Friday, September 9, 2011

जे ए वाई ए आर ए यम - जयराम

कंकालमाथि छाला टाँसेको जस्तो छ उसको अनहार; साह्रै दुब्लो छ उ । हिँडेको हेर्दा नै थाहा हुन्छ उ सपाङ्गचाहिँ हैन भनेर। टाउको बाङ्गो पारेर हिड्छ। लुला उसको खुट्टाहरु, हिड्दा, खोल्चाएको प्रष्ट देखिन्छ। उचाई- सामान्य नेपालीहरु सरहको छ।

टेष्ट परिक्षामा नेपाली बाहेक सबै विषयमा आलु खाएपछि पढ्न छाडेको उसले। कसैले, "तिम्रो नाम के हो?" भनेर सोधिहाल्यो भने ठूलठूला स्वरमा उ भन्छ, "माई नेम ईज- जे ए वाई ए आर ए यम, जयराम।" परपर पनि कतै केटी आकृति मात्र देख्यो भने उसको स्वर झन ठूलो हुन्थ्यो। जे ए वाई ए आर ए यम, जयराम। होष्टलमा भाँडा माझ्ने काम गर्छ र उसको सबैभन्दा ठूलो सपना बिहे गर्नु हो।

"जयराम तिमी कति वर्षको भयौ हँ?" भनेर सोध्दा उ भन्छ, "पच्चीस वर्षको भएँ।"

"हुन्छ पच्चीस मात्र, हेर्दा पनि थाहा हुन्छ तिमी बुढो हौ" - भनि कड्किए, उ आफ्ना मिलेका दाँत तर नमिलेको ओठले मुस्काउँदै भन्छ, "सत्ताईस पुगेंकि।"

"सत्ताईस मात्र; फेरी ढाट्यौ है। यहि भएर त कोहि केटी तिमीसँग बिहे गर्न मान्दैनन् नि। केटीहरुलाई साँचो बोल्ने केटा मात्र मनपर्छ; तिमी झूठो बोल्छौ अनि कहाँ काम चल्छ त?"

"बत्तीस वर्ष पुगें"- मुस्कानलाई लापरवाहा बनाउँदै आकाशतिर मुन्टो बटार्दै उ हाँस्छ।

******

जयरामको घर दोलाख जिल्लामा छ; गाउँको पुछारमा, जङ्गलको छेउमा, पुरानो पानि चुहिने घर छ उसको । घरमा आमा, बुवा, दुईजना भाइ छन्। दुई बहिनीहरु जयरामभन्दा पहिला काठमाडौं आएका हुन्। "काठमाडौंमै काम गर्छन्" - के काम गर्छन् त्यो त जयरामलाई पनि राम्रोसँग थाहा छैन। बुवालाई लकुवा लागेको छ। माहिलो भाइ "पागल" जस्तो र कान्छो चण्डाल छ।

"के ल्याउनु काठमाडौं, पढ्ने भए पो। घरको सामान त चोरेर बेच्ने ले, काठमाडौंमा झन के-के मात्र गर्ला?", कान्छो भाइलाई चाहिँ काठमाडौं ल्याएर राख्नु नि भन्ने 'उपदेश'को सोझो जवाफ दिन्छ उ।

"एउटी आमा हुनुहुन्छ। सबै काम उहाँले नै गर्नुपर्छ। बुवा त सुकेर थाङग्रो जस्तो हुनुभएको छ। भाइहरु त्यस्ता छन्, बहिनीहरुको बिहे गर्नु छ। तीस हजार, ऋण तिर्न बाँकि छ।"- सानो स्वरमा बोलिरहेको जयराम चढ्नैपर्ने ठूलो पहाडको अगाडि भएजस्तो देखिन्छ।

******

मैतिदेबी प्रहरीबिटबाट पीपलबोट जाने बाटोको करिब-करिब बिच्चमा, देब्रे पट्टी, छ जयरामको काम गर्ने ठाउँ- होलिजेम्स होष्टल। तिमिल्सिना बुक्स स्टेसनरी छेउबाट भित्र छिर्ने गल्ली होलिजेम्समै गएर टुङ्गीन्छ।

बेलुकीको चार बजेपछि जयराम होष्टलको बाहिरी धारामा ब्यस्त देखिन्छ। होष्टलको काम पनि मतलब छैन उसलाई तत् समयमा। बिद्यार्थीहरुको देखासिखी गर्दै दात माँझ्छ, सिमेन्टको भूईँमा रगडेर कुर्कुच्चा सफा गर्छ, दिनको एकपटक नुहाउँछ। आजकाल नयाँ "भाँडामाझ्ने" आएकाले उ सिनियर भा'को छ। भाँडामाझ्ने कामबाट भात बाँढ्ने काममा बढुवा भएपछि, होष्टलमा, उसको रवाफ पनि बढिरहेको छ।

"जयराम के हो, सरसफाईमा निकै मन लगाउँदै छौ नि आजकाल?"

"सप्पै जना राम्री भएर हिड्छन् अनि म पनि यसो ह्यान्डसम हुनुपर्‍यो नि। फेरी बिहे पनि त गर्दैछु छु म यस पाला।"

"हो र ! अनि ३२ वर्षको भएपछि बल्ल तिमीलाई बिहे गर्नुपर्छ भन्ने होस खुल्यो ?"

"हैन। बिहे त गर्न खोजेको हो तर के गर्नु मुजीहरुले हुनैदिँदैनन्।"

"के भनेको नि त्यस्तो?"

"के गर्नु त? केटी खोजेर ठिक्क पार्‍यो, केटीका आफन्त मेरो गाउँमा आएको बेला छिमेकिले भड्काइदिन्छन्।"

"के भनेर भड्काउँदा रै'छन्?"

"खै। केटा लाटोजस्तो छ। पढेको छैन। हलो जोत्न सक्दैन। गरेर खानसक्ने केटा हैन, भन्दा रै'छन्।"

"गर्ने कुरा नै त्यति ठूलो हो भने खाएर गरौंला नि त भनेनौ?"

"त्यहि त नि"- जयराम रिसले रातो हुँदै कराउँछ। "खाएर भए पनि गरिहाल्छु नि"- यो पल्ट जयरामको मुख लाजले रातो हुन्छ।

"बिहे गर्ने कुराको धेरै ठूलो चिन्तानगर जयराम। बिहे गर्नैपर्छ भन्ने पनि त छैन। अनि जुन कुरा बजारमा ३०० दाम हालेर पाइन्छ त्यसका लागि ३० हजार किन खर्च गर्न खोजेको? त्यसमाथी तिम्रो त ऋणैऋण छ। अहिले नगरबधूहरुले काम चलाऊ, चाहियो नै भने अलि पाकिएपछि ब्यक्तिगतबधू ल्याउनुपर्छ !

"कहाँ त्यस्तो हुनु। बिहेमा घाटा छैन। ३० हजार त १ महिनामा सदाइहाल्छु नि।"

"ल ल 'बाहिरको भात' खान जाने हो भने भन्नु, सन्तोषलाई भनिदिन्छु, डिस्काउन्टको पनि ब्यवस्था मिल्छ।"

******

एकदिन जयराम रुँदै आयो। उ कतै जान आँटेकोजस्तो पनि देखिन्थ्यो। कसको हो छालाको जुत्ता लगाएको थियो। उसलाई त्यो जुत्ताले अप्ठ्यारो भएको प्रष्ट थाहा पाउन सकिन्थ्यो।

"के भयो जयराम, किन रोएको?" भनि सोधेको त झन ठूलो स्वरमा रुन थाल्यो।

"के भयो भन त?"

"बुवा खस्नु भएछ, आज बिहान। म घर जान आँटेको।"

"हो र?..... ला….अनि…..भैगो नरोऊ। एउटा तरिकाबाट ठिकै पनि भयो। मान्छे धेरै बिरामी हुँदा बिरामीले त दु:ख पाउँछ-पाउँछ, आफन्तले झन धेरै दु:ख भोग्नुपर्छ। धेरै चिन्ता नगर। सबै ठिक हुन्छ।"

"त्यो त ठिक हो कि तर थाङ्ग्रै भएपनि बुवाहुँदा घरमा मान्छे छ भन्ने हुन्थ्यो। छिमेकिले आमालाई हेप्न सकेका थिएनन्।"…….घर पनि सुन्य हुने भो। आमालाई सबैभन्दा गाह्रो। जीवनभर कहिल्यै सुख पाइनन् मेरी आमाले। सुरुमा माईतीमा जोतिएकी हुँदि हुन् । मेरो बाउको घरमा झन कति हो कति दु:ख भो। जीवन पूरै घाँसपात मै बित्यो। मान्छेको जीवन पनि अच्चमको हुँदोरहेछ। दु:खपछि दु:ख नै आयो मेरो आमोको जीवनमा, जहिल्यै पनि।"

जयराम एउटा दार्शनिकले जस्तै कुरा गरिरहेको थियो। भोगाई अझ त्यसमा पनि दु:खले मानिसलाई दार्शनिक बनाउने रै'छ।

"म जान्छु अहिले। बुवाको तेह्रदिने काम सिध्याएर आउँछु। आमाको पनि बन्दोबस्ती मिलाउनु पर्ने छ" भन्दै उ होष्टलको गेटबाट ओझेल पर्‍यो। गेटबाट बाहिर हेर्दा, जयराम लुरुलुरु अघि बढीरहेको देखिन्थ्यो- जीवनभर हिँडेको ओरालो बाटोले उसलाई सायद जस्तै दु:ख पनि सहनसक्ने बनाइसकेको थियो।

******

"आमाको लागि भए पनि अब त बिहे गर्नु परेको छ" - होष्टलको धारामा बेलुकीको खाना खाएर हात चुठ्तैगर्दा अनायासै बर्बरायो जयराम।

"कतिखेर आएको जयराम?"

"भर्खर आएको।"

"अनि कस्तो छ त घरतिरको हालचाल?"

"ठिकै छ। ऋणमाथि ऋण थपिँदै छ। आमालाई एक्लै छाडेर आएको छु। बिहे गर्ने हो अब त।"

"अनि केटी पाइयो त?"

"पाएको छैन"- जयरामले अप्ठ्यारोसँग भन्यो।

"अनि के बिहे गर्छु भनिरा'को त, गेडा।"

******

समयसँगै जयराम सामान्य हुँदै गयो, बुवाको मृत्युको पीडाबाट। समयरुपी औषधीले उसको मनका घाउ पनि पुरिँदै लग्यो। बिस्तारै, मैतिदेवी अगाडिको बाटोमा केटी जिस्काउन केटाहरुको ताँतीमा जयराम पनि देखिन थाल्यो।

बाटो हिँडिरहेका केटीलाई देखाउँदै केटाहरु, "जयराम उ त्यो आउने केटीलाई बाटो छेकेर, म तिमीलाई प्रेम गर्छु भन त" भनेर उक्स्याउँदा "मार्छन् मलाई" भन्दै लजाउँथ्यो उ।

बिहे गर्ने सुर फेरी देखिन थाल्यो जयराममा। एकसाँझ उत्साहित हुँदै जयरामले केटी भेटीएको र बिहागर्ने कुरा मिल्लाजस्तो भएको कुरा बतायो।

"मैले केटी हेरेर पनि आइसकें"- उ भन्दै थियो।

"हो र? ल बधाई छ।"

"तर के गर्नु, केटी महङ्गी रै'छ।"

"कसरी?"

"एक तोल सुनको सिक्रि चाहिन्छ रे।"

"किनदेऊ न त। बिहेपछि तिम्रै त हो नि।"

******

बिहे गर्ने पक्का-पक्की भयो जयरामको। तर बुवाको बर्खान्तसम्म पर्खनु पर्ने भयो।

यसबिच जयराम पहिलाको भन्दा बढी सरसफाईमा ध्यान पुर्‍याउन थालेको थियो। समय मिल्यो कि लुगा धुने, दाँत माझ्ने, खुट्टा पखाल्ने गर्थ्यो उ। केटीका कुरा मात्र पनि उसमा उत्साहा थपिएको देखिन्थ्यो।

समय बित्दै जाँदा उसको बुवाको बर्खान्त आयो, गयो। ऋण थपियो।

जयरामको बिहेको समय पनि आउन लाग्यो। बिहेभन्दा ५ दिन अघि उ होष्टलबाट विदा भएर हिड्यो, बिहे गरेको ५ दिनेपछि फर्किने भाका लिएर। होष्टल वार्डेनसँग ४० हजार मागेर लगेछ, तलबबाट कटाउने भाकामा।

होष्टलमा जीवन सामान्य रुपमा वितिरह्यो। केटाहरु चिया-खाजा खान जम्मा भएको बेला जयरामको कुरा गरेर मजाक चल्थ्यो।

"कहिले पो रे? जयरामको विहे?"

"आज हो क्यार। खै, के पो गर्ने हो? जयरामले। मर्ने भो दाँती लागेर"

"के भन्छ होला सुहागरातको दिन आफ्नी बुढीलाई?"

"तपाईं आज राम्री देखिनु भएको छ। मसँग बिहे गरिदिनुभएको धन्यवाद।"- भन्छ होला। केटाहरु हाँसे।

"अनि के गर्छ होला त्यसपछि?"

"अनि, के नि? हिम्मत हुनुपर्‍यो नि। थुक निल्यो सुत्यो।"

"हाम्रो हाल पनि त त्यस्तै त होला नि। मागी बिहे भयो भने त के गर्ने होला यार। पहिलो पटक काम नबनुन्जेल त साच्चै गाह्रो हुन्छ यार। त्यसपछि त….भिगे ओठ तेरेप्यासा दिल मेरा।"

******

जयराम होष्टल फर्कियो, बिहे गरेर। अलि अबेरसम्म देखा परेन् उ बाहिर। बेहुलो मान्छे अब किन पो छिल्लिएकाहरुको कुरा सुन्थ्यो र? बेलुकीको खाना खाँदा, भान्सामा, पनि जयराम देखिएन। भोलि पल्ट विहान जयराम धारामा दाँत माझिरहेको अवस्थामा फेलापर्‍यो।

"जयराम के हो? किन लुकेर बसेको?"

"ए अनि बुढीको के छ हालखबर? कस्तो छ नि, भाउजूलाई?"

"अनि सुहागरात कस्तो भयो त? कत्तिको डर लाग्यो त?"

"लागेन डर। किन लाग्नु नि डर?"

"अनि भाउजूलाई लिएर आएनौं?"

"छैन। माइतमा छ उ।"

"ए।"

जयराम होष्टलबाट बिदा मागेर फेरी घर गयो रे। सायद बुढीलाई माईतबाट घर फर्काउन होला। फेरी भर्खर बिहे गरेको मान्छे छात्रबासमा बस्ने के मनलाग्दो हो ! बोकाहरुसँग !

होष्टलको जीवन सामान्य रुपमै चलिरह्यो। विद्यार्थीहरु सबै आ-आफ्नो धाउन्नमा थिए। सबैले सबैलाई बिर्सेजस्तो अवस्था थियो।

******

डिल्लीबजार हुँदै पुतलीसडक जाने बाटोको देब्रेपट्टी, मैतिदेवी तिर फर्केको विजयस्मारक विद्यालयको गेट अगाडि ३ वर्षपछि हिजो जयराम भेट भयो।

"जयराम?"

"ओ हो दाई। के छ?.........तपाईं त मोटाउनु भएछ त?"

"अँ अलिअलि मोटाएँ। अनि तिम्रो के छ? कहाँ बस्छौ? आजकाल के गर्दै छौ त?

"बिहे लगत्तै होलिजेम्स छाडियो। होलिजिम्स छाडेर सिधै घर गएँ म।"

"अनि भाउजूलाई कस्तो छ ?"

"कस्तो हुनु नि? त्यो केटीले त मलाई विहेको भोलीपल्टै छाडेर गएकी हो नि। सुहागरातको भोलिपल्टै। एकबिहानै भागी।"

"ला….हो र? किन नि?"

"खै थाहा भएन। सायद गाउँलेले भनेको करा सहि थियो क्यार।"

"अनि आजकाल"

"नगरबधू।"