Tuesday, December 29, 2009

जीवन

पूर्वी नेपालमा तराईको एउटा गाउँ। समथर भू-भाग, खेती योग्य जमिन जहिँ तहिँ छ। नहुनेको केहि नभएको अवस्था पनि छ। अमृत नहुने आमाको छोरा हो। उसको बाबु उ सानै हुँदा मरे। बाकसमा थापेको पसल र माईतीले दिएको अलिकति जमिनलाई उपयोग गरेर आमाले अमृतलाई, आफ्नो सपनालाई हुर्काउँदै छिन्। बस्ने घर पनि माईतीले नै दिएको हो अमृतकी आमालाई। एउटा बाँस झ्याङ्ग पनि छ अमृतकी आमाको।


अमृत कक्षा १० मा पढ्छ नजिकैको सरकारी स्कुलमा। स्कुलभन्दा बढी ऊ बजारको सिनेमागृहमा नियमित छ। आमाले बाँस बेचेको पैसाले किताब किन्छु भनेर उसले कति हो कति पटक हलमा फिल्म हेरिसक्यो। आमालाई पैसाको लागि ठग्नु उसको लागि सामान्य दिनचर्या हो। विदाका दिनहरुमा अमृत घर नजिकैको साथी राजेशसँग फिल्ममा भएका घटनाहरुका बारेमा कुरा गर्छ।


फिल्मको ‘हिरो’ जस्तै अमृतलाई पनि ठूलो मान्छे हुने इच्छा छ। उ पनि आफ्नो एउटा राम्री हिरोइन होस भन्ने चाहान्छ। गाडीमा चढ्ने सपना र गीत गाउने रहर उसमा पनि छ। फिल्मको हिरोझैं कहिले काहिं तनाब भयो भनेर रक्सी खान पनि सिकिसकेको छ अमृतले। भरखर-भरखर रक्सी खान थालेकोले उसलाई रक्सी खुवाउने साथीहरुको कमी छैन। कहिलेकाहिँ पढाइको बहानामा आमासँग पैसा ठगेर ऊपनि साथीहरुलाई रक्सी पिलाउँछ। मातको सुरमा साथीहरुसँग ‘ये दोस्ती हमनही छोडेङ्गे’ गीत गाउँदा उसलाई आदर्श दोस्ती गरेको भान हुन्छ। एवंप्रकारले दोस्तीको नाँउमा उसले चुरोट, गाँजा, भाङ्ग, धतुरो सबै सेवन गर्न थाल्छ। यसरी फिल्म, जाँड, साथीहरु, कुलत र असंख्य सपना बोकेर अमृत आफ्नो जीवन गोरेटो हिडिरहेको छ।


कक्षा- १०। सरकारी स्कुल। एसएलसी परिक्षा। फलामको ढोका। टेस्ट जसोतसो पास गर्यो अमृतले। लगेका चिटहरुले राम्रै साथ दिएकाले। एसएलसी पनि चोरिबाट पास हुनसक्ने आत्मविश्वास पुरा हुन पाएन अमृतको। आमृत एसएलसी परिक्षमा फेल भयो। फलामे ढोकाको भोटे ताल्चाको चाबी भेट्टाउन सकेन अमृतले। फेरी चाबी खोज्ने दु:ख पनि गरेन। यसरी अमृतको किताबी पढाई सिध्धियो। कमसेकम एक जुनिको लागि।


अमृतको आमालाई दिन दिन घर चलाउन ग्राहो हुँदै गयो। गाउँमा किराना पसलहरु खुलेकाले अमृतको आमाको बाकसे पसल बन्दै भएको थियो। सुरु सुरुमा त अमृतले केही चासो देखाएको थिएन आमाको बाकसे पसल बन्द भएको प्रति तर खानै नपाउने अवस्था भएपछि भने अमृतलाई त्यो सानो बाकसे पसलको एकमुस्ठ महत्त्व थाहा भयो।


अमृत खानाको जोहो गर्नका लागि काम खोज्न थाल्यो। कसै गरेपनि अमृतले काम पाएन। एक-दुई पटक फेरी भोक्कै बस्नु परेपछि भने जस्तो काम पाए पनि गर्छु भनेर काम खोज्यो र अन्त्यमा एउटा अदालतको फर्म (लेखापढी सेन्टर)मा लेखपढको काम पायो। कामबाट धेरै पैसा नकमाएपनि दुई छाक खान र न्यानो कपडा लाउन सजिलै पुग्ने थियो अमृत र उसको आमालाई। तर अमृतले खान, लाउन बाहेक पिउन पनि कमाएको पैसा खर्च गर्नु परकाले खान र लगाउन पनि पैसा अपुग भयो। आमाले ब्यवहार धानेको बेला खान बानी लागेको रक्सीले आफैंले कमाउँदा खेर झन पिरोल्न थाल्यो अमृतलाई।


एक-दुई-तीन गर्दै दिनहरु महिनामा र महिनाहरु वर्षमा परिणत हुन थाले। वर्षपनि एकपछि अर्को गर्दै बित्दै गयो। समयसँगै अमृत रक्सी बिना बाच्न नसक्ने भयो। अमृतले रक्सी छोड्न खोजेपनि रक्सीले अमृतलाई छोडेन। अमृतको स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गइरह्यो। अमृत झनझन कम्जोर भयो र उसलाई अस्पताल भर्ना गरियो। डाक्टरले विभिन्न रोगको नाम लिँदै भगवानमा आश गर्न भने।


जीवनको अन्तिम अवस्थामा, अस्पतालको शैयामा लम्पसार परेर वेवारिसे भएर लडेको बेला अमृतलाई ज्ञानोदय भयो। उसले थाहापायो आमालाई ढाट्न सिकेकै दिन उ गलतबाटोमा लागेको रहेछ। ढाट्नु कति गलत थियो त्यो त अमृतले नाप्न सकेन तर ठगीको बाटोमा चालेको पहिले पाइलानै उसको जीवन बदल्ने पल थियो भन्ने कुरा अमृतले थाहा पायो। तुहिएका सपनाहरु सम्झदै रुनु बाहेक के पो गर्न सक्थ्योर अमृत। यत्तिकैमा अमृतले आफ्नो अन्तिम सास फेर्यो र एउटा अर्को निरर्थक जीवन छाडेर सार्थकता खोज्न आर्को मानव चोला पर्खन थाल्यो।

1 comment:

gambhir said...

katha eutai pati matrai bagirahecha...arko pati aamako halaat k bhairahecha khai lekhnai bhulechau...
anyway arkopatak ajha majbut katha lekhchau bhanne aasha cha.