नयनराज पाण्डे कृत 'उलार' मध्यपश्चिमको आर्थिक र राजनीतिक गतिविधिको प्रमुख केन्द्र नेपालगन्जका सीमान्त तहका जनताको संघर्ष र मानवीय संवेदनाको कथा हो। २०४६ सालको पञ्चायत विरुद्धको जनआन्दोलनले ल्याएको प्रजातन्त्रको पृष्ठभूमिमा यो उपन्यास लेखिएको छ। प्रजातन्त्र आएपछि विकास हुन्छ, समानता हुन्छ, अवसर हुन्छ, सुख हुन्छ, शान्ति हुन्छ, आनन्द हुन्छ भनेर सपना देखाइएका गरीब जनताले एक दशकपछि पनि प्रजातन्त्रका पहरेदार नेताहरुबाटै ठगिएको र थिचोमिचो सहनु परेको यथार्थलाई उलारमा नयनराज पाण्डेले कलात्मक चित्रण गरेका छन्।
२०५५ सालमा प्रकाशित गरिएको 'उलार'ले नेपालमा त्यसबेलाको सामाजिक, आर्थिक र राजनैतिक अवस्थाको प्रतिनिधित्त्व र यीनिहरु बिचको सम्बन्धलाई सामान्य घटनहरुको दृश्टान्तबाटै व्याख्या गरेको छ। राजनीति फोहोरी हुँदा समाजमा पर्ने असरहरको चित्रण पनि हो 'उलार'। कुनै व्यवस्था आफैंमा राम्रो-नराम्रो हुँदैन, व्यवस्था चलाउने मान्छेमा नै व्यवस्थाको रङ्ग, रुप र प्रकृति निर्भर गर्दछ भन्ने यस उपन्यास मूल सन्देश हो।
उपन्यास पठन अवधिभर प्रेमललवा, द्रौपदी र कलुवाको एउटा ठुलो वर्ग राजेन्द्रराज र शान्तिराजहरुको तलुवामुनि कष्टपूर्वक बाँचिरहेको सहरमा पुग्न सकिन्छ। नेपालका प्रजातन्त्रवादी नेताहरुको चरित्र वसन्तीको मृत्युपछि राजेन्द्रराजको चिठ्ठी लिएर शान्तिराजको दरबार पुगेको प्रेमललवालाई 'भोलि आइज' को जवाफ दिएर त्यो भोलि कहिल्यै नआएको घटनाले प्रष्ट पारेको छ।
द्रौपदीमार्फत पाण्डेले प्रजातन्त्रमा पनि नेपाली महिलाहरुले बाध्ये भएर देह बेच्नुपरेको यथार्थ अघि सारेका छन्। साथै नेपाली समाजमा रहेको छुवाछुत प्रथाको ढोङ्गलाई नाङ्गै पार्न पनि द्रौपदी पात्र सफल भएकी छ। द्रौपदीलाई परिचय प्रदान गर्ने क्रममा कथाको एक ठाउँमा यस्तो वर्णन गरिएको छ- "कहिलेकाहीँ उसलाई (द्रौपदी) आफ्नी छोरीको अनुहार असई कृष्णबहादुरको जस्तो लाग्छ। कहिले असई जगतमानको जस्तो लाग्छ। कहिले भूतपूर्व प्रधानपञ्च हर्कमानको जस्तो लाग्छ। कहिले बहराइचको कबडिया असलमको जस्तो लाग्छ।"
'उलार'का पात्रहरु नेपालगञ्जको स्थानीय भाषा बोल्छन् प्रचलित अंग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाएर। कथाभित्र कहिँकहिँ संवादलाई पात्र सुहाउँदो र जीवन्त बनाउन अश्लील वाक्यहरु पनि प्रयोग भएका छन्। "दरौपदी, तँलाई अरुसँग सुत्दा कस्तो लाग्छ?", "साला, रँडुवा ! एउटी मेहारु ल्याउन नसक्नेले मलाई भुत्राको हात हाल्छस्?" जस्ता वाक्यहरु सन्दर्भबिना घिनलाग्दा जस्ता सुनिने भए पनि यिनले उपन्यासलाई अश्लील बनाएका छैनन्।
श्यामलले उपन्यासको पूर्वपीठ लेख्ने क्रममा भनेका यि वाक्यहरुलाई समग्रमा उपन्यासको सारका रुपमा लिन्छ सकिन्छ।- "'उलार' भनेको असन्तुलन हो। सन्तुलन बिग्र्यो भने टाँगा 'उलार' हुन्छ।…..उहिलेका सामन्तहरुले सञ्चालन गरेको अहिलेको 'नेपाली प्रजातन्त्र' जनतामाथि उलार हुने गरी सवार हुन्छ। र हामी, प्रेमललवा र वसन्ती यसै गरी मर्छौं। ढाडबाट 'मवाद' निस्किरहेकी असमर्थ र अशक्त वसन्ती नै हुनुपर्छ हाम्रा राष्ट्रगानहरुकी नेपाल आमा!"
'उलार'मा ठूल-ठूला आदर्शभन्दा सामान्य सत्यलाई कथाको बिषयवस्तु बनाइएको छ। पहिलो जनआन्दोलनको पृष्ठभूमिमा लेखिएको भए पनि 'उलार'ले आज दोस्रो जनआन्दोलनपछि बितेका ५ वर्षको समयलाई पनि सटीकरुपमा प्रतिबिम्बित गर्नसक्नु यसको विशेषता हो। अर्को कुरा, उपन्यास भनेको ठुलो र क्लीष्ट हुन्छन् भन्ने पारम्परीक सोचलाई तोड्दै (भूमिका र समर्पणसमेत जम्मा ८० पृष्ठको लघु उपन्यास हो 'उलार') सामान्य र सरल भाषाको प्रयोगले पनि पाठकलाई विषयप्रति आकर्षित गरेर साहित्यिक सन्तुष्टी दिन सकिन्छ भन्ने उदाहरण पेश गर्न यो उपन्यास सफल छ।
उलारको कथा
कथामा प्रेमललवा, द्रौपदी, कलुवाले सीमान्तकृत जनताको प्रतिनिधिपात्रको भूमिका निर्वाहा गरेका छन्। शान्तिराज, राजेन्द्रराज, शिलाबाबु र ननकउ जनआन्दोलनपछिका राजनीतिक पात्रहरु हुन्।
आमाबुवा नभएको प्रेमललवा राजेन्द्रराजको रेखदेखमा हुर्कियो। ऊ टाङ्गा चलाउँछ। शहरछेउको आफ्नो पुर्ख्यौली जग्गा राजेन्द्रराजमार्फत शिलाबाबुलाई ३० हजारमा बेचेर उसले टाङ्गा चलाउन थालेको हो। ३० हजारमा घोडी बाहेक प्रेमललवाले गाउँमा आधा कठ्ठा जग्गा पनि किनेको छ; जहाँ अहिले उसको घर छ। राजेन्द्रराजले आफूलाई गरेको उपकारहरुको बदला प्रेमललवा राजेन्द्रराजको परिवारलाई मुफ्तमा टाङ्गा पनि चढाउँछ।
द्रौपदी वादी महिला हो। देह-व्यापार उसको व्यवसाय। द्रौपदीमार्फत पाण्डेले प्रजातन्त्रमा पनि नेपाली महिलाहरुले बाध्ये भएर देह बेच्नुपरेको यथार्थ अघि सारेका छन्। वादी महिलाहरुको देह-व्यापार भन्दा पनि द्रौपदी पात्रले नेपाली समाजमा रहेको छुवाछुतको ढोङ्गलाई नाङ्गै पारेको छ। द्रौपदीलाई परिचय प्रदान गर्ने क्रममा कथाको एक ठाउँमा यस्तो वर्णन गरिएको छ- "कहिलेकाहीँ उसलाई (द्रौपदी) आफ्नी छोरीको अनुहार असई कृष्णबहादुरको जस्तो लाग्छ। कहिले असई जगतमानको जस्तो लाग्छ। कहिले भूतपूर्व प्रधानपञ्च हर्कमानको जस्तो लाग्छ। कहिले बहराइचको कबडिया असलमको जस्तो लाग्छ।"
देहव्यापार नै गर्ने भए पनि प्रेमललवा द्रौपदीलाई चाहान्छ। उनीहरु बीच प्रेमको भावना पनि छ। कलुवा कथाको सहयोगी पात्र जस्तो भएर आउँछ। प्रेमललवा र कलुवा साथी हुन्। त्यहिभएर कलुवा द्रौपदी काहाँ रात बिताउन नगएर सावित्रिकोमा जान्छ।
कथा सुरुहुँदा राजेन्द्रराजलाई शान्तिराजले संसदीय निर्वाचनमा हराएकोमा प्रेमललवा राजेन्द्रराजभन्दा बढी दु:खी छ भन्ने देखाइएको छ। राजेन्द्रराजलाई प्रेमललवा गरिबहरुको सहयोगी र आफ्नो सर्वेसर्व मान्छ। त्यहि भएर "राजेन्द्रराजले शान्तिराजसँग ५ लाख नगद लिएर आफ्नो अधिकांश मत शान्तिराजलाई हाल्न लगाएको" भन्ने कुरालाई हल्ला मात्र सम्झन्छ। उसलाई त राजेन्द्रराजले आफ्नो जग्गा १ लाखमा बेचेर तीस हजार मात्र दिएको हल्ला पनि सत्य हो जस्तो लाग्दैन। राजेन्द्रराजलाई केवल विश्वास गर्छ उ, मात्र विश्वास।
राजेन्द्रराजको परिवारलाई मफतमा टाङ्गा चढाउनु अलावा जीविकोपार्जनको लागि पनि प्रेमललवाले टाङ्गाकै भरपर्नु पर्छ। जनताले बाँच्नका लागि मात्र पनि दिनभर पसिना चुहाउनु पर्ने वाध्यता उपन्यासमा देखाइएको छ।
जीवनका लागि टाङ्गा चलाउनुपर्ने वाध्यताले नै प्रेमललवा शान्तिराजको विजय जुलुसमा टाङ्गा लिएर जान्छ। ननकाउको वाचा अनुसार उसलाई १०० रुपैयाँ दिइने छ। तर कम्जोर घोडी (वसन्ती) टाङ्गा तान्दा-तान्दै थलिन्छे अनि मर्छे। ओभरलोड भएर। मरेकी वसन्तीलाई पूर्वपीठ लेख्दा श्यामलले नेपाल आमासँग यसरी तुलना गरेका छन्- "'उलार' भनेको असन्तुलन हो। सन्तुलन बिग्र्यो भने टाँगा 'उलार' हुन्छ।…..उहिलेका सामन्तहरुले सञ्चालन गरेको अहिलेको 'नेपाली प्रजातन्त्र' जनतामाथि उलार हुने गरी सवार हुन्छ। र हामी, प्रेमललवा र वसन्ती यसै गरी मर्छौं। ढाडबाट 'मवाद' निस्किरहेकी असमर्थ र अशक्त वसन्ती नै हुनुपर्छ हाम्रा राष्ट्रगानहरुकी नेपाल आमा!"
वसन्तीको मृत्युपछि प्रेमललवाको जीवनाधार रहँदैन। उ राजेन्द्रराजमार्फत शान्तिराज कहाँ गुहार माग्न जान्छ। घोडी शान्तिराजको जुलुसमा मरेको र शान्तिराज मन्त्री हुनेभएकाले प्रेमललवामा पनि घोडीको मुल्य पाइन्छ भन्ने आशा छ। शान्तिराजले "विचार गरौंला" भनेर काठमाडौं बोलाएको हुँदा प्रेमललवा द्रौपदीले दिएको कानको गहना, आफूसँग भएको अलिकति पैसा र कलुवाले स्वास्नीसँग अनि कलुवाकी स्वास्नीले कलुवासँग लुकाएर दिएको ५०-५० रुपैयाँ लिएर काठमाडौं झर्छ।
काठमाडौंमा प्रेमललवाले शान्तिराजलाई भेट्टाउनै सक्दैन। बालुवाटार, सिंहदरबार, पार्टी कार्यालय कहिँ पनि शान्तिराज भेटिँदैन। त्यसमाथि 'तिम्रो कथामा दम छ' भन्दै एउटा ठग कथाकारले प्रेमललवाको ८० रुपैयाँ पनि खाइदिन्छ र अन्तत: पूर्ण पराजित प्रेमललवा गाउँ फर्कन्छ।
फेरी पनि राजेन्द्रबाबुमार्फत शिलाबाबुलाई आफ्नो गाउँको जग्गा बेच्छ। यो पटक भने राजेन्द्रबाबुले साँचो बोल्छन्, "हेर प्रेमललवा, कुरा भन्या सफा, माथि पार्टीबाट नब्बे हजार आएको छ। कागज नब्बेकै बन्छ। तीस तँलाई, तीस मलाई र तीस शिलाबाबुलाई।"
जे-जस्तो भए पनि प्रेमललवा चुपचाप रहन्छ। तर मनमा भने प्रेमललवाले निश्चय गर्छ- "अबदेखि उसले राजेन्द्रराज र उसको परिवारलाई मफतमा टाँगामा बसाउने छैन र शान्तिराजाजस्ताको बोझलाई- ओभरलोडलाई- टाँगामा स्वीकार्ने छैन।"
यसपश्चात प्रेमललवाले पहिलाको ठाउँभन्दा अझभित्र आधा कठ्ठा जमिन किन्छ, बाँकि भएको पैसाले टाङ्गा र घोडा किन्छ अनि द्रौपदीको आगनमा गएर "अलिकति माया, अलिकति अधिकार र अलिकति आग्रहसहित प्रेमललवा जोडले कराउँछ- दरौपदी।" कथा समाप्त।
यसरी प्रेमललवाको विद्रोहमा गएर कथा सकिन्छ, यसपछिका घटनाक्रमहरुको प्रश्न पाठकलाई नै छोडेर।
No comments:
Post a Comment