Monday, May 15, 2017

गीतसँग हुर्कँदा

मान्छे गीतको नजीक किन जान्छ? आमाबावु, आफन्त, इष्टमित्रले के दिन सक्दैन ? र मान्छेले गीतसँग नजिकिनुपर्छ। मार्टिन चौतारीमा आयोजित एक कार्यक्रममा फैज अहमद फैजका कविताहरुका बारेमा बताउँदै गर्दा, मान्छेले कविता किन पढ्छन् त? भन्ने प्रश्नको उत्तर दिँदा विश्लेषक सीके लालले भनेका थिए- जब मानिसले सबै खाले भौतिकताबाट थाकेर पनि आफूमा भएको खालीपन यथावत पाउँछ तब उ आफ्नो आत्माको लागि कविता पढ्छ। सायद, गीतको सबालमा पनि यहि कुरा लागु हुन्छ।
मेरो जीवनमा गीत कहिले आएर मिसियो? वा यसौ भनौं- गीतको प्रवाहमा मेरो जीवन कहिले गएर मिसियो? मलाई यकिन थाहा छैन।
अड्कल गर्छु…….
अँपक्का पनि नेपाल टेलिभिजनको शनिबारे हिन्दी फिल्ममा हिरो-हिरोइन फूलबारीमा नाच्दा मेरो गीतसँग परिचय भएको हुनुपर्छ। 'अम्रिसपुरी' (हिरोइनको बाउ) बाट लुकेर, हिरो-हिरोइन पाहाडतिर गीत गाएर नाच्दा, सायद म पनि कैयौंपटक खुसी भएँ हुँला! गीतले मेरो जीवनमा यस्तै कुनै समयमा पहिलो पाईला हाल्यो।
गीततिरको मेरो मोह देशभक्ति, मातृभक्ति, साथीत्त्वभन्दा पहिला मनमा पलाउन थालेको विपरित लिङ्गिप्रतिको आकर्षणबाट सुरुभएको हो। प्रेमका गीत सुनेरै मेरो गीत प्रतिको लगाब बढेको हो। यस अर्थमा ९-१० वर्षको उमेरमा होला मलाई गीतले आकर्षित गर्न थालेको। जीवनमा शरीरिक र मानसिक रुपमा परिर्वतन आइरहेको त्यस बेलामा गीत सुन्दा यस्तो लाग्थ्यो, अरु कोहि छ जसले मेरोजस्तै भावन राख्छ; अरु कोहि छ जो मजस्तै परिवर्तनबाट गुज्रिरहेको छ। अरुको कोहि छ जसलाई यो संसार हेरेर मलाईजस्तै महसुस हुन्छ।
स्कुलमा साथीहरुसँग अन्ताक्षरी खेल्दा आफूलाई मनपरेकी केटीको अघाडि गीत गाउन नसक्दा नरमाँइलो लाग्थ्यो, मलाई। सायद यतै कतै हुनुपर्छ गीत सुनेर मात्र हुँदैन, याद गर्न र गाउन पनि जान्नुपर्छ भन्ने अभिलाषा ममा उत्पन्न भएको!
यसबिच मनपर्ने केटीहरुको थर फेरिँदै गए! स्वभाविक रुपमा मिलनका भन्दा विछोडका गीतले प्राथमिकता पाउन थाले। नारायणगोपाल, अरुण थापा, दिप श्रेष्ठका गीतहरुले आफ्नै कथा गाएजस्तो लाग्थ्यो।
गीत सुन्न थाल्दाको सरुवाती समयमा गीतको स्वर र सङ्गितमा मात्र ध्यान हुन्थ्यो। कहि गरि आफूलाई परेको बेला (अन्ताक्षरी)मा गीतको उपयोग गर्न सकिन्छ कि? भन्ने लोभ नै प्रमुख थियो। तर, समय बित्दै जाँदा जब गीतमा शब्दको अर्थलाई बुझ्न थालें अनि पो मैले थाहा पाएँ- अरुलाई खुसी पार्न याद गरेका गीतहरु त आफ्नै छाती चर्किँदा काम लाग्ने ओखती पो रहेछन्। जीवनको अहिलेको अवस्थासम्म आइपुग्दा मलाई लाग्छ म सीके लालले झै आत्मको लागि गीत सुनिरहेको छु। यसबिच म भौतिकताबाट अघाएँकि अघाइन मलाई थाहा छैन तर मेरो आत्मा साह्रै भोकाएछ।
वरिपरि अध्याँरो छ, आँखा खोली हेर्दा
अध्याँरो नै देखिन्छ नि, आँखा चिम्ली हेर्दा।
आफ्नै छायाँ आफैँसँग, भागी हिड्न थाल्यो
आफ्नै मायाँ आफैँलाई, बोझ लाग्न थाल्यो॥
नीर शाहले कुन अवस्थामा लेखे होलान् यो गीत?, नारायणगोपालले खै कुन स्थीतिमा यो गीत गाए? मलाई थाहा छैन। यो मात्र थाहा छ- मेरो भोगाइ पनि समेट्न सकेको छ यो गीतले।
आफैसँग रिस उठ्दा होस या अरु कोहिसँग, आफ्नै माया लाग्दा होस् वा अरु कसैको; म गीतको फेरो पकडेर घण्टौं उडिरहन सक्छु। पीडामा मलाई गीतले धेरै छोएका छन्। खुसीमा मसँग धेरै कुरा हुन्छन् ध्यान तान्नलाई तर पीडामा एक्लै भएर गीतको साथमा हराउँदा मैले प्रत्येक पटक गीतको नयाँ अर्थ पाएको छु।
हजार सपनाहरुको माया लागेर आउँछ
……………………………………………………...
मैले बाँचेको परिवेश, सानो त्यति थिएन
परदेशीजस्तो कोहि, एक्लो पनि थिएन।
अल्झें कहिँ त के भो, बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरी भएर आउँछ॥
यस्ता कैयौन गीत छन् जसलाई मैले जीवनमा आइपर्ने हरेक अवस्थाका लागि तयारी अवस्थामा राखेको छु। जीवनमा जे-जस्तो भएपनि म गीतको शब्दलाई जाहज बनाएर उडिहाल्छु र फर्कन्छु हलुका मन लिएर।

No comments: