Monday, March 1, 2010

मेरो बुझाइको- अन्तरमनको यात्रा (Aantarmaanko Yatra):

अनुप आचार्य

जग्दिश घिमिरेको ‘अन्तरमनको यात्रा’ पढेँपछि मलाई जीवनमा महत्त्व राख्ने केहि शब्दहरु केलाउन मन लाग्यो। जीवनभर किताब ज्ञानको खुला समुन्द्र हो भनेर सुन्दै आएको म, जग्दिश घिमिरेको जीवन चित्रण गरिएको आत्मलाप पढेपछि मलाई किताबले मानिषलाई जीवन जिउने बाटो मात्र देखाउछ; जीवनमा रस भर्ने काम त जीवनमा आईपर्ने दु:ख र सुखका झोकाहरुले गर्छन जस्तो लाग्यो; त्यसैले मानिषहरुले भनेको होलान शिक्षा आर्जन गर्नु नै सबै कुरा होइन, जीवन यापन गर्न, आर्जित शिक्षाको प्रयोग हामीले कसरि गर्छौँ भन्ने कुरा सबैथोक हो; मन हो, शान हो, ज्ञान हो र विज्ञान पनि। यस कितावमा अन्तरनिहित भएर रहेको ज्ञानको ज्योति मेरो क्षमताले भ्याउने गरि बुझ्दा मलाई जीवन ज्ञानको भण्डार रहेछ जस्तो महसुस भयो। फेरि जीवनले नै मानिषलाई सबै कुरा सिकाउँछ भन्दैमा मैले औपचारिक रुपमा शिक्षा आर्जन गर्नु हुन्न चाहिँ भन्न खोजेको होइन किनभने पहिले नै देखिसकेको बाटो नै हिड्न सजिलो हुन्छ, जति सजिलो नयाँ बाटो भएता पनि। शिक्षाले जीवनमा आईपर्ने सुख र दु:खको ज्ञात गराउन नसकेता पनि जीवनलाई कुन गोरेटोमा डोराउँदा सजिलो र फलदाई हुन्छ भन्ने कुरा चाहिँ सिकाउँछ। जीवनका फराकिला मोडहरु र साघुरो, अध्यारो गल्लीहरुले नै मानिषलाई सुख र दु:खको खास अर्थ सिकाएको हुन्छ। घामको प्रकाशमा जीवन टल्किएको बेला र औंसीको रातको छायाँमा जीवन हराएको बेला जीवन कसरी जिउनु पर्छ भन्ने कुरा जीवनचक्रले नै मानिषलाई सिकाएको हुन्छ।

जीवनको युवा अवस्था सबैभन्दा राम्रो हुन्छ भन्ने म, यो किताब पढेपछि यो मेरो भ्रम रहेछ जस्तो लाग्यो। जीवनको भुमरिमा युवा अवस्थाको ज्योतिमुनि उभिएको मलाई यो आत्मलापले जीवन समयले जनाउँदैन बरु जीउने तरिकाले जनाउँछ भन्ने सिकाएको छ। जीवन परिवर्तनशील छ। परिवर्तनशील जीवनसँग घुम्ने क्रममा मानिषको जीवनमा कतिखेर के हुन्छ भन्ने कुरा भावीले छैटौं दिनमानै तय गरेकोले मानिषले विज्ञानका साहायताले अरु कुरा जान्न सकेतापनि समयको तीर आफूलाई कतिखेर लाग्छ भन्ने कुरा भने जान्न सकेको छैन र जान्न सक्दैन पनि।

लेखकले आफ्नो जीवनको क्रममा पार गरेका खुड्किला आफ्नै शैलीमा सरल भाषामा लेखेका कारण यो किताब मलाई राम्रो लागेको हो र अरुलाई पनि लाग्छ भन्ने ठानेको छु। ‘मोनोलग’ विधामा लेखिएको यो आत्मलापले जीवन कसरी जिउने भन्ने कुरामा प्रकाश पारेको छ। दु:ख र सुख बिचको भुमरीमा हराएर जीवन बाच्ने हैन कि सुख र दु:ख जीवनका क्षण मात्र हुन भनेर जीवनलाई बाच्न नभएर जीउन सिक्नु पर्छ। मानिषले जीवन जिउन कुनै कसरत गर्नु पर्दैन केवल गर्नु पर्छ मेहेनत, परोपकार, इच्छापुर्ति र आफू प्रेम। जीवन जिउने मान्छेले मात्र जीवन सार्थक बनाउन सक्छ। जीवन बाच्नु पर्छ भन ठान्नेले जीवन कटाउँछ मात्र उपयोग भने गर्दैन।

यो आत्मलापले मलाई सपना देख्न र त्यसका साथ-साथै त्यसलाई प्राण प्रदान गर्नपनि सिकाएको छ। जीवन त्यसले जिउन सक्छ जो सपना देख्छ। सपना जीवनको एक आधार हुनसक्छ जब त्यसको पुर्ति हुन्छ। यस आत्मलाप पढ्नु अघि मलाई लाग्द थियो सपना खालि डरलाग्दो र क्षणिक हुन्छ तर म अब ठान्छु मेरो बिचार गलत रहेछ। सपना त्यतिखेर सपना हुन्छ जतिखेर हामी त्यसलाई सपना भनेर लिन्छौं। सपना बाच्न खोज्ने हो भने हाम्रो जीवनको उत्तरार्धमा हामीलाई लेखकलाई भएको आत्मग्लानि हुने छैन। सपनालाई जीवनको मुल आधार र ईच्छा बनाउने हो भने हाम्रो जीवन अवश्य सार्थक हुने छ किनकि सपना चाहेर वा सोचेर देखिन्न यो त अन्तरमनबाट निस्किएको छाँया हो, प्रतिमुर्ति हो र एक आवाज पनि। हामिलाई थाहा नै छ ‘दुईवटा नाउमा उभिन खोज्दा हामि लड्छौं’ त्यसरी नै दुईवटा लक्ष्य, एउटा मासुको पुञ्जको र अर्को अन्तरमनको, लियौं भने हामी जीवनको भुमरीमा बिलाउन पुग्छौँ, न बाहिर निस्कननै सक्छौं न भित्र छिर्न नै।

यो आत्मलाप कर्तब्य बोधको वृत्तमा घुमेको छ। मानिषको कर्तब्य आफू जिउनु र आफन्तलाई जिउन सिकाउनु मात्र होइन। उसको जीवन त मानव जातिलाई कसरि अन्तरमनको सुखको अनुभव गराउन सकिन्छ त्यस बाटोको खुदाई गर्नु हो। फेरि कर्तब्य छ र पुरा गर्नु छ भन्दैमा आफ्नो जीवनलाई अंगारमा होम्नु चाहिँ हुँदैन। हामीले आफ्नो मनलाई म बाँचुन्जेल अरुलाई बचाउँछु भन्ने कुरामा निहित गर्न सक्नु पर्छ।

यो आत्मलापको प्राय कुरा मन परेतापनि मलाई केही-केहि ठाउँमा लेखक मृत्युसँग डाराएको जस्तो लाग्यो। आफ्नो जीवनरुपी बाटोमा पुर्णविराम लाग्ने बेलामा लेखिएको हुनाले लेखकमा यस्तो विचारको आँधी उठेको हुनसक्छ। काम थातेर राख्ने प्रवृति लेखकमा पनि रहेकाले उनमा यस्तो भावको ज्वारभाटा उठेको हो जस्तो मलाई लाग्यो। मानिषको जीवन परोपकारका निमित्त भएतापनि आँफू प्रेम भन्ने कुरा मानिषले छाड्नु हुँदैन भन्ने मेरो धारणा छ। आफ्नो मनले चाहेको कुरा समाज र देशलाई हानि नहुने गरि गर्दै जाने हो भने कसैले नि आत्माले शरिर छाड्ने बेला मन दु:खि पार्नु पर्ने छैन जस्तो लाग्यो मेरो मन र मष्तिस्कलाई यो किताब पढेपछि। मानिषले जीवन पाएको मानव समाजको निमित्त जिउन हो र मलाई के लाग्दछ भने जीवन मृत्युको चक्र एउटा मानिषमा भएको कमि-कम्जोरि अर्को मानिषले पुर्ति गर्ने क्रम हो।

अस्तु!

1 comment:

Rajan Kathet said...

purai professional writing .... lastai man paryo.....