Saturday, September 17, 2011

मेरो कल्पनाको कर्णाली

कर्णाली भन्ने बित्तिकै आजकाल मेरो मनमा बुद्धिसागरले लेखेको उपन्यास 'कर्नाली ब्लुज' याद आउँछ। म पहिलो पटक कर्णाली बुद्धिसागरकै किताबको औंला समातेर घुमेको हुँ। कर्नाली ब्लुजले मलाई कटासे, मटेरा र कालिकोटको सदरमुकाम मानमा बजार घुमायो। बुद्धिसागरकै माध्यमबाट मैले कर्णालीमा हिउँ खेलें। बोतलमा हिउँ भरेर, पग्लिएको पनि खाएँ। कर्णालीको भीर-पाखा, उकालो-ओरालो, चिसो-तातो मलाई बुद्धिसागरले नै चिनाएका हुन्।

कर्नाली ब्लुज प्रकाशित हुनभन्दा अघि कर्णालीलाई म एउटा विकाश नपुगेको वा धेरै अर्थमा नपुर्‍याइएको नेपालको एउटा अञ्चल ठान्थें। नेपाल टेलिभिजनबाट प्रशारण हुने समाचारमा, 'कर्णालीमा वा कर्णालीको कुनै ठाउँमा गाडी पुग्यो' भन्ने आशयका समाचारहरु प्रशारण हुन्थ्यो। समाचारको भिडियोमा त्यहाँका जनताले गाडी आफ्नो गाउँ पुग्दा गरेको हर्षोल्लास देखेर मलाई अचम्म लाग्थ्यो। 'गाडी देख्दा रमाउने कस्ता मान्छे होलान् यि', भन्ने विचार मनमा आउथ्यो। सानै थिएँ नि त। पछि थाहा पाउँदै गएँ - कर्णाली त नेपालको मागीखाने भाँडो पो रहेछ। कर्णालीका गरिब जनता र उनीहरुको गरिबी भजाएर थूप्रै नेताले मन्त्री पद पड्काउँदा रै'छन। थूप्रै गैससले पैसा जम्मा पार्दा रै'छन्। जति पैसा मागिए पनि जतिनै मन्त्री पद थापिए पनि कर्णालीमा झाडापखालाले महामारीको रुप लिएकै थियो। समयमा अस्पताल नपुर्‍याइँदा सुत्केरी आमाले मृत्यु भोगेकै थिइन्। अप्ठ्यारो बाटो हिँड्दा भीरबाट खसेर मान्छे मरेकै थिए। पछि माओवादी अतिप्रभावित ईलाकाका रुपमा पनि चित्रित भयो कर्णाली।

अहिले समय फेरीएको छ। उहिलेका बिद्रोही अहिले संविधानसभामा सत्तापक्षको ठाउँ ओगटेर बसेका छन्। पुराना राजनीतिक दलहरुले पनि कर्णालीलाई विकाशको केन्द्रविन्दु बनाएर अगाडि बढ्नुपर्ने बताउँदै छन्। तर पनि अझै कर्णालीवासीले महसुस हुनेगरी विकाश देख्न पाएजस्तो लाग्दैन। 'कर्णालीमा अझै पनि झाडापखालाले सयौं-हजारौंलाई मार्न सक्छ', भन्ने समाचार बेलाबखत सुनिन्छ नै।

यसैबिच कर्णाली बुद्धिसागरको गाउँ भएको छ। बुद्धिसागर जन्माउने आमा साँच्चै महान होलिन्। समयसँगै कर्णालीको मुहारमा पनि हर्षको मुस्कान छाउला नै। अलि ठिटो प्रवृत्तिकै भएकाले र तामझाम, झिलिमिलि-उज्जयालो, भड्किलो संगित मै बढी रमाउने भएकाले पनि होला म अहिलेसम्म पोखरा काटेर पश्चिम लागेको छैन। तर जीवन बाँच्दै जाँदा, जीवन भोग्दै जाँदा, जीवनहरु हेर्दै जाँदा अब भने मलाई असली नेपाल हेर्न मन छ। 'असली नेपालको गाउँमा बस्छ', भनेर वीपी कोइरालाले भनेकाछन्। मलाई पनि बुद्धिसागरको गाउँ, कर्णाली, हेर्ने मन हुँदैछ।

No comments: