Friday, February 24, 2012

एब्स्ट्रयाक्ट चिन्तन

अरुको लागि राम्रो लेख्छु, सबैले मनपराउने गरि लेख्छु, सबैको मन छुने गरि लेख्छु, सबैको वहावाही पाउने गरि लेख्छु भन्दा-भन्दै आफ्नै लागि लेख्न छुटाएछु। राम्रो मात्र लेख्छु भन्ने धुनमा लेख्नै छाडेछु। राम्रो काम मात्र गर्छु भन्ने धुनमा काम गर्नै छाडिएछ। "राम्रो, सफा, आरामदायी, उज्जयालो कोठामा पढेको राम्रो हो" भन्ने धुनमा पढ्नै बन्द होलाजस्तो भइसकेको छ। 'राम्रो'को पर्खाइमा निष्कृय भएको अवस्था हो, अहिलेको।

हराएको छु म कतै, अहिले। बिराएको छु बाटो, मैले। त्यो पनि जानाजान। कुन बाटो राम्रो हो, कुन बाटोले कता लैजान्छ, कुन बाटोले कतै पुर्‍याउँदैन भन्ने कुरा सैद्धान्तिक रुपमै भए पनि राम्रो थाहा छ मलाई। तर पनि यो संसार यस्तो मायावी छ कि, बाहिर निक्लनै दिँदैन। यसो भनौं, बाहिर निक्लनै सकिँदैन। अझ, बाहिर निक्लनै मनै लाग्दैन, भन्दा सत्यको झन नजिक होला जस्तो लाग्यो। शङ्कराचार्यले 'ब्रम्ह सत्य, जगत मिथ्या' त्यसै भनेका हैनन् । तर पनि यत्रो जगतलाई 'मिथ्या' भन्न सक्ने मानसिक र शारीरिक अवस्था छैन मेरो। मानिसहरु बिचमा हुने यति धेरै सम्बन्धलाई कसरी मिथ्या मान्नु मैले? सायद जगतलाई मोक्षको सापेक्ष्यता मिथ्या भनिएको होला।

संसार यति धेरै परिवर्तनशिल छ कि मानिसको 'सबै कुरा आफ्नो काबुमा राख्ने' चाहन कहिले पुरा हुन सक्दैन; जो दु:खको प्रमूख र सायद एक मात्र कारण होला। यो संसार परिर्वतनशील छ, केहि कुरा पनि आफ्नु काबुमा राख्न खोज्नु बेकार हो। मानिस दु:ख वा सुख उभित्रै हुन्छ, मनिस अरुको कारणले हैन आफ्नै कारणले दु:खी हुन्छ भन्ने कुरा जति सक्दो चाँडो मान्नु ठिक हो, जस्तो लाग्छ मलाई। मेरो दुख्खको कारण के हो त उसो भए? मलाई लाग्छ, सबै कुरा आफूँ अनुसार परिवर्तन हुनुपर्छ भन्ने मेरो सोचाइ, सुखलाई बाहिर खोज्ने मेरो प्रवृत्ति र फलको आशाले मात्र काम गराउने मेरो मानसिक अवस्था मेरो दु:खको प्रमुख कारण हुन्। सायद मेरो मात्र हैन, संसारका सबै जीवको दु:खको प्रमूख कारण पनि यिनै हुन्।

सैद्धान्तिक ज्ञानले मात्र नहुने रै'छ। भोगाइ साह्रै महत्त्वपूर्ण हो जस्तो छ। भोगाइमा पनि आफूँलाई मन नपर्ने भोगाई सबैभन्दा उपयोगी हो, यसले हामीलाई हरेक पल मानसिक रुपमा बलियो बनाइरहेको हुन्छ। दुख्ख पाउनु साह्रै महत्त्वपूर्ण रै'छ। बाटो बिराउनु पनि महत्त्वपूर्ण हो जस्तो लाग्छ अहिले मलाई- तर बाटो बिराउनुको पनि हद त हुन्छ नै। दुख्खले मानिसलाई निखार्दो रहेछ। दुख्खले नै मानिसलाई अरु मानिसका प्रति पनि संवेदनशिल बनाउँदो रै'छ। विशेश्वरप्रसाद कोइरालाले आफ्नो किताब 'जेल जर्नल' मा कतै लेखेका छन्, "आफूले जेलमा दु:ख पाएकाले नै होला, सायद, मलाई जेलमा काम गर्ने अरु सामान्य कामदारको पीडाले छुन सकेको। दु:ख यस्तो हुन्छ भन्ने थाहा पाएरै होला मलाई अरुले पनि आफूले जस्तै दु:ख नपाओस भन्ने लाग्छ। सायद चरम सुख्खको अवस्थामा पनि मानिसलाई यस्तै हुन्छ"। "केमोथरापी त शत्रुले पनि गर्नु नपरोस" भन्ने, क्यान्सरले थलिएका, विशेश्वरप्रसादको भनाइले पनि मानिसका लागि दु:खानुभूति कति महत्त्वपूर्ण छ भन्ने कुराको पुष्टी गर्छ। माहाकवि लक्ष्मीप्रसाद देवकोटाको उद्वगार, "हे ईश्वर, दुखीको घरमा मात्र तेरो बास हुने भए कृपया मलाई पनि सँधै दुखी बनाइराख" पनि यो संदर्भमा महत्त्वपूर्ण हो जस्तो लाग्छ मलाई। जग्दीश घिमरेले अन्तरमनको यात्रामा लेखेझैं, लक्ष्मीप्रसादले राम्रोसँग बुझेका थिए, 'चोट नपाइ मानिस मानिस हुँदैन, लेखक त झन हुँदैहुदैन'।

यहाँनेर अलिकति लोभको कुरा पनि थपिहालौं जस्तो लागेको छ। आफ्नै देशको उदाहरण शायद सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नेपालमा अहिले संविधानसभाले संविधान बनाउन नसकेको अवस्था छ। प्रमूख तीन दल, काङ्ग्रेस, माओवादी र एमाले, को सहमतिको सरकार बाहेक केहिले पनि निकाश दिनसक्ने अवस्था छैन। सायद यहि कुरालाई मनन् गरी माओवादीका वा नेपालकै भने पनि हुन्छ, बाबुराम भट्टराईले केहि दिन अघिमात्र 'आफूले सहमतिको सरकारको मात्र नेतृत्त्व गर्ने' उद्घोश गरेका थिए। तर सायद ५ दिन पनि नबित्दै उनले 'आफूनै बहुमतिय सरकारको पनि नेतृत्त्वकर्ता हुने' बताए। लोभले केसम्म गर्नसक्छ भन्ने उदाहरण हो यो। यस्तो लोभको सिकार नेपाली राजनीतिमा बद्रीप्रसाद मण्डल, तुलसी गरी, विश्वबन्धु थापा, गरिजाप्रासाद कोइराला, माधवकुमार नेपाल, झलनाथ खनाल सबै भएका छन्।

जीवन कसरि जिउने हो?, भन्ने प्रश्नको उत्तरले जीवनलाई सरल बनाउन सहयोग गर्छ। जसलाई मानसिक सुखको चाहना छ, उ लामो तर सुख प्राप्त गर्नसकिने बाटोमा संयमका साथ अगाडि आउन जरुरी छ। जसलाई आरामदायी जीवनको भोग गर्नु छ उसले जता गएपनि सफलता नै पाउँछ, मनको शान्तिबाहेक।

कुन बाटो हिड्ने हो?, त्यो बाटोहिड्नेको मर्जी हो।

२०६८-०४-३२ (बुधवार)

(०७:४९, बिहान, लोकनथली)

अमोल

No comments: