Thursday, December 10, 2009

‘जनताको मुखमा माडको खाँचो छ नागरिक सर्वोच्चताको होइन’

विहानको ७:३० बजे। उपत्यका बाहिर नजिकको शहर बनेपाको चोकमा एउटा खाली गाडी आएर रोकियो। गाडी भन्दा माथि उठाइएको रातो झण्डा (हसिया-हथौडा अङ्कीत) आफ्नै पारामा हल्लीरहेको छ। खाली गाडी एक-दुई-तीन गर्दै मानिसहरुले भरिंदै जान्छ। बसभरी राजनितीक बहसले ठाउँ पाएको आभास बाहिरैबाट कानले पनि गर्न सकिरहेको छ। नागरिक सर्वोच्चता कि सैनिक सर्वोच्चता भन्दै मानिसहरुले गरेका तर्कहरु हावासँग तरङ्गित भइरहेको छ। एकै छिनमा गाडी काठमाडौं तर्फ हुँइकाइन्छ। छतमा रातो झण्डा सहितका युवाहरु नारा लगाइरहेका देखिन्छन्।

एनेकपा माओवादीले नागरिक सर्वोच्चताका लागि दोस्रो चरणको आन्दोलन अन्तर्गत वि.सं २०६६ कार्तिक महिनाको २६ गते बिहीबार शुरु गरेको दुई दिने सिंहदरबार घेराउ कार्यक्रमका लागि समर्थक बटुल्दै गरेको तस्विर हो यो। माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको, प्रधानसेनापति थमौति पुर्जीले द्वैध सत्ता सृजना भई संवैधानिक सरकारको संविधानसम्मत अधिकार कुण्ठीत हने परिस्थिति भएका कारण देखाई बि.सं २०६६ साल बैशाख महिनाको २१ गते सोमबार राजीनामा गरेपछीका दिनमा नागरिक सर्वोच्चता कि सैनिक सर्वोच्चता भनि माओवादिले आन्दोलन गर्दै आएको छ। संविधानसभामा २३० सिट भएको सवैभन्दा ठुलो दल एनेकपा माओवादीले प्रमुख प्रतिपक्ष भएर सडक र सदन दुवैबाट वर्तमान सरकार र सरकार प्रमुखका विरुद्ध आन्दोलन गरिरहेको अवस्था अहिले नेपालको वर्तमान हो। नागरिक सर्वोच्चता स्थापित नभएसम्म आन्दोलन नरोकिने माओवादीले बताएको छ।

कोटेश्वरको सडकबाट अगाडी सिंहदरबार तर्फ गाडीहरु जान दिइएको छैन। ट्राफिक प्रहरीले नै गाडीहरुलाई अगाडी जानबाट रोकिरहेका छन्। सडकभरी मानिसहरु पैदल नै हिडिरहेका छन्। गाडीहरु नचलेकाले वातावरणमा धुँवाको गन्ध छैन। अचानक एउटी वृद्धा सडकमा लाठी टेक्दै हिडेकी देखिन्छिन्। उनी केही फतफताइरहेको आभास हुन्छ। जति बन्द गरे नि आन्दोलन गरेनि, गरिब जनताको लागी केही गर्ने होइनौं भन्दै उनी आन्दोलनको मुख्य स्थल माइतीघर मण्डला तर्फ अघि बढीरहेकी छन्। एक्लै हिड्दै गर्दा, जनताको मुखमा माडको खाँचो छ नागरिक सर्वोच्चताको होइन भन्दै ती वृद्धाले माओवादी कार्यकर्तालाई हात हल्लाइ-हल्लाइ जुन जोगि आएपनि कानै चरिएको भन्दै आफ्नो आक्रोश र ब्यङग्य पोख्दै थिइन। उनको अनुहारमा दलहरुप्रतिको वितृष्णा र मजाक प्रष्ट झल्किएको देखिन्थ्यो।

नेपालमा जति आन्दोलन सायदै अरु कुनै देशमा भएका होलान। जनताको नाम साटेर सत्ताको लागि नेपालमा कयैन आन्दोलनहरु भए। एनेकपा माओवादि, जनताको नाममा सत्ताको लागि आन्दोलन गर्ने एकमात्र दल पक्कै पनि होइन। यसअघिनै नेपालीहरु- नेकपा एमाले, नेपाली काङ्ग्रेस र अन्य थुप्रै दलहरुको आन्दोलनको शिकार भइसकेकाछन्। आन्दोलनको मामिलामा , हाम्रो दश नेपाल प्रथमस्थान ओगट्न सफल भएको छ। राजनितीले देशको आर्थीक, प्रशासनिक, सामाजिक, शैक्षिक जस्ता सबैजसो क्षेत्रलाई डोहोर्याएको हुन्छ। उदाहरणको लागि नेपाललाई हेरे पुग्छ। छिमेका दुइ देश भारत र चीनले विश्वमै उदाहरणीय आर्थीक क्रान्ति गरिरहेको बेला नेपाल आर्थीक संकटबाट गुज्रिरहेको छ। महङ्गीले आकाश छुँदा सर्वसाधारणको बाच्न पाउने अधिकारनै कुण्ठित भएको अवस्था छ। नियमितरुपमा कक्षा संचालन हुन नसक्दा शिक्षाको गुणस्तर खस्कँदो छ। शैक्षिक स्थललाइ राजनिती गर्ने अखडा बानाइँदा पार्टि र सिद्धान्तको नाउँमा युवाहरु विभाजित छन्। दण्डहीनताले देश ग्रस्त हुँदा अन्याय, बोलबाला हुँदै गएको अवस्था छ। नेपालीको जीवन अझ कष्टकर भइरहेको छ। वि.सं २०६७ साल जेष्ट १४ गते शुक्रबार देशमा नयाँ संविधान जारी गर्ने जनादेश पाएका दलहरु सरकार बनाउने र ढाल्ने घ्रीडित खेलमा नै अल्मलिएको अवस्थामा खै कसरी हाम्रो देश नेपालले सङ्क्रमणकालिन बैतर्नी पार गर्ने हो?

घाम डुब्दै जाँदा आन्दोलन पनि सकिँदै जादैछ। साथीहरुसँग बिदाभएर भोलि फेरी यथास्थानमै भेट हुने बाचा गर्दै मानिसहरु आ-आफ्ना घर जान बिहान आएको जस्तैगरि गाडीमा बस्छन।

2 comments:

rajankathet said...

sir.... gr88 hai.... prayaas jaari rahos!!!

Anonymous said...

ti budhile tito satya bekta garichhin..bichari buhdile afno jindagibhari ta dherai andolan dekhin holin jasle anek ashwashan ta pakkai dekhayeko hola...aba afno nati panatiuharule pani afnojasto gati bhogna naparos bhanne sochdai holin..bichariko kura kun partyle sunne.