Friday, November 18, 2011

आचार्य- सबै बाटो बन्द भएपछि जीवनको बाटो सुरु हुन्छ

यो टिपोट चलचित्र 'आचार्य'को समिक्षा हैन। वास्तवमा भन्ने हो भने म चलचित्रको समिक्षा गर्न जान्दछु जस्तो पनि लाग्दैन। मेरो स्वाभाव नै यस्तो छ कि म पात्रलाई धेरै महत्त्व दिन्छु र भावनात्मक हिसाबले नै केहि कुरामा संलग्न हुन्छु। भावनात्मकता कुनै पनि समिक्षकको लागि घातक मानिन्छ। त्यसैले यहाँ पनि मैले 'आचार्य'को समिक्षा नगरेर आफ्नो मनका भावना लेख्दैछु; 'आचार्य' हेरिसकेपछिको मेरो चेतनाको प्रकाशमा।

प्रशान्त रसाइलीले, साच्चै, चलचित्र हैन जीवन नै बनाएका रै'छन, भक्तराज आचार्यको। प्रशान्तभन्दा पनि बढी यो चलचित्र बन्नुमा यसका निर्मातालाई बढी जस दिनुपर्छ होला सायद। पैसा उठ्ने-नउठ्ने केहि निश्चित नभएको विषयबस्तुमा २ करोड लगानी गर्नु वास्तवमै त्याग र भक्तिबाट मात्र सम्भव हुन्छ। निर्मातालाई मुरी-मुरी धन्यवाद।

'आचार्य' सम्मको मेरो यात्रा भने भक्तराज आचार्यको ब्यक्तित्त्वले सम्भव भएको हो। अर्को एउटा सानो कारण राम्रो नेपाली फिल्मलाई सम्मान र प्रोत्साहन गर्नु पनि हो। प्रोत्साहनको यो यात्रा म हाई-वे, मसान, गुडवाइ काठमाडौंसम्म पनि तन्क्याउन चाहान्छु। र, राम्रो फिल्म बन्छ भने यात्रालाई अबिराल नै बनाउन पनि सकिन्छ। नेपाली चलचित्रले दर्शकको मन जीत्न र दर्शकलाई फिल्म हलसम्म ल्याउन आफूलाई राम्रो बनाउन जरुरी छ। यत्ति।

'आचार्य' हेर्दैगर्दा नै मेरो मनमा संवेदनाका अनेकन ज्वारभाटाहरु आए। भक्तराजको जीवनी हेरेपछि मलाई लाग्यो जीवन आशा र निराशाका विच मच्चिने लिङ्गे पिङ्ग हो। जबसम्म पिङ्गमा छौं तब आशा र निराशा आइरहन्छन्-गइरहन्छन्। अनि सायद जीवन भाग्य पनि हो; लेखेको कुरा जसरी पनि पुरा हुन्छ। अनि नलेखेको कुरा? नलेखेको कुरा केहि गरी पनि पाइँदैन। मैले यहाँ भाग्यवादी कुरा गरेजस्तो भयो होला तर किनकिन म जतिजति जीवन भोग्दै छु त्यतित्यति मलाई जीवन भाग्य हो जस्तो लाग्दो छ। हो, यो सहि हो, राम्रो भाग्यलाई असल कर्मले पुरा गर्दछ तर नराम्रो भाग्य चाहिएको छ भने कर्मै नगरे पनि हुन्छ।

"आफ्नो सपना पुरा गर्न" गाडी चढेर काठमाडौं जाँदा भक्तराजलाई आफ्नी दिदीले घरबाट निकालिदिएकि हुन्छिन्। अन्त कतै जाने बाटो नभएपछि भक्तराज दोस्रोपटक काठमाडौं जान्छन् र अन्तत: सफलता प्राप्त हुन्छ उनलाई। यस्तो देख्दा मलाई लाग्यो जीवनलाई कहिलेकाहिँ विकल्प बिहिन हुनु पनि वर्दान साबित हुनसक्छ। संसारभरि छरिने सबै बाटाहरु बन्दभएपछि मात्र एउटा यस्तो बाटो मान्छेको अगाडि खुल्छ जुन बाटो उसको सपनाको आफ्नो बाटो हो। त्यसैले पाइलट बाबाले भनेका होलान- संसारभरि छारिने सबैबाटो बन्द गरेपछि मात्र तिमीले आफूँतिर छिर्ने महाराजमार्ग फेला पार्छौ जुन बाटोमा गरिने अबिरल यात्राले तिमिलाई परमसत्यको साक्षातकार गराउँछ।

क्यान्सर लागेर जीब्रोको सल्यक्रियापछि गीत गाउन नपाउँदा भक्तराजले आत्महत्या प्रयास गरेका रहेछन्। मानिसलाई वाहवाहिको बानी लागेपछि कतिसम्म भोगी बनाउँदो रहेछ भन्ने कुराको पुष्टी भक्तराजको आत्महत्या प्रयासले गर्दछ। तर सायद हुनुको मज्ज र नहुनुको पीडा दुवै भोगेका भक्तराजले जीवनलाई साह्रै नजिकबाट बुझेका हुनुपर्छ भन्ने मलाई लाग्दछ।
अन्त्यमा जीवनबाट निराश भएका जो-कोहिले पनि आफ्नो मनमा आशाको सञ्चार गराउनु छ भने भक्तराजले गरेको संघर्षको कथा 'आचार्य' हेरे हुन्छ। विषेश गरेर नेपाली सङ्गीतलाई कर्मक्षेत्र बनाउने गायक-गायिकाहरुलाई यो चलचित्र निरन्तर बलिरहने उर्जाको दियो हो।

२०६८-०६-११ (पेप्सीकोला)

3 comments:

rajankathet said...

"यो टिपोट चलचित्र 'आचार्य'को समिक्षा हैन" - अमोलले वास्तवमै 'सेफ गेम'बाट लेख सुरु गर्यौ । यो लेख मलाई अत्यन्तै मन पर्यो, चलचित्र भन्दा नि जीवनको पक्षबाट हेर्ने हो भने । यहाँ चलचित्रभन्दा पनि भक्तराजको जीवनमाथि लेखिएको छ । अनि तिमीले २ करोडको लगानी भन्नु चाहिँ अलिक वजनदार कुरो भएन, यहाँ चलचित्र निर्माणको प्रवृत्ति छुट्टै छ । चलचित्रबाट भएको नाफाबाट सरकारलाई ट्याक्स तिरिन्छ, र जसलाई छल्न फिल्मको निर्माण लागतलाई रकमले भन्दापनि मुखले चुल्याइन्छ । यो बाहेक, राम्रो लेख छ । कलम घोट्ते जाओ ।। शुभकामना ।।

Amol Acharya said...

मैले पनि सुनेको हो 'लगानी बढी देखाएर, नाफा बचाउँछन्' भन्ने हल्ला। तर यो फिल्म बन्नु नै महत्त्वपूर्ण हो जस्तो मानेर मैले त्यता पट्टी ध्यान नदिएको हो।

यस्तो फिल्महरु बन्छन् भने त नाफाको के कुरा भयो र! हैन?

Amol Acharya said...
This comment has been removed by the author.