Wednesday, November 23, 2011

फेडेरर, टेनिस र म

सर्वीयाका डोकोभिचले रोजर फेडेररलाई अस्ट्रेलियन ओपन सेमिफाइनलमा तीन सेटमै हराउने वित्तिकै लेख्न बसेको छु। म जातले फेडेररको फ्यान हुँ- २००३ देखि हो फेडेररले ग्रयाण्डस्ल्याम जित्न थालेको। पहिलो ग्रयाण्डस्ल्याममा उनले त्यतिखेरका सर्वाकालिन महान खेलाडी पिट साम्प्रासलाई विमवल्डनमा हराएका थिए। मैले फेडेररलाई हेर्न थालेको २००५ सुरुवातदेखि हो।

त्यतिखेर फेडेरर आफ्नो खेलको उच्चतम विन्दुमा थिए। विश्वभरमा उनलाई लङ्ग टेनिसमा टक्कर दिनसक्ने कोहि थिएन त्यतिखेर। फेडेररको दिन-दुईगुना-रात-चौगुना बढिरहेका फ्यानहरुमा म, कुमार शर्माका कारणले मिसिएको हुँ। उनलाई यहिँनेर धन्यावाद एउटा ठूलो पोको भिराउन चाहान्छु। फेडेररको फ्यान हुँनुमा टेनिस खेलको नियम बुझ्ने उत्कट अभिलाषा पनि एक थियो- त्यतिखेर टेनिसमा अमेरिकी दिदी-बहिनि सेरेना र भेनस विलियम्सको धेरै चर्चा हुन्थ्यो। नेपाल टेलिभिजनको समाचारले पनि टेनिसबारे समाचार दिन्थ्यो- यसले उसलाई यति सेटले जित्यो….यसले खै-कतिकतिले उसलाई हरायो। यस्तै फलाक्थ्यो नेपाल टेलिभिजन!

काठमाडौं आएपछि कुमारसँग एउटै होष्टलमा बस्ने मौका मिल्यो र मिल्यो टेनिसको नियम जान्ने अवसर। मैले माथि भनिसकें त्यो फेडेररको शासनकाल थियो। फेडेररकै एउटा खेल हेर्ने क्रममा मैले टेनिसका नियमहरु सिकें। मेरो सम्झनामा अझै छ त्यो दिन। खेलको नियम जानिसकेपछि मलाई धेरै खुसी अनुभव भएको थियो। कुनै कुराको रहस्य थाहापाउनु कति धेरै आन्नददायक हुन्छ है?

२००५ पछि म निरन्तर फेडेररसँगै रहें। उसको जितमा रमाउनु, उसको हारमा दु:खी हुनु मेरो पनि स्वभाव बन्यो। २००८ फेडेररले आफ्नो जीवनको पहिलो फ्रेन्च ओपन जित्दा र २००९ मा १५औं ग्रयान्डस्ल्याम जितेर पिट साम्प्रासको विश्व रेकर्ड उछिन्दा म पनि रमाउनेहरु मध्य एक थिएँ।

तर अब फेडेररको शासनकालको अवधि सकिएजस्तो छ। उनी २९ वर्षका भइसकेछन्। २३ वर्षे डोकोभिचले आज उनलाई हराउँदा उनी थाकेका जस्ता देखिन्थे। उनमा पहिलेको जस्तो 'एस' हान्नसक्ने क्षमता पनि रहेन अब। आफ्नो खेल जीवनको ओह्रालो बाटोमा उनी छन् भन्ने कुरा उनलाई हेरिरहेका जो-कोहिले पनि थाहा पाउनसक्छ।

केहि पनि स्थाइ छैन भन्ने कुराको प्रमाण पनि त हुन् फेडेरर। सबै कुराको उपयुक्त समय आउँछ र समयको आवश्यकता र महत्त्वलाई बुझेर नै जीवन बाँच्नुपर्छ भन्ने उदाहरण पनि हुन् उनी। टेनिसले देखेको सर्वकालीन महान खेलाडी हुनु चानचुने कुरा थिएन। तर फेडेररले आफ्नो सपना बाँचेका छन्। उनलाई बधाइ दिन चाहान्छु म।

फेडेररप्रति म आकर्षित हुनुमा उनकि त्यतिखेरकी गर्लफ्रेन्ड पनि हुन्। उनीहरुको जोडी केटा-केटी देखिकै हो भन्ने कुराले मलाई उनीहरुका प्रति सम्मान जाग्थ्यो। जोडिहरु जति समय लागेर बन्छन् त्योभन्दा कम समयमा टुटेको देखेको, धेरै अर्थमा भोगेको पनि, मैले उनीजस्ता समर्पित प्रेमिहरुलाई सम्मान गर्नु स्वभाविक पनि त हो। दुईबर्ष जति अघि उनीहरुको विवहा भयो र अहिले उनीहरुको जुम्ल्याहा छोरीहरु छन्। खेल जीवनमा ओह्रालो लागे पनि फेडेरर पारिवारीक जीवनमा उकालो लाग्दै छन्। सफलता उनको जीवनका कुनै न कुनै माध्यमबाट रहिरहोस। उनलाई मेरो शुभकामना।

२०११.०१.२७ (पेप्सीकोला)

1 comment:

rajankathet said...

म पनि एकताका फेडेररको ठूलै समर्थक भएको हुँ । डोकोभिच जसरी कोर्टमा भलाद्मी र अनुशासित भएर प्रस्तुत हुन्छन् उनको इमान्दारिता र लगावले उनलाई दिलाएको जितमा नि म दुखी बनेको छैन । फेडेरर पछिका टेनिसका बादशाह डोकोभिच नै बनुन् भन्ने मेरो कामना छ ।