा प्रवृत्ति हुनाका कारण वा १०-१२ वर्षसम्म निरन्तर यूनिफर्ममा हिडेकाले पनि यस्तो भएको हो जस्तो लाग्छ मलाई। अझ हामी छात्रावासका विद्यार्थीहरु त दैनिक विहान ९:१५ मा सुरु हुने कक्षाका लागि ९ बजे उठेर मुख मात्र धुएर पनि कक्षा गएका दिनहरु प्रशस्त छन्। हतारमा कक्षा कुद्दा कहिलेकाहिँ दुईथरीका चप्पल लगाइनाले गाह्रो पारेको रमाइला क्षणहरुले अहिले पनि खित्खा छुटाउँछ। विद्यार्थीको प्रमुख काम पढ्ने हो र जबसम्म उ पढिरहेको हुन्छ तबसम्म उसलाई सामान्य रुपमा लिइनु काठमाडौं विश्वविद्यालयको राम्रो पक्ष हो जस्तो मलाई लाग्दछ।
कुनै पनि कुराको राम्रो र नराम्रो पक्ष भएझै काठमाडौं विश्वविद्यालयको नराम्रो पक्ष भनेको विश्वविद्यालयमा देखिएको राजनीति र कहिलेकाहिँ साह्रै अनउत्तरदायीजस्तो देखिने विश्वविद्यालय प्रशासन हो। राजनीतिको कुरा गर्नुपर्दा, काठमाडौं विश्वविद्यालय अहिले पनि बन्द छ। विभिन्न माग राखेर, विद्यार्थीको लागि भन्दै, राजनैतिक दलका भ्रातृ संङ्गठनहरुले काठमाडौं विश्वविद्यालयलाई केहि समय यता पटक-पटक बन्द गरिरहेका छन्। दलगत गतिविधि वर्जित गरिएको भए पनि अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) र नेविसङ्घ जस्ता संगठनहरु विश्वविद्यालयमा सक्रिय छन्। हालको समयलाई आधार मान्ने हो भने काठमाडौं विश्वविद्यालयको सबैभन्दा खराब पक्ष भनेको विद्यार्थी राजनीतिका नाममा देखिएको अराजकता नै हो। हो, प्रशासनलाई 'चेक एण्ड ब्यालेन्समा' राख्नुपर्छ तर त्यसको विकल्प स्ववियू वा विद्यार्थी राजनीति हुन सक्दैन।
राजनीतिक दुश्प्रभावबाट तुलनात्मक रुपमा अछुतो र पढाईको गुणस्तर उच्च भएको काठमाडौं विश्वविद्यालयमा राजनीतिले पहुँच पाउनु कदापी राम्रो होइन। देशमा शिक्षित र दक्ष जनशक्ति निर्माणमा योगदान गरिरहेको अग्रणी शिक्षण संस्थामा राजनीतिक घुसपैठले पढाइ नै रोकिनु पर्ने जस्तो अवस्था आउनु निश्चय पनि राम्रो संकेत हैन। यस्ता क्रियाकलाप तत्काल रोकिनुपर्छ।
"पढेको कुरा कहिल्यै खेर जाँदैन" भन्थे ठूलाहरुले। म सधैँ सोच्दथें, "कसरि हुन्छ त्यस्तो? मैले १० वर्ष अघिदेखि नियमित पढेको पत्रिकाहरु, आख्यान र गैर-आख्यानात्मक कृतिहरु; रात-दिन, साँझ-विहान नभनि हेरेको फुटबल, क्रिकेट, टेनिस खेलहरु कहिले काम आउँछ र?"। तर काम लाग्यो। काठमाडौं विश्वविद्यालयमा ब्याचलर इन मिडिया स्टडिज पढ्न थालेपछि जे गरेपनि, जे हेरेपनि पढेजस्तै हुन थाल्यो। मिडिया स्टडिज पढ्नुले मलाई स्वछन्दता दियो- मन लागेको कुरा पढ्न र हेर्न र सुन्न। यति भनिरहँदा, मैले अरु विषयलाई कम आँक्न खोजेको पक्कै हैन तर मेरो आफ्नो स्वभाव अनुसार विज्ञानभन्दा मानविकि मलाई सजिलो भएको पक्का पनि हो।
शिक्षाले मानिसको जीवन अप्ठ्यारो हैन सजिलो बनाउनुपर्छ र अध्ययन रमाइलो हुनुपर्छ जस्तो लाग्ने मलाई दश जोड दुईमा पढेको विज्ञान विषयले खासै तान्न सकेन। त्रिचन्द्रमा बिएस्सीमा भर्ना भएर पनि मैले विज्ञानलाई निरन्तरता दिन सकिन। फेरी मजस्तो जीवनभर झोला बोकेर, सरको धम्की र करकापमा परेर पढ्ने बानी लागेकालाई कपी मात्र बोकेर, गए-पनि-हुने-नगए-पनि-हुने पढाई, रमाइलो गर्न दिक्क लाग्न थालेपछि त्यति उपयोगी नहुने रै'छ। त्यसैले झोला बोकेर 'होमवर्क' गर्ने, शिक्षको सानिध्यमा बसेर पढ्ने र नियमित कक्षामा उपस्थित हुने लोभमा म काठमाडौं विश्ववद्यालयमा भर्ना भएको हुँ।
चार वर्षपछि आफूले हिडेको र केहि अर्थमा बनाएको बाटो हेर्दा मलाई लाग्छ मैले सहि विषय र सहि विश्वविद्यालय नै रोजेछु। नेपालका अरु विश्वविद्यालय पनि राम्रै होलान तर चार बर्षको सम्बन्धका कारण मलाई काठमाडौं विश्वविद्यालय नै प्यारो छ।

1 comment:

Aakar said...

सबैभन्दा ठूलो उपलब्धि यही नै हो जस्तो लाग'छ " चार वर्षअघिको म र चार वर्षपछिको ममा आत्मविश्वासमा ठूलो अन्तर आएको छ।"