Wednesday, April 11, 2012

मेरो प्रिय साथी

हुनतः “बोल्नेले गर्दैन र गर्नेले बोल्दैन” भनिन्छ तर पनि आज आफ्नो प्रिय साथीलाई सम्झेर केहि ‘बोल्न’ मनलागेकाले यो टिपोट बनाउँदैछु। यो टिपोट लेखेर म ‘बोल्नेमात्र’को कित्तामा पर्छु जस्तो त लाग्दैन तर पनि ‘बोल्ने’हरुले केहि नगरेको छरपष्ट ऊदाहरण देख्दा, मलाई पनि डर भने लागेको छः कतै धेरै बोलेर म पनि ‘केहि नगर्ने’हरुकै बाटोमा पो लाग्छु कि? बोल्नु र नबोल्नुको दोधारका बिच, “कहिलेकाहिँ नबोली पनि हुँदैन” जस्तो लागेकाले, बोल्नुपर्छ भन्ने निर्क्योलमा पुगेको छु। नबोलीकन कसरी म मरो प्रिय साथीलाई, उसले मेरो जीवन ल्याएका अनगिन्ती सुखीका क्षणका लागि अहोभाव प्रकट गरुँ? नबोलीकन कसरी म मेरो प्रिय साथीलाई, उसले मेरो जीवनमा ल्याएर भरिदिएका राम्रा बानीहरुका लागि उसलाई धन्यवाद दिऊँ। नबोलीकन कसरी म मेरो प्रिय साथीलाई, उसले भोग्दै गरेको जीवनको सबैभन्दा ठूलो दुःखमा “म पनि तेरो साथमा छु” भनेर उसलाई ढाडसमात्र भए पनि दिऊँ। होला, असल मित्रतामा ‘धन्यवाद’ भनिरहनुको अर्थ छैन तर यो संसार जहाँ मानिसको ओठमा ‘धन्यवाद’, ‘सरी’जस्ता शब्दहरु ‘प्रोग्राम’ गरेर राखिएका छन् र फोकटमा प्रयोग गरिन्छन्, त्यहाँ यस्ता असल शब्दहरुको अस्तित्तवको लागि भए पनि मैले बोल्नु छ।

No comments: