Saturday, March 26, 2011

थेसिस सेवा

'थेसिस सेवा' का विज्ञापन फेरी बजारमा देखिन थालेका छन्। विशेष गरेर नयाँ बानेश्वरमा अहिले बिजुली, टेलिफोन सबैका पोल/खम्बामा रु ७५०० सयमा थेसिस लेखिदिने भनेर विज्ञापन टाँसिएका छन्। स्नातकोत्तर परीक्षा हालसालै सकिएको 'पावन' अवसर पारि सम्पूर्ण विद्यार्थीजनको सुविधाका लागि विज्ञापन गरेको बुझिन्छ। यस 'सत्कर्म'बाट थेसिस लेख्न पनि नभ्याउने गरि व्यस्त विद्यार्थीहरु पक्कै पनि लाभान्वित हुनेनै छन्।

नेपालमा पैसा दिएर थेसिस लेखिदिन्छौं भनेर विज्ञापनै टाँसिन थालेको धेरै भएको छैन। पहिला विज्ञापन नआउँदा सबै विद्यार्थीले आफैं थेसिस लेख्थे भन्न त सकिँदैन तर यसरी विज्ञापनै आइसकेपछि त्यसले विद्यार्थीको मानसिकतामा कस्तो प्रभाव पार्ला? एउटा उदाहरण- मै आफैंले पनि परीक्षामा चिट पाएपछि आफूलाई आउने हिसाब पनि सोच्दै नसोचि सारेको छु। यहाँ चिटलाई बिक्रिको थेसिससँग तुलना गरेर यसले काम गर्ने विद्यार्थीको जाँगरलाई पनि मार्न सक्छ भनेर भन्न सकिन्छ।

थेसिसका विक्रिका सम्बन्धमा दयानन्द बज्राचार्यले नागरिकमै लेख लेखिसकेको र उक्त लेखमा उनले थेसिस लेखनमा देखिएको लापरबाहिमा विद्यार्थी र प्राध्यापक दुवै जिम्मेवार भएको औंल्याएका छन्। बज्राचार्यका अनुसार विक्रिका थेसिसमा पूर्व विद्यार्थीको कार्यमा सामान्य हेरफेर गरिएका हुन्छन् र एकभन्दा बढी विद्यार्थीले एकैपटक पनि बुझाउँछन्। तर हालसम्म यस्तो किसिमको चोरी नपक्डिइनुमा प्राध्यापकहरुको विद्यार्थीले गरेको काम नपढ्ने बानि वा उनीहरुकै मिलोमतो रहेको अड्कल गर्न सकिन्छ। उपत्यका बाहिर पनि थेसिस लेखनको स्थीति उस्तै रहेको छ। विश्वदीप साप्ताहिकका मधेस विट हेर्ने जनकपुरका पत्रकार जिवेश झाले भनेको मान्ने हो भने- जनकपुरमा अवस्थित रामस्वरुप-रामसागर बहुमुखि क्याम्पसमा पैसा दिइएको खण्डमा प्राध्यापकहरुले नै थेसिस लेखिदिन्छन्। उनले ठट्यौली गर्दै भने-" थेसिसमात्र होइन, डिग्री नपाए जनकपुर जानु भन्ने उखानै हामीकहाँ अहिले प्रचलित छ"। रामस्वरुप-रामसागर बहुमुखि क्याम्पसमा अहिले १० हजार बढी विद्यार्थी अध्ययरत छन्।

थेसिस भनेको अनुसन्धानात्मक विधि/पद्धति अपनाएर गरिने विशिष्ट प्राज्ञीक कर्म हो। उच्चशिक्षाको अभिन्न अङ्गका रुपमा रेहेको शोधकार्य/थेसिस लेखनले विद्यार्थीलाई आफ्नो विषयको समस्या पहिचान गरि विश्लेषण गर्न र समाधानका खोज्न मद्दत गर्छ। दयानन्द बज्राचार्यकै शब्दमा भन्ने हो भने- "थेसिस लेखनले विद्यार्थीमा सिर्जनात्मक गुणको विकास गर्न मद्दत पुर्‍याउँछ। त्यतिमात्र होइन, थेसिस गरेका विद्यार्थीले अनुसन्धानको आधारभूत विधि/पद्धति बुझेकाले उनीहरू पछि जुनसुकै प्रकारको पेसामा लागे पनि आफ्नो कामसँग सम्बन्धित विषयवस्तुको गहिरो अध्ययन, सूक्ष्म विश्लेषण र समस्या समाधान गर्न बढी सक्षम र सफल हुन्छन्। थेसिस लेखन विद्यार्थी र प्राध्यापकबीचको घनिष्ठ सहकार्य हो र यसबाट विद्यार्थी र प्राध्यापक दुवै प्राज्ञिकरूपमा लाभान्वित हुन्छन्। त्यसैले थेसिस गरेकाहरू नगरेकाभन्दा यस अर्थमा पनि भिन्न हुन्छन्।"

स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीका लागि थेसिस/सोधकार्य लेखन अत्यन्त आवश्यक कर्म हो भन्ने बुझ्न गाह्रो नभएको पृष्ठभूमीमा नेपालमा अहिले देखिएको सोको किनबेच पक्का पनि न्यायसंगत छैन। यसको रोकथामका र उन्मुलनको लागि विश्वविद्यालयहरु नै सक्रिय हुन आवश्यक छ र विश्वविद्यालयबाट गरिने प्रयासलाई प्राध्यापकहरुले सहयोग गर्नुपर्छ नै। नेपाल बाहिरका विश्वविद्यालयहरुकै उदाहरण लिने हो भने तिनले थेसिस/शोधकार्य कहिँबाट वा कसैबाट चोरीएको पाइएमा विश्वविद्यालयबाटै निष्काशन गर्ने गरेका पाइन्छ। नेपालमा पनि थेसिस किनबेचको मौंलाउँदो परम्परा रोक्ने नै हो भने अब नेपाल बाहिरका विश्वविद्यालयले गरेजस्तै गर्नु अत्यन्त आवश्यक भइसकेको छ। साथै, यस्तो अवस्थामा, नेपाल प्रहरीले पनि सामजिक अनुशासनको आफ्नो जिम्मेवारी पुरा गर्न उजुरीनै पर्खनुपर्दैन। सम्पर्क नंम्बर सहित आएको थेसिस लेखिदिने विज्ञापनदातालाई कारवाही गरे समाजबाट उसले वाहावाही नै पाउने छ। चोरी क्षम्य हुनसक्दैन चाहे त्यो बौधिक होस् वा भौतिक। थेसिसको किनबेच यसरी व्यवसायीक रुपमा नै बढ्नु समग्र नेपालको शिक्षा प्रणालीका लागि वर्तमान र भविष्यमा पनि चुनौतिपूर्न हुनसक्छ।

मलाई त लाग्छ थेसिस लेखनप्रति विद्यार्थीको अरुचीका लागि प्राध्यापकहरु पनि विद्यार्थी जत्तिकै जिम्मेवार छन्। शोधकार्य लेखनप्रतिको रुची विद्यार्थीमा नबढाइदिनु र यसको महत्त्व विद्यार्थीहरुलाई बुझाउन नसक्नु प्राध्यपकहरुको कम्जोरी हैन र? समस्यालाई अर्को कोणबाट हेर्दा शोधकार्यका लागि चाहिने सैद्धान्तिक ज्ञानसमेत स्नातकोत्तरमा मात्र दिइनु पनि अर्को कारण हो जस्तो देखिन्छ। सैद्धान्तिकमात्रै भएपनि अब शोधकार्यलाई चाहिने ज्ञान अब कम्सेकम स्नातकबाटै प्रदान गरिनुपर्छ। पहिलापहिला एसएलसी दिँदा ९ र १० मा मात्र 'भेक्टर'को हिसाब पढेका विद्यार्थी भक्टर भन्ने बिक्तिकै डराउँथे तर अहिले कक्षा ७ वा ८ बाटनै 'भेक्टर'लाई चिनेका विद्यार्थीलाई एसएलसी पुग्दाओर्दा भेक्टर रमाइलो लाग्नु स्वभाविक हो। शोधलाई पनि त्यस्तै किसिमबाट विद्यार्थीहरुमाझ घुलमिल गराउँनुपर्छ।

No comments: