Sunday, June 5, 2011

संविधान निर्माणमा ढिलाइ हुनुका फाइदाहरु

संविधान निर्माणका लागि थपिएको १ वर्ष समेत गरेर ३ वर्ष बितिसक्दा पनि संविधानसभाले संविधान बनाउन सकेन। यसबिच संविधानसभाका लागि देशले थुप्रै धनराशि खर्च गरिसकेको छ- संविधानसभा निर्वाचनको नाउँमा, सभासदलाई तलब-सुबिधाको नाउँमा, विदेश भ्रमणको नाउँमा; खर्चको यो सूचि निकै लामो जानसक्छ। संविधान निर्माणमा भएको ढिलाइले देशलाई केहि वर्ष पछी पनि ढकेल्यो होला। अझ, चीन र भारतजस्ता देशहरु छिमेकी भएकैले पनि उनीहरुले गरेको प्रगतिको दाँजोमा नेपालमा केहि नभएको देख्दा नेपालीको मन कुढिनु स्वाभाविक पनि त हो।

तर, संविधान निर्माणमा जानी-नजानी भएको ढिलाइले समग्रमा देशलाई केहि फाइदा भने पक्कै भएको छ। हो, फाइदाभन्दा बेफाइदा बढी भए होलान् तर यो अवधिमा नेपालीले केहि महत्त्वपूर्ण पाठ भने सिक्न पाए ।

०६२/०६३ को जनआन्दोलन- २ र मधेश आन्दोलनले नेपालमा निरङ्कुश्तालाई भित्तैमा पुर्‍याएको साँचो हो। तर, जनआन्दोलन- २ र मधेश आन्दोलनलाई नियालेर जाँच्ने हो भने, यसबिच नेपाली जनता कर्तब्य भूलेर अधिकार मात्रै खोज्ने खालका भएको थाहा पाउन सकिन्छ- नारायणहिटी छाड्ने बेला ज्ञानेन्द्र शाहलाई पत्रकार सम्मेलनमा गरिएको अपमान, एक मधेश एक प्रदेशको नाराभित्र 'पहाडिया' लाई गरिएको निषेध, जातीय राज्यको भड्किलो र निषेधकारी नारा र आफ्नो अधिकारका लागि जथाभावि 'बन्द' गर्ने प्रवृतिलाई कर्तब्य बिर्सिएर अधिकारका पछि मात्र दगुरेको मान्ने कि नमान्ने?

सबै राज्यको आफ्नो क्षमता हुन्छ। कुनै पनि राज्यले आफ्नो क्षमताभन्दा बढी आफ्ना जनतालाई केहि दिन सक्दैन। अझ आदर्शकै कुरा गर्ने हो भने देशले जनता हैन जनताले देश बनाउनु पर्ने हो।

नेपाल त्यसैमा पनि गरिब देश। यसका पनि आफ्ना सिमितताहरु छन् भन्ने थाहा हुँदाहुँदै पनि नेपालीहरु भारततिर फर्किएर- हेर! भारतले कति धेरै प्रगति गर्‍यो, खै नेपालले गरेको? भनेर प्रश्न मात्र गर्छन। अनि बिर्सिन्छन् भारतमा ६० वर्ष लगाएर त्यत्रो सफलता प्राप्त गरिएको हो। नेपालमा १०-१५ वर्षकै प्रजातन्त्रमा भारत जत्तिकै प्रगति खोज्नुलाई के भन्ने? रोजगारीको अवसर आफैं सिर्जना गर्नुपर्ने यूवाले वेरोजगारी भत्ताको माग गर्नु निरही हुनु हो कि होइन? आफ्नो अधिकार संविधानमै लेख्नका लागि नेपालीहरुले यति धेरै 'जागरुक' भएकी ऐन र नियमावलीको खाँचो नै नपर्नेजस्तो भयो।

ठिकै भयो समयमा संविधान बनेन्। समयमै संविधान बनेको भए अधिकार मात्र लिन तम्सिएका नेपालीले संविधानमा जे लेखेको भए पनि मान्दैन थिए होला। समयमै संविधान बनेको भएपनि संविधान च्यात्ने त पक्कै निक्लन्थे! अहिले हण्डर खाएपछि कम्सेकम सबै नेपालीले आफ्नो देश, आफू र आफ्ना नेता कति पानिमा रहेछन् भन्ने त थाहा पाए; देशका ठूला भनौदा तीन दल (एमाओवादी, एमाले र काङ्ग्रस) को सत्तालिप्साको पराकाष्टा पनि त देख्न पाए; जातीयताको खोल ओडेर सत्ताको राजनीति हाक्न खोज्ने प्रवृत्तिको पनि पर्दाफास भएको छ यसै समयमा; अनि जातीयता, संघीयता भनेको विकास र समृद्धिका लागि जादुको छडी होइन रहेछ भन्ने कुरा पनि नेपाली जनतालाई थाहा भएको छ, अहिले। अब कमसेकम नेताहरुले जनतालाई आकाशको फल देखाएर ढाट्न त सक्ने छैनन्। त्यसैले अन्ध्यारो हुँदाहुँदै पनि यी तीनवर्ष नेपाली जनताका लागि शिक्षाप्रद रहे। त्यसैले केहि नभए पनि बितेका तीन वर्षले दिएको शिक्षालाई सलाम।

2 comments:

rajankathet said...
This comment has been removed by the author.
rajankathet said...

अमोल यो तिम्रो लेखको आशय मन पर्यो । मैले यो पक्षबाट सोच्ने जमर्को गरेको थिइनँ । हतारमा बनेको संविधान 'अमेरिका हिँडेको मानिस कतार पुग्यो' भनेसरी नहोस् संविधानको भविष्य मैले धमिलै देखेपनि.....

अनि नेपालीहरू देशले फाल्ने रोटीको लागि ढुकिरहेका छन् जुन रोटीका लागि पहिला बारी आफैँ जोत्नुपर्छ भन्ने कुरो बिर्सेर..... युवाहरू विदेशिनु - पलायन हुने मनसायले, यो उनीहरूको उत्कृष्ट निर्णयभन्दा पनि निर्बलता हो ।। देशलाई केही दिनुपर्दैन, मनमा अलिकति इमान्दारिता जिम्दो राखेर मिहिनेत गरे नै धेरै होला हैन त ?

यस्ता लेखहरू पोखिइरहुन तिम्रा डटपेनका निबबाट ..............