Friday, October 21, 2011

केसब मनि खनाल

उसको नाम केसब मनि खनाल हो। 'के छ मणि', 'म्यक्सिमम्', 'म्याक्सि', 'ओ दाई कस्तो तितो काँक्रा, अर्को ल्याउनुस्' उसका उपनामहरु हुन्, हामीले राखिदिएका दश जोड दुई पढ्दा, कलेजमा। बिक्रमीय २०६१ सालमा हाम्रो भेट भएको हो पहिलो पटक। समय वा दिन त यकिन थाहा छैन तर कक्षाका 'अनौठा' गतिबिधिले गर्दा मैले उसलाई चिनेको हो। अनौठो, किनकी उ कसैको प्रवाहा नगरी मनलागेको कुरा बोल्थ्यो र गर्थ्यो। उसले कसैको हानी गरेको मलाई याद छैन तथापी साथीहरु सँग भनाभन भने हुन्थ्यो उसको। सायद उमेरको कारण हुनुपर्छ।

माओवादीहरु को खुब उल्लेख गर्थ्यो उ। घर गुल्मी भएकाले पनि होला तर उ त बुटवल बसेर पढेको हो। जे होस, माओवादीको प्रभाव प्रगाढ रुपमा उसमाथि परेको सजिलै थाहा पाउन सकिन्थ्यो। कहिलेकाँहि काठमाडौंका रैथानेहरुले हेप्न खोजे भने माओवादीको हौवा देखाएर डराउँथ्यो उ, तीनिहरुलाई। मलाई पनि डर देखाएको थियो एकएटक, राजनीतिका विषयमा हाम्रो वादविवाद हुँदा। म पनि डराएको थिएँ। के हो के हो नि! पिटीहाले भने त। चोटभन्दा बेइज्जत हुनुको पीडा धेरै लाग्छ मलाई।

सँगै पढ्न थालेको करिब १ वर्षपछि होला उ मेरो मिल्ने साथी भो। खै कुन समयले हामीलाई नजिक ल्यायो? सायद पुरानो वानेश्वरबाट वानेश्वर हाइटसम्म हिड्नुपर्ने एउटै बाटोले हामीलाई नजीक पारेको हुनुपर्छ। म मैतिदेवी पुग्नुपर्थ्यो; ऊ वानेश्वर हाइटतिर कतै जान्थ्यो। हामीलाई नजीक बनाउने अर्को एउटा कारण 'केटीहरुको कुरा' पनि हो। म, "अब केहि समय केटीहरुको चक्करमा नपर्ने" कसममा थिएँ। केसबचाहिँ आफूले विद्यालयदेखि नै मनपराएकी केटीको एकतर्फी प्रेममा हल्लिरहेको थियो। कलेजका अरु केटीहरु सँग पनि उ कुरा गर्थ्यो। रोजी, किर्तिका केहि त्यस्ता उसका केटी साथीहरु हुन्।

प्रेमको सवाल उ सोझो थियो। हरेक कुनै सवालमा उ सोझो थियो भने पनि हुन्छ। कपडा, खाजा र विद्युतीय सामाग्री उसका कम्जोरी थिए। फोटो खिच्न पनि खूब मनपराउँथ्यो उ। यस्तै यस्तै।

मैले मैतिदेवीको होलीजेम्स होष्टलमा बसेर पढेको हुँ। पछि काठमाडौं विश्वविद्यालयमा ब्याचलर इन मिडिया स्टडिज सुरु गरुन्जेल पनि म त्यहि होष्टलमा बसिरहेको थिएँ। अहिले त त्यो होष्टललाई लिङ्ग परिवर्तन गरेर छात्रावास बनाएको छ। भान्जा (टिकाराम खरेल) ले मलाई फोनमा "अब कुक बनेर होलीजेम्साँ छिर्नुपर्छ, अनि त मोज" भन्दै थियो।

केसबको दाई किर्तीपुर सर्ने भएपछि उ पनि मसँगै होष्टलमा बस्ने भो। कोठा एउटै हुनेगरी मिलाएँ। कृष्ण, अमोल र केसब; हामी रुममेट भयौं। केसबको सबैभन्दा ठूलो कम्जोरी के भने- उसलाई आफ्नी स्कूल देखिकी केटीलाई फोन गरिरहनु पर्ने।

"आफ्नो खाजाको पैसा कटाएर फोन गर्छु, छुटै पैसा खर्च गरेको छैन", त्यो केटीलाई त्यति धेरै फोन किन गरेको? भनेर मैले सोध्दा उ जवाफ फर्काउँथ्यो।

"अनि त्यो केटीले पनि त तिमीलाई फोन गरे हुन्छ नि, कहिलेकाहिँ त?"

"खै उसले त गर्दिन। तर म तम्गास जाँदा कहिले-काहिँ भेट हुन्छ। भैहाल्यो नि"

सरल उत्तर हुन्थ्यो उसको।

संसारको सबैभन्दा सानो कुरामा खुसी हुने मान्छे उहि हो जस्तो लाग्थ्यो मलाई। एकपटक क्रिकेट खेल्दा उसले गरेको बलिङ्ग माटोको खाल्टो वा ढिस्कोमा परेर भित्र छिर्‍यो/इनस्विङ्ग भो। त्यो बेला उसको नाक खुसीले रातो भएको थियो। मैले, "यो त बबाल भो त, म्याक्सी" भन्दा उसको हाँसोले मलाई पनि आन्नदित बनाएको म अझै सम्झन्छु। "कस्तो भ'को यार, मैले त केहि गरेजस्तो लाग्दैन" भन्दाखेर उसको अनुहारको कान्ती हेर्न लायक भएको थियो। तर उसले फेरी त्यस्तै बलिङ्ग कहिल्यै गर्न सकेन। आजकाल सँगै भएर त्यो दिनको बारेमा कुरागर्दा उसको अनुहारमा अझै उस्तै उज्जयालो तेज आउँछ।

एक समय हामी (म, केसब र कृष्ण) खूब तास खेल्थ्यौं। कोलबिरे। भोटे बाहेकको कुनै एउटा जातको तास पुरै हटाएर रात-रात भर तास खेलिन्थ्यो। पैसा हुन्थ्यो २-३। अन्तिम हुनेले ३ रुपैयाँ तिर्नुपर्ने, बस। तर हामी पैसाभन्दा पनि प्रतिष्ठाको लागि खेल्थ्यौं। कृष्ण र म बिच त अघोषित युद्धजस्तै थियो, तासको सबालमा। सायद पढाइमा पनि त्यहि अवस्था थियो। तर केसबसँग, न कृष्णको न त मेरो नै कुनै कसिमको ईख थियो। उसलाई राम्रोसँग कोलबिरे खेल्न पनि आउँदैन थियो। उ सबै ईश, ईर्ष्या र घमण्डभन्दा टाढा आफ्नै संसारमा रमाउँथ्यो। फेरी एकचोटी, तिहारमा, साथीको लहैलहैमा लागेर ८-१० हजार हारेको रन्को पनि त थियो नि, दिमागमा।

एकपटकको घटना हो- मैले उसलाई अन्तिम खेलमा ७ हात बोलेर उसले जीतिसकेको खेल हराएँ। मैले त उ रिसाउँछ वा भित्र-भित्रै मुर्मुरिन्छ होला भनेको त, उ अहिलेसम्म पनि त्यहि कुरालाई लिएर, "अमोल तिमी त कोलबिरे बबाल खेल्छौ यार" भन्छ। उसको ठाउँमा म भैदिएको भए? मलाई थाहा छ, मसँग त्यत्रो ठूलो हृदय छैन।

केसबसँग जीवनमा धेरै रमाइला क्षणहरु बिताइयो। केसबको लागि स्वातीलाई कुमार दाईले लेखेको प्रेम-पत्र, सगरमाथा कलेजकी रञ्जुसँग मैले केसबलाई जबरजस्ती बोल्न लगाएको क्षण, राम (टाइफू) लाई भनेर केसबलाई " 'ठमेल' जान्छस्" भन्न लाएर डर देखाउनु, होष्टलको बरण्डाबाट हाम्फाल्दा लडेर हात मर्केको क्षण, "केसब मणिले बिहान पाँचै बजे उठेर यताकी केटी (स्वाती) लाई जिब्रो पडाउँछ यार, मेरो निन्द्रा हराम बनायो यार, मणिले" भनेर रमेशले गरेको दुखेसो। यस्ता कुराले अझै पनि मेरो ओठमा मुस्कान ल्याउन सकेका छन्। कति जिवन्त थियो केसब।

अहिले उ सिभिल ईन्जीनियरिङ्ग पढिरहेको छ। एक वर्षपछि उसको पढाइ सकिन्छ होला। पढाइले हो वा संगतले, पहिलाजस्तो छैन उ अब। तर पनि उसमा अझै ती सबै गुणहरु छन् जसले मलाई उप्रति राम्रो भावना पैदा गराउँछन्। सुनले आफ्नो गुणहरु माटोमा पुरिँदैमा कहाँ गुमाउँछ र? म अझै उसलाई माया र सम्मान गर्छु; जीवनको महत्त्वपूर्ण समय (यूवा अवस्था) मा मेरो साथी भइदिएकोमा निधारमा राखेर गरेको मेरो छड्के सलाम तिमीलाई। तिम्रो भलो होस्।

तिम्रो साथी,

अमोल

पेप्सीकोला, २०६८-०५-०४, बिहान १०:३९ बजे।

1 comment:

Anonymous said...

kesab mani khanal... sachhai nai "mani" jastai oo anmol cha. kesab timra jiwan ka harek paila haru ma safalta ko kamana garchu.
bj