Wednesday, August 3, 2011

मेसेजदेखि मेसेजसम्मै

सुदिक्षा मेरि जुनियर हो। हामी विद्यालयमा सँगै पढ्छौं। सुदिक्षा आत्मविश्वासी र ठूलाठूला सपना देख्ने केटी हो। राम्री छ उ। उसको सुन्दरताभन्दा उसमा भएको आत्मविश्वास र 'आउट गोइङ्ग नेचर' ले उसलाई अझ आकर्षक बनाउँछ। अवसर जुर्दा उ साथी बनाइहाल्छे। केटीभन्दा केटा साथी बढी छन् उसका। राम्री भएर हो कि अरु कुनै कारणले?, पढाई उसको औसत मात्र छ। म अलि अन्तरमुखी स्वभावको छु। नजीकका केहि साथीहरुसँग बाहेक अरुसँग खासै घुलमिल हुँदैन मेरो। सपना पनि ठूलो छैन। तर, हेर्दा राम्री देखिने केटीले मलाई पनि आकर्षित गर्छन।

विद्यालयमा सधैंजसो देखादेखको अवसर पाएर पनि हामीबिचको पहिलो बोलचाल धेरैपछि मात्र सुरुभयो। फेसबुकले जुटाइदिएको कुराकानीको सो अवसरलाई त्यसपछि हामिले निरन्तरता दियौं। फरक-फरक बहानामा हामीबिच प्रशस्त कुरा भए।
............

अनायासै जोडिन्छ कि जस्तो भएको समबन्धमा सुरुमा म मात्र सहभागी थिएँ। तर पनि फेसबुकमा पहिलो 'हाई' उसैले पठाएकी थिइ। मोबाइलमा पहिलो 'मेसेज' पनि उसकै थियो। पहिलोको पटक फोन उसैले गरेकि थिइ― ५ मिनेट भन्दा केहि बढि थियो होला, समय। मलाई अझै सम्झना छ सुदिक्षाको पहिलो फोनपछि म कति खुसी भएको थिएँ। अलिअलि त 'म खत्रा गफ हान्छु कि क्या हो?' भनेर आफैंलाई सोधेंको पनि थिएँ।

“कहाँ छौ तिमी?, हरायौ त?”― पहिले नै 'सेभ' गरेको उसको नम्बरबाट 'मेसेज' आयो।

मैले, “म काँहा हराउनु, बरु अबचाहिँ तिमीलाई खोज्दा―खोज्दै हराउँछु की जस्तो लाग्दै छ” भनि उत्तर फर्काएँ।

“काहाँ―काहाँ खोज्यौ त मलाई?” भन्ने प्रश्नको जवाफमा मैले उत्तर पठाएँ, “काहाँचाहिँ खोजिन भनन्― तिमीले हिड्ने बाटाहरु, तिमीले खाना―खाजा खाने होटलहरु, तिमीले चक्लेट किन्न जाने पसल....सबैतिर खोजें। तिमीले फेर्ने सासलाई सोधें, तिमीलाई देखिने सपनालाई सोधें....सबैतिर खोजें....तर तिमी भेटिएनौं।”

लगत्तै, पेन्टको गोजीमा फोन हल्लीयो। फोनको स्क्रिनले 'सुदिक्षा कलिङ्ग' देखायो।

“हलो।”

“ओहो, त्यस्तो खोजिदेको मलाई?”

“हो नि” मैले भने।

“म बस्ने होष्टल आएको भए भैहाल्थ्यो नि” उसले हाँस्दै भनी।

“हामीलाई छिर्न दिन्छन् भने, म ब्वाइज होष्टल छोडेर तिमै होष्टल आउँछु नि त?”

उ हाँसी, ठूलोठूलो आवाजमा।

“अहिले म बसमा छु, तिमीलाई पछि कल गर्छु नी है”― भन्दै मैले फोन राखें।

...............

सुदिक्षाले सरु गरेकी कुराकानीको त्यन्द्रोलाई त्यसपछि मैले तन्क्याउन थालें। विस्तारै मलाई त उसँग कुराकानी गर्नैपर्ने लत पो बस्यो! एनसेल आफ्नै बाउको भएजस्तै गरि फोन गर्थे म उसलाई।

“मैले रातभरि फोन गरेपनि बोल्ने यो केटी कस्ती होली?” भनेर म मख्खिन्थें। तर उसले आफैंले फोन गरेर मेरो बारेमा नसोधेको यथार्थ याद आउँदा....“यो यस्तै केटी हो....कुरा गर्ने बानी परेकी....म मात्रै हैन, उसलाई फोन गर्ने सामान्य परिचय भएको जो―कोहिसँग बोल्दि हो....अबचाहिँ यस्तीलाई फोन गर्दिन” भनेर निन्द्राले राताभएका आँखा ऐनमा साक्षी राख्दै कसम खान्थें।

................

कसमले केहि असर गरेन मेरो फोन गर्ने बानीलाई।

“काहाँ छौ?, हरायौ त?” भनेर उसले पठाएको मेसेजको प्रतिउत्तरमा आफ्नो ठेगाना बताउँदै घण्टौं गफ ठोकिहाल्थें म। मैले घण्टौं लगाएर बनएको मनको बाँधलाई एउटै मेसेजले कोट्याएर उ छियाछिया बनाउन सक्छे। जर्ज माइकलको गीत लास्ट क्रिसमसमा, “बट, इफ यू किस्ड मि नाउ, आइ नो यू उड फुल मि अगेन“ भनेजस्तै हाल थियो मेरो।

सामान्य कुराकानीकै दौरान म र सुदिक्षा एक―दुई ठाउँ घुम्न पनि गयौं। फिल्म पनि हेरियो। खै, कति नै प्रयास गरेपनि म उबाट टाढा हुन सकिन।

...................

रोमेशले एकदिन मलाई, “के तिमी साँच्चै बिहा नगर्ने हो? ” भनेर सोध्यो।

“खै, अरेन्ज म्यारिजसँग डर लाग्छ, लभ पर्दैपर्दैन” भन्दै म हासेँ।

“हो यार, अरेन्ज म्यारिज त डरमर्दो हुन्छ” भन्दै उसले थप्यो, “अहिले आफूले केटीहरु 'घुमाएको' सम्झिँदा त खै अरेन्ज म्यारिज लाभदायक होलाजस्तो लाग्दैन”।

“मोज गर” मैले भनें।

“तर यार हामीले पहिला सोचेजस्तो, केटी पट्याउन गाह्रो नहुने रैछ।”

मैले आँखा ठूलठूला पार्दै 'केहि टिप्स दिन्छ कि?' को नजर उ तिर लगाएँ।

“सबै हामीजस्तै त हुन् नी” भन्दै उसले आफू भरखर एउटी च्वाँकसँग २ पटक डेटिङ्ग गएको बतायो। “पहिलो डेटमा त केहि गरिन, दोस्रोमा चाहिँ हिम्मत गरेर गालामा मोई खाइदिएँ।”

“अनि”

“के हुनु नी केटीले मुख छोपेर लजाएजस्तो गरी, अनि त के चाहियो, जाने बेला च्याप्प पकडेर घाँटीमा पनि मोइ खाइयो नि।”

सफलताको गर्वले रोमेशको छाती फुल्दा, मैले मनमनै सोचें― जो पायो त्यै लिएर हिँडेपछि पाइन्छ नि जे पनि गर्न। अली हामी जस्तो 'डिसेन्ट' केटीलाई घुमाओस न, अनि पो।

“तिमीले पनि त्यसलाई चिन्छौ” भनेर उसले भन्दाचाहिँ को चाहिँ होली त्यस्ती छुपारुस्तम भनेर केटीको नाम जान्न खुब खसखस भयो।

तर उसले मरे बताएन।

.....................

दिन फोन र कुराकानीमा बितिरहेको थियो। भविष्य सूनिश्चितै नभए पनि म― सुदिक्षालाई बिहा गरेर जीवन काट्न सक्छु, भन्ने निष्कर्षमा पुगिसकेको थिएँ। सुदिक्षा आफ्नै संसारमा थिई। मेरो संसारमा उ मात्र थिई तर उसको संसारमा म मात्र 'एउटा' थिएँ।

जे―जस्तो भएपनि सुदिक्षालाई प्रेम प्रस्ताव राख्नुपर्छ भनेर मनले आन्दोलन सुरु गरिसकेको थियो। मनदेखि सुरु भएको पोलाइ भूँडीसम्म पुगिसकेको थियो। आँखा टोलाउन थालेका, कान कम सन्ने भइसकेका थिए। नारायण गोपाललाई किन स्वर सम्राहाट भनेका रहेछन, थाहा पाउँदै थिएँ। उनका 'यति धेरै माया दिई', 'पर्खि बसें', 'म त लाली गुराँस भएछु' खुब मनपर्ने गीत भए।

आ, जे पर्लापर्ला, “भोली सुदिक्षालाई प्रेम प्रस्ताव राख्छु” भनेर मानसिक रुपमा तयारी गरें। राति अबेर “मेसेज―रोमेश” भनेर मोबाइलको स्क्रिनले देखायो।

खोलें। यस्तो थियो मेसेज―

“त्यो अस्ती मसँग डेटिङ्गमा गएकी केटी सुदिक्षा हो।”



5 comments:

Anonymous said...

good piece...

Amol said...
This comment has been removed by the author.
Anonymous said...

haha well i dont think you have made a correct guess unless you have that supernatural power or something like that :) u might want to check ur inbox to get rid of your confusion

Amol said...

i have checked my inbox and got rid of my confusion. anyway thank you for reading the story and making a comment.

I would like to see some more comment from you side in days to come.

Thank You

Anonymous said...

realistic!